नाराबाजी गर्दा पनि नेपाल प्रवेश नपाएपछि सुनौली नाकामा अलपत्र सयौं नेपालीकाे धर्ना

सरकारको आदेश कुर्दै स्थानीय प्रहरी–प्रशासन


१८ चैत्र २०७६, मंगलवार
sunauli

रुपन्देही, १८ चैत । लकडाउनका कारण नेपाल प्रवेशको अनुमति नपाएरपछि सुनौली नाकामा तीन दिनदेखि अलपत्र परेका सयौं नेपाली धर्नामा थालेका छन् ।

घर फिर्तीको माग गर्दै उनीहरुले दशगजा क्षेत्रमा सोमबार रातिदेखि धर्ना शुरु गरेका हुन् । उनीहरुले नेपाल सरकारले तोकेको स्थानमा क्वारेन्टाइनमा बस्न तयार रहेको समेत जनाएका छन् ।

इलाका प्रहरी कार्यालय बेलहियाका अन्सुार धर्ना बस्नेमा महिला र बालबच्चासहित करिब ४ सय जना छन् । सोमबार राति उनीहरु एकै साथ नाकाबाट नेपाल प्रवेश गर्न खोजेका थिए । नेपालतर्फ तैनाथ सुरक्षाकर्मीले उनीहरुलाई रोकेपछि केहीबेर धकेलाधकेल भएको थियो ।

भारतको गाजियाबादबाट घर फर्केका अर्घाखाँचीको मालारानी गाउँपालिका-३ का सुनिल खनालले आफूहरु नेपाल प्रवेश गर्न लाग्दा नेपाली सुरक्षाकर्मीले सामान्य लाठीचार्ज समेत गरेको बताए ।

‘लाठीचार्ज हुन थालेपछि भाग्ने क्रममा एकरदुई लडे पनि गम्भीर घाइते भने कोही भएको छैन,’ खनालले भने, ‘त्यसपछि फर्किने क्रममा भारतीय सुरक्षाकर्मीले पनि हामीलाई रोकेपछि सीमामै धर्नामा बसेका हौं ।’ सीमामा अलपत्रहरुको नाम ठेगानासहितको विवरण माग गरिएकाले सबैले लेखेर बुझाउने क्रममा रहेको उनले जनाए ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी जनक थापाले ,नाकामा अलपत्र परेका नेपालीलाई के गर्ने भन्ने बारेमा अहिलेसम्म स्पष्ट कुनै निर्णय नआएको जनाए । ‘आन्तरिक तयारीमा जुटेका छौं,’ उनले भने ।

नाकामा अलपत्र परेकाहरुलाई खानबस्न र खानेपानीको समस्या देखिएको छ । सीमावर्ती बेलहियाका युवा, भैरहवाका विभिन्न संस्था र भारत सुनौलीका स्थानीय मिलेर खानेबस्ने प्रबन्ध मिलाउँदै आएका छन् । भारतका विभिन्न क्षेत्रमा रोजगार तथा अध्ययन गर्न गएका नेपाली नेपाल फर्किन खोजेपछि ३० घण्टादेखि दशगजा क्षेत्रमा अलपत्र परेका हुन् ।

नेपाली पक्षले भारतबाट आउने नेपालीलाई रोकेपछि नेपालतर्फ आउन उनीहरु रोकिएका छन् । उनीहरु अहिले दशगजा क्षेत्रमा पाल टाँगेर बसेका छन् । नेपालतर्फ आउन नपाएपछि दशगजा क्षेत्रमा रहेका नेपालीले सोमबार केही समय नाराबाजी समेत गरेका थिए ।

कोभिड –१९ को त्रास बढ्दै गएपछि नेपाल पक्षले भारतबाट आउने नेपाली र भारतीय पक्षले नेपालबाट आफ्नो देशतर्फ जाने भारतीयलाई रोकेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएका छ । लगभग ६० भारतीय पनि भारततर्फ जान नपाएर नेपालको सीमाक्षेत्र बेलहियामा रोकिएका छन् ।

सीमाक्षेत्रमा रोकिएका नेपालीलाई के गर्ने भन्ने विषयमा छलफल भइरहेको जिल्ला प्रशासन प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ । सरकारले दिने निर्देशन हामीले कार्यान्वयन गर्ने हो भन्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले माथिबाट जे आदेश आउँछ त्यहीअनुसार नेपालतर्फ आउने नेपालीको व्यवस्थापन गरिने बताए ।

सशस्त्र प्रहरी बल नेपाल राजश्व भन्सार नम्बर ३८ गुल्म रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक मानबहादुर शाहीले सीमा क्षेत्रमा रहेका नेपालीलाई अहिले नेपालतर्फ आउन नदिइएको बताउँदै भारतीयलाई पनि भारतीय पक्षले आफ्नो देशतर्फ प्रवेश नदिएपछि सीमाक्षेत्रमा सुरक्षा कडा पारिएको जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७