सिङ्गो युरोप कोरोनाले आक्रान्त रहेका बेला बेलारुसलाई छैन कोरोनाको मतलब

राष्ट्रपति भन्छन्, ‘भोड्का खानुन्, कोरोना भगाउनुस्’


१८ चैत्र २०७६, मंगलवार
belarus2020 03 31 06 35 39 1

काठमाडौं, १८ चैत । अहिले विश्वका प्रायः सबै देश कोरोनाबाट संक्रमित छन् । गत डिसेम्बरको अन्त्यमा चीनको वुहानबाट सुरु भएको कोरोना दुई सयभन्दा बढी देशमा फैलिइसकेको छ ।

संक्रमित तथा मृतकको संख्या दिनहुँ बढिरहेका वेला विभिन्न देशले नयाँ–नयाँ कदम चालेका छन् । कोरोनाको इपिसेन्टर बनेको युरोपमा दैनिक सयौँको ज्यान जाने गरेको छ ।

युरोपमा इटालीबाट प्रवेश गरेको कोरोना अहिले सम्पूर्ण युरोपभर फैलिएको छ । कोरोना नियन्त्रण गर्न युरोपेली मुलुकले दुईजना भेला हुन रोक लगाउनेदेखि सम्पूर्ण देश नै लकडाउन गरेका छन् । कोरोनाबाट बच्न ती देशले हरेक दिन नयाँ नियम ल्याएका छन् । तर, युरोपमै एउटा यस्तो मुलुक छ जहाँ कोरोनाबारे कुनै चिन्ता छैन । त्यो हो युरोपकै सुन्दर देश बेलारुस ।

सम्पूर्ण युरोपलाई कोरोनाले अस्तव्यस्त बनाइरहेका वेला बेलारुस भने शान्त र सामान्य अवस्थामा छ । त्यहाँ संक्रमित नभेटिएका पनि होइनन् । बेलारुसमा कोरोनाबाट अहिलेसम्म दुईजनाको मृत्यु भइसकेको छ भने ८६ जना संक्रमित छन् । तर, यहाँ विद्यालय, कलकारखाना, पसल, उद्योगधन्दा, सिनेमा हल, क्लब पहिले जस्तै सामान्य रूपमा चलिरहेका छन् । न त सरकारले बन्द गर्न जरुरी देखेको छ ।

हालसालै राष्ट्रपति अलेक्सजेन्डर लुकासेन्कोले कोरोनाको संक्रमणभन्दा पनि डर ठूलो भएको बताएका थिए । ‘सबैभन्दा महत्वपूर्ण कुरा त त्रास हो,’ केही दिनअघि उनले भनेका थिए । कोरोनाविरुद्ध कुनै पूर्वसावधानी नअपनाइनेसमेत उनले बताउँदै आएका छन् । उनले भनेका छन्, ‘यो आउँछ जान्छ ।’

अन्य सबै विषयमा सरकारको विरोध गर्ने विपक्षी दलले पनि कोरोनाबारे राष्ट्रपतिको भनाइप्रति सहमति जनाएको छ । कोरोना नियन्त्रणको नाममा देशलाई लकडाउन गर्न नहुने विपक्षीले बताउँदै आएका छन् । कोरोनाबारे कुनै सावधानी नअपनाएको बेलारुसप्रति अन्य युरोपेली मुलुकको ध्यानाकर्षण बढेको छ ।

सर्वसाधारणमा जागरण

सरकारले कोरोना नियन्त्रणका लागि कुनै पूर्वसावधानी नअपनाए पनि यहाँका जनता भने सचेत देखिन्छन् । भाइरसका कारण राजधानी मिन्स्कलगायत महत्वपूर्ण सहरका मानिस घरघरमै बस्न थालेका छन् ।

विद्यार्थीहरू पनि विद्यालय जान मानिरहेका छैनन् । बिहान सवारीसाधनको भिड हुने भएकाले अधिकांश कलेजले पढाउने समय परिवर्तन गरेका छन् । भिडभाड हुने ठाउँबाट बच्नुका साथै मास्क लगाएर हिँड्न थालेका छन् । स्वास्थ्य स्वयंसेवीले पनि कोरोनाबाट बच्न सर्वसाधारण आफैँ जागरुक हुनुपर्ने बताएका छन् ।

राष्ट्रपति भन्छन्, ‘भोड्का खानुन्, कोरोना भगाउनुस्’

केही दिनअघि राष्ट्रपति लुकासेन्कोले एउटा विवादास्पद धारणा व्यक्त गरेका थिए । भाइरस भगाउन बेलारुसका जनताले दैनिक ५० मिलिलिटर भोड्का खानुपर्ने उनले बताएका थिए । रक्सी सेवनले कोरोना भाइरस नियन्त्रण नहुने विश्व स्वास्थ्य संगठनले प्रस्ट पारिसकेको भए पनि राष्ट्रपतिले भने सर्वसाधारणलाई रक्सीले कोरोना भाग्ने गलत सन्देश दिएका थिए ।

लुकासेन्कोले खेतबारीमा काम गर्ने तथा समयमै ब्रेकफ्रास्ट खाँदा पनि स्वस्थ र निरोगी हुने टिप्स दिएका थिए । ‘कृषकहरू ट्याक्टर लगाएर जोतिरहेका छन् । कसैले पनि भाइरसबारे बोलेका छैनन् । गाउँमा ट्याक्टरले नै सबैलाई निको गर्छ,’ उनले भनेका थिए । त्यस्तै, सहरका मानिसलाई कोरोनाबाट बच्न साउनाबाथ गर्न पनि उनले सुझाब दिएका थिए । उनको सुझाबको त्यहाँका विज्ञहरूले विरोध गर्दै सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेका छन् ।

सम्पूर्ण विश्वले कोरोना नियन्त्रणका लागि चालेका लकडाउन र अन्य सावधानीलाई राष्ट्रपतिले ‘उन्माद र पागलपन’ भनेका छन् । संक्रमितको संख्या बढेपछि सरकारको तयारीबारे सोधिएको एक जिज्ञासामा उनले भनेका थिए, ‘पश्चिमी युरोपमा देखिएको जस्तो विक्षिप्तताबाट बेलारुस ग्रसित हुन आवश्यक छैन ।

बेलारुसमा भाइरस फैलिसकेको छैन, त्यसैले हामी डराइहाल्नुपर्ने अवस्था छैन ।’ कोरोना भाइरसको महामारीबीच फुटबल लिग रद्द नगर्ने एक मात्र युरोपेली देश हो बेलारुस । देशमा कोभिड–१९ को संक्रमण खासै नफैलिएकाले देशको अवस्था शान्त रहेको बेलारुसका सञ्चारमाध्यमले बताउँदै आएका छन् ।

जर्मनीका अर्थराज्यमन्त्रीले गरे आत्महत्या

जर्मनीकोे हेस्सी प्रान्तका अर्थराज्यमन्त्री थोमस साफरले आत्महत्या गरेका छन् । कोरोना भाइरसबाट उत्पन्न आर्थिक संकटका कारण उनले आत्महत्या गरेको प्रान्तीय गभर्नर भोल्कर बोउफियरले बताए ।

बोउफियरका अनुसार ५४ वर्षीय थोमसको शव फ्रान्कफर्टनजिकैको होखेमस्थित रेलको लिकमा फेला परेको थियो । थोमस जर्मन चान्सलर एन्जेला मर्केलको क्रिस्टियन डेमोक्रेटिक युनियनका सदस्य समेत थिए ।

प्रहरी र अभियोजन अधिकारीले थोमसले आत्महत्या गरेको बताएका छन् । गभर्नर बोउफियरले राज्यमन्त्री थोमस साफरको मृत्युबारे भने, ‘साफर आममानिसका ठुल्ठूला अपेक्षाबारे चिन्ताग्रस्त थिए । मेरो अनुमानमा उनलाई तिनै चिन्ताले धेरै सतायो र त्यसबाट मुक्त हुने कुनै उपाय देखेनन् ।’

कोरोना भाइरसका कारण सार्वजनिक जीवनमा परेको असर न्यूनीकरण गर्न जर्मनीको संघीय र प्रान्तीय सरकारले ठूलै आर्थिक प्याकेज घोषणा गरेका छन् । साफर एक दशकदेखि हेस्सी प्रान्तका अर्थराज्यमन्त्री थिए । जर्मनीमा कोरोना भाइरसका कारण ६२ हजारभन्दा बढी मानिस संक्रमित हुनुका साथै ६ सयजनाको मृत्यु भइसकेको छ ।

इटालीमा एकै दिन ७५६ को मृत्यु, अमेरिकामा अनियन्त्रित

कोभिड–१९ बाट इटालीमा एकै दिन सात सय ५६ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १० हजार सात सय ७९ पुगेको छ । सोमबार बिहानसम्मको यो अवस्थालाई निकै भयावह मानिएको छ । चीनबाट सुरु भएको यस कोरोना भाइरस संक्रमणबाट हालसम्म इटाली विश्वमा नै सबैभन्दा धेरै नागरिकले ज्यान गुमाउने देश भएको छ ।

यहाँ ज्यान जानेहरूमा अधिकांश लोम्बार्डी क्षेत्रका नागरिक रहेको बताइएको छ । सो ठाउँमा पहिलेदेखि नै संक्रमित हुनेको संख्या धेरै नै रहिआएको देखिएको छ । इटालीमा संक्रमितहरू ९७ हजार ६ सय ८९ पुगेका छन् ।

प्रतिदिन निकै ठूलो संख्यामा नागरिकको ज्यान गइरहेको देखिएको छ । स्पेनमा ज्यान जाने नागरिकको संख्या ६ हजार आठ सय तीन पुगेको छ । त्यसैगरी संक्रमितको संख्या साढे ८० हजार पुगेको छ ।

अमेरिकामा कोरोनाबाट २५ सयको ज्यान गइसकेको छ । यसरी यहाँ निकै द्रुत रूपमा यस संक्रमणको विस्तार भइरहेको देखिएको छ । यहाँ दैनिकजसो १८ हजार संक्रमित भएको पाइएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७