अति समस्यामा परेका ग्राहकले ‘नेपाल’ ग्याँस पाउने

व्यापारीले पूरा तौलको ग्याँस लुकाएको आशंका


१६ चैत्र २०७६, आईतवार
gass

काठमाडौं, १६ चैत । कोभिड–१९ का कारण खाना पकाउने ग्याँस अभाव हुने आशङ्कामा उपभोक्ताले ग्याँसको अनावश्यक सञ्चिती गरिरहेको अवस्थामा ग्याँसको सहज उपलब्धतामा समस्या देखिएको छ । अन्य समयको तुलनामा ग्यासको आयात उल्लेख्य बढाइए पनि बजारमा अझै ग्याँसको अभाव सल्टिन सकेको छैन ।

नेपाल आयल निगमले पछिल्लो महिनामा झण्डै ४५ हजार मेट्रिक टन ग्याँस आयात गरिएको जनाएको छ । त्यसअघि उच्च माग भएको अवस्थामा पनि नेपाली बजारमा मासिक ३८ हजार मेट्रिक ग्याँसको खपत हुँदै आएको थियो ।

ग्याँसको बढ्दो अभावसँगै सरकारको निर्देशनमा ग्याँस उद्योगीले ७.१ किलोग्राम ग्याँस तौल भएको सिलिण्डर आजदेखि बजारमा ल्याइसकेका छन् । तर पनि ग्याँसको अभाव हट्न सकेको छैन ।

यसैबीच उपत्यकामा धेरै उपभोक्ता रहेको नेपाल ग्याँस कम्पनीले अत्यावश्यक अवस्थाका उपभोक्तालाई सोमबारदेखि बालाजुस्थित औद्योगिक क्षेत्रबाट ग्याँस वितरण गरिने जनाएको छ । बिहान ९ः३० देखि अपराह्न १ः३० बजेसम्म उद्योग बाहिर औद्योगिक क्षेत्रको गेटबाट ग्याँसको बिक्री वितरण गरिने कम्पनीले जनाएको छ ।

ग्याँसको माग पूरा गर्न क्षेत्रगत हिसाबमा दैनिकरुपमा ग्याँस पठाउने काम गरिरहेको जनाउँदै कम्पनीले अति समस्या भएका ग्राहकको समस्या सम्बोधन गर्न उद्योग बाहिरबाट ग्याँस दिन लागिएको प्रष्ट छ । सङ्क्रमणकालीन अवस्थामा ग्यासको माग अधिक भएकाले पूरा गर्न समस्या देखिएको उद्योगले जनाएको छ ।

यसैबीच नेपाल आयल निगमले आजदेखि ७.१ किलोग्राम ग्याँस भरिएको सिलिण्डर मात्र बिक्री वितरण गर्न सम्पूर्ण ग्याँस बिक्रेतालाई निर्देशन दिएको छ । निगमले उद्योगीसँगको छलफलपछि आधा ग्यास (७.१ किलो) भरिएको सिलिण्डर बजारमा पठाउन निर्देशन दिएको थियो ।

अब उप्रान्त १४.२ किलो ग्याँस भएको सिलिण्डर बिक्री वितरण गरेको पाइएमा सिलिण्डर बिक्रेता तथा डिस्टिब्युटरमाथि कारवाही हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । पूरा तौल भएको केही सिलिण्डर बिक्रेताले लुकाएको आशङ्का गरिएको छ ।

निगमले पूरा तौल भएको सिलिण्डरको मौज्दात रहेमा सम्बन्धित उद्योगमा फिर्ता गर्न पनि निर्देशन दिएको छ । त्यसैगरी सम्पूर्ण ग्याँस बिक्रेता, डिस्टिब्युटरले दैनिक शुरुवाती मौज्दात र निजको प्राप्त भएको ग्याँसको विवरण सर्वसाधारणले देख्ने गरी बिक्री स्थलमा टाँस्न पनि निगमले निर्देशन दिएको छ । ग्याँस वितरणलाई पारदर्शी बनाउन सम्पूर्ण उद्योगीलाई दैनिक ग्याँस बिक्री वितरणको योजना निगममा पेश गर्न पनि यसअघि नै निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७