चैत २५ गते सम्म ‘लकडाउन’ लम्ब्याउने सरकारको निर्णय


१६ चैत्र २०७६, आईतवार
Cabinet Meeting Corona Time

काठमाडौं, १६ चैत :  सरकारले मुलुकभर कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै सङ्क्रामक रोग ऐन २०२० अनुसार अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन जारी गरेको आदेश (लकडाउन) लाई आठ दिनका लागि थप गरेको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यही चैत ११ गतेदेखि १८ गते बिहान ६ः०० बजेसम्मका लागि जारी गरेको उक्त आदेशलाई यही चैत २५ गते राती १२ः०० बजेसम्मका लागि निरन्तरता दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्को आजको बैठकले सङ्क्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सोको रोकथाम र निर्मूूल गर्न उक्त आदेश जारी गरेको थियो ।

बैठकले यही चैत १० लागू हुने गरी गरेको अन्तरराष्ट्रिय सीमानाका सबै प्रवेश नाकाबाट यात्रु आवागमन स्थगन गर्ने निर्णयलाई चैत २५ गते राती १२ः०० बजेसम्मका लागि निरन्तरता दिने निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए । व्यक्तिको आवागमन रोकिए पनि ढुवानीका गाडी भने सञ्चालनमा रहने छन् ।

कोरोना भाइरसको सङ्क्रमण, रोकथाम र नियन्त्रणको कामलाई प्रभावकारी बनाउन सरकारले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय ‘एक्सन टीम’ पनि गठन गरेको छ । सोको नाम ‘कोरोना–१९ क्राइसिस म्यानेजमेन्ट टीम’ भनिएको छ ।

सरकारले चाल्नुपर्ने कदम, कार्यान्वयनको स्थिति र अहिले बनेका सरकारी संयन्त्रको निर्णय कार्यान्वयनका लागि कोरोना–१९ क्राईसिस म्यानेजमेन्ट सेन्टर (सिसीएमसी) गठन गर्ने निर्णयसमेत सरकारले गरेको अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेक प्रवक्ता डा खतिवडाले जानकारी दिए ।

सेन्टरको संयोजकमा पनि उपप्रधानमन्त्री पोखरेललाई नै तोकिएको छ । उक्त सेन्टरमा गृहमन्त्री, स्वास्थ्यमन्त्री, अर्थमन्त्री, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री र सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीसहित सुरक्षा निकायका प्रमुखसमेत रहनेछन् ।

उक्त समूह सरकारले जारी गरेका आदेश, सरकारले बनाएका क्वारेन्टाइन र आईसोलेसन अस्पतालको व्यवस्थापन र सरकारले आदेश जारी गरेपछि पालना गराउन चालिएका निर्णय कार्यान्वयन गराउन क्रियाशिल हुनेछ । यस्तै शान्ति सुरक्षा कायम गराउने र सङ्क्रमणलाई नियन्त्रणमा लगेर अनुशासनमा बस्नुपर्ने विषयमा उक्त समितले काम गर्नेछ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकमा दूरी कायम गरिएको छ । बैठकमा सहभागी प्रधानमन्त्री केपी शर्मा ओली सहित मन्त्रीहरुले मास्क लगाएका छन् ।

PM KP Sharma oli with Mask
मन्त्रिपरिषद बैठकमा प्रधामन्त्री केपी शर्मा ओली । तस्बिर ः प्रधानमन्त्रीको सचिवालय

नेपालमा आइतबारसम्म ५ जनालाई कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण भएको छ भने एकजना उपचारपछि घर फर्किएका छन् ।

विश्वमा संक्रमितको संख्या ६ लाख ८३ हजार ६ सय ९४ पुगेको छ भने ३२ हजार १ सय ५५ ले ज्यान गुमाएको छ । धेरै मानिस मृत्यु भएका देशमा इटली, स्पेन, चीन, इरान, फ्रान्स र अमेरिका छन्। दक्षिण एशियामा पाकिस्तान र भारत धेरै प्रभावित भएका छन्।

पाकिस्तानमा १,४०० जनाभन्दा बढीमा सङ्क्रमण देखिएको छ भने ११ जनाको मृत्यु भइसकेको छ। भारतमा ७०० जनाभन्दा बढीमा सङ्क्रमण देखिएको छ र २५ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७