सेनाले बनायो २० ‘हाइकेयर’ सहित १०० शैंयाकाे आइसोलेसन


१८ चैत्र २०७६, मंगलवार
nepal army hospital

काठमाडौं, १८ चैत । कोरोना भाइरस (कोभिड–१९) ले विश्वव्यापीरुपमा महामारीको रुप धारण गरेको छ ।

महामारीबाट २०० भन्दा बढी मुलुक प्रत्यक्ष प्रभावित भएका छन् । विश्वभरका साढे सात लाख भन्दा बढी नागरिक कोरोना सङ्क्रमित भइसकेका छन् । कोरोनाका कारण ज्यान गुमाउनेको संख्या झण्डै ३८ हजार पुगिसकेको छ ।

विभिन्न मुलुकले कोभिड–१९ लाई नियन्त्रणमा लिन विविध कदमहरु चालेका छन् । तथापि कोरोना नियन्त्रणमा आउन सकेको छैन । अझ फैलँदो अवस्थामा देखिएको छ । नेपालमा पनि कोरोनाको सङ्क्रमण फैलन नपाओस् भनेर सरकारले विभिन्न कदम चालेको छ । सरकारले अत्यावश्यक काममा बाहेक घरबाहिर निस्कन प्रतिबन्ध लगाएको छ ।

कोरोनाको सङ्क्रमणलाई फैलन नदिन सरकारले सम्पूर्ण हरसम्भव प्रयास गरेको छ । सङ्क्रमण फैलिहाले नियन्त्रणमा लिन र सङ्क्रिमतको यथाशक्य चाँडो उपचार गर्न पनि भरपर्दो प्रवन्ध मिलाएको छ ।army scaled

सरकारले कोरोना सङ्क्रमितको उपचारका लागि राजधानीको विभिन्न अस्पताललाई ‘हव’ अस्पतालका रुपमा तोकेको छ । राज्यका विभिन्न निकायले पनि सरकारको प्रयासमा ‘होस्टेमा हैंसे’ गर्दै अग्रसरता देखाइआएका छन् ।

सरकारले सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पताललाई ‘डेडिकेटेड’ अस्पतालका रुपमा घोषणा गरिसकेको छ । नेपाली सेनाले पनि कोरोना सङ्क्रमितको उपचारका लागि हाइकेयरसहितको ‘आइसोलेसन’ वार्ड निर्माण गरेको छ । छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल परिसरभित्र सेनाले कोरोनाका बिरामीको उपचार गर्न उक्त व्यवस्था गरेको हो ।

साधारण अवस्थामा ओपिडी सेवा सञ्चालन गर्ने तयारीका साथ ‘जिओपिडी’ कम्पलेक्स बनाइएको भए पनि सेनाले विश्वव्यापी महामारीको रुप धारण गरेको यो प्रकोपको चपेटामा परेकाको उपचार गर्न ‘आइसोलेसन’ वार्डका रुपमा यसलाई प्रयोगमा ल्याएको हो ।

नव निर्मित कम्प्लेक्समा २० शैंयाको हाइकेयरसहित कम्तीमा एक सय शय्याको आइसोलेसन तयारी अवस्थामा राखिएको महासेनानी डा श्रीजन मल्लले जानकारी दिनुभयो । दुई वटा युनिटमा १५-१५ शय्याका दरले २० शैंयाको हाइकेयर युनिट राख्ने तयारी गरिएको छ ।

आइसोलेनस कक्ष निर्माणको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । यसको करीब ९० प्रतिशत निर्माण सम्पन्न भइसकेको छ । आइसोलेसन वार्डमा बिरामीसँग कमभन्दा कम भेट हुने गरी शय्याको व्यवस्थापन गरिएको छ । वार्डलाई तीन भागमा विभाजन गरिएको छ । पहिलो क्षेत्रमा कोरोनाका सम्भावित बिरामीलाई क्वारेन्टाइनमा राखिने छ ।

बिरामीको नमूना परीक्षण भएर कोरोना सङ्क्रमितको पुष्टि नभएसम्मका लागि सो क्षेत्रमा राखिने छ । कोरोना सङ्क्रमित पुष्टि भइसकेपछि बिरामीलाई दोस्रो क्षेत्रमा राखिने छ । कुनै सङ्क्रमितलाई हाइकेयरको आवश्यकता भएमा मात्र २० शैंयाको हाइकेयर युनिटमा राखिने छ । सिकिस्त बिरामीलाई अक्सिजनसहित चिकित्सकको निगरानीमा राखिने छ ।

बिरामीलाई खाना खान छुट्टै प्रबन्ध
कोरोनाको आशङ्का गरिएका, पुष्टि भइसकेका बिरामीको एकै चोटि भेटघाट नहुने गरी शय्याको व्यवस्था गरिएको छ । बिरामीलाई खाना खान पनि छुट्टै प्रबन्ध गरिएको छ । बिरामीसँग कम भन्दा कम भेटघाट होस् भनेर सतर्कता अपनाइएको छ । बिरामीहरु खानाका लागि एउटा ढोकाबाट प्रवेश गर्ने र अर्को ढोकाबाट निस्कने व्यवस्था मिलाइएको छ ।

एक साताभित्र २० शैंयाको आइसियू
सेनाले कोरोना सङ्क्रमितको उपचार गर्न २० शैंयाको सघन उपचार कक्ष (आइसियु) निर्माण गर्दैछ । सैनिक अस्पताल परिसरमा रहेको एक भवनमा आइसियु निर्माण गर्ने तयारी गरिएको छ । सरकारले नेपाली सेनालाई कोरोनाका बिरामीको उपचारका लागि २० शैंयाको आइसियु निर्माण गर्न निर्देशन दिएको थियो ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले आइसियु निर्माणका लागि दुई दिनअघि टेण्डर भइसकेको जानकारी दिए । एक साताभित्र उक्त क्षमताको आइसियु निर्माण गरिने उनको भनाइ छ । आइसियुका लागि आवश्यक उपकरणको बन्दोबस्त भइसकेको छ । आइसियु निर्माण गर्न सरकारले सेनालाई रु १० करोड उपलब्ध गराइसकेको छ । त्यस्तै, सेनाको आन्तरिक स्रोतबाट रु सात करोड थप गरेर आइसियु निर्माण गरिने छ ।

उच्च अधिकारीद्वारा अनुगमन
सेनाले निर्माण गरेको आइसोलेसन वार्डको आज उच्च सरकारी अधिकारीले अनुगमन गर्नुभएको छ । मुख्य सचिव लोकदर्शन रेग्मी, प्रधान सेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक शैलेन्द्र खनाललगायत अनुगमनमा पुगेका थिए ।

उनीहरु सामु महासेनानी डा. मल्लले आइसोलेसन वार्ड र सेनाले गरेको अन्य तयारीका बारेमा ‘बिफ्रिङ’ गरेका थिए । सो अवसरमा मुख्य सचिव रेग्मीले सेनाको तयारीप्रति सन्तुष्टि व्यक्त गर्दै धन्यवाद दिएका थिए । सेनाको तयारीको अवलोकनपछि उक्त टोली सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालको अनुगमनका लागि गएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७