एक हजार थान पिपीइ प्राप्त : स्वास्थ्यकर्मीको सुरक्षा सरकारको दायित्व


१८ चैत्र २०७६, मंगलवार
sky truck

विराटनगर, १८ चैत । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा निगरानीका लागि लागि चाहिने आवश्यक स्वास्थ्य सामग्री यहाँ आइपुगेको छ ।

नेपाली सेनाको स्काई ट्रकमार्फत उक्त सामग्री आइतबार यहाँ आइपुगेको प्रदेश सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरले बताए ।

आइपुगेका सामग्रीमा कोरानाका बिरामीको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा उपकरण (पिपीइ) एक हजार थान रहेका छन् । उक्त सामग्री यस क्षेत्रका १३७ स्थानीय तहमा रहेका स्वास्थ्य संस्थालाई समानुपातिक ढङ्गले वितरण गरिने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल एक हजार थान पिपीइ सङ्घीय सरकारबाट प्राप्त भएको छ । सेनिटाइजर, मास्कलगायत स्वास्थ्य सामग्री एक दुई दिनमा नै प्राप्त हुने छ । प्राप्त भएका पिपीइमध्ये विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १५०, प्रदेश अस्पताल कोशीमा १५०, केही दिनभित्र सञ्चालन हुने विराटनगरको करोना अस्पतालमा दुई सय, मेची अस्पतालमा ४६, मोरङमा ३४, ताप्जेजुङ्गमा १८, सुनसरी २४, धनकुटा १४, तेह्रथुम १२, सङ्खुवासभा २०, इलाम २०, ओखलढुङ्गा २०, खोटाङ्ग २०, झापा ३०, पाँचथर १६, भोजपुर १८ र उदयपुरमा १६ थानका दरले वितरण गर्ने मन्त्रालयले जनाएको छ ।

सो अवसरमा सामाजिक विकासमन्त्री घिमिरेले स्वास्थ्यकर्मीको सुरक्षा सरकारको पहिलो प्राथमिकता रहेकोे बताउँदै उनीहरुलाई चाहिने स्वास्थ्य सुरक्षाका सबै उपकरणहरु सरकारले प्रवन्ध गर्ने विश्वास व्यक्त गरे । उनले कोरोना सङ्क्रमितहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई अतिरिक्त भत्ता, बीमा, आवाससहित खानपिनको व्यवस्था सरकारले गर्ने बताए ।

फिवर क्लिनिक सञ्चालन गर्न निर्देशन
सामाजिक विकास मन्त्रालयले प्रदेशअन्तर्गतका स्वास्थ्य संस्थालाई ‘फिवर क्लिनिक’ अविलम्व सञ्चालन गर्न निर्देशन दिएको छ ।

सामाजिक विकासमन्त्री एवं आइसोलेशन तथा विशिष्टिकृत अस्पताल एवं प्रयोगशाला सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष जीवन घिमिरेको अध्यक्षतामा बसेको बैठकले उक्त निर्देशन दिने निर्णय गरेको हो ।

मन्त्रालयले आकस्मिक र फिवर क्लिनिक बाहेकका सेवा बन्द गर्न निर्देशन दिएपनि कतिपय स्वास्थ्य संस्थाले फिवर क्लिनिक बन्द गरेका गुनासो आएपछि सो निर्णय गरिएको हो । वैठकले कोरोना भाइरस सङ्क्रमितको उपचारका व्यवस्था तत्कालका लागि प्रदेश अस्पताल (कोशी) कोरोना उपचार केन्द्र र सुनसरी धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले गर्ने निर्णय गरेको छ ।

यसैगरी सङ्क्रमण बढ्दै गएमा विराट मेडिकल कलेज बुढीगंगा, नोवेल मेडिकल कलेज विराटनगर, विएण्डसी अस्पताल विर्तामोडलाई तयारी अवस्थामा राख्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताले जानकारी दिए ।

प्रदेश अस्पतालमा कोरोना उपचार केन्द्र सञ्चालनका लागि आवश्यक जनशक्ति तयार गर्न विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, नोवेल अस्पताल, विराट मेडिकल कलेज र विएण्डसीले सहयोग गर्ने निर्णय भएको उनले बताए ।

बैठकले सामाजिक विकास मन्त्रालयको जनस्वास्थ्य महाशाखा प्रमुख तथा प्रवक्ता डा. मेहताको संयोजकत्वमा कोरोना रोकथामको उपचार सम्बन्धि मार्गदर्शन तयार गर्नका लागि पाँच सदस्यीय समिति गठन गरेको छ ।

समितिले व्यक्तिगत सुरक्षा उपकरण (पिपीइ) प्रयोग सम्बन्धि मापदण्ड, स्वास्थ्यकर्मीको भूमिका निर्धारण, कोरोना (कोभिड–१९) रोकथाम तथा फोहोर व्यवस्थापन, उपचार र एम्बुलेन्स सञ्चालन तथा सङ्क्रमण व्यवस्थापन सम्बन्धि मार्गदर्शन तयार गर्ने छ ।

यस्तै बैठकले प्रदेशका सम्पूर्ण स्वास्थ्यकर्मीको सूची सङ्कलन गर्ने र कोरोना सङ्क्रमितको उपचारका लागि खटिएका स्वास्थ्यकर्मी र कर्मचारीका लागि तत्काल पिपीइ उपलब्ध गराउने निर्णय भएको प्रवक्ता डा. मेहताले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७