नेपाल टेलिकमले ल्यायो विभिन्न सेवाहरु, कसरी प्रयोग गर्ने ?


१८ चैत्र २०७६, मंगलवार
nepal telicom

काठमाडौं, चैत १८ । नेपाल टेलिकमका सेवाहरुको महशुल भुक्तानी तथा टपअप गर्ने कम्पनीको रिचाज कार्ड, मोबाइल भुक्तानी सेवा एमपिओएस तथा किआइओएसके मेसिन, विभिन्न भुक्तानी सेवाका एपहरु बैंकका भिसा कार्ड लगायत विकल्पहरु उपलब्ध रहेका छन्।

यसैगरी ब्यालेन्स ट्रान्सफरबाट सीमित रुपमा परिवारका सदस्यहरु र साथीबीच टपअप गर्न सकिने सुविधा पनि उपलब्ध रहेको टेलिकमले बताएको छ।

हाल कोरोना भाइरस महामारी रोकथाम र नियन्त्रणका लागि मुलुक पूर्णरुपमा लकडाउनको अवस्थामा रहेकोले कम्पनीको रिचार्ज कार्ड बिक्री हुने स्थानसम्म पुग्न ग्राहकलाई कठिनाई हुनसक्ने देखिएको छ।

ग्राहकले सहजरुपमा महशुल भुक्तानी तथा टपअप गरी कम्पनीका सेवाहरु मार्फत परिवारजन कुरा गर्न सहज होस् भन्ने उद्देश्यले विद्युतीय माध्यमबाट गरिने भुक्तानी तथा टपअपको व्यवस्थामा केही परिमार्जन गरिएको बताइएको छ।

(क) मोबाइल भुक्तानी सेवा तथा केआइओएसके मेसिन

यस अन्तर्गत कम्पनीका आधिकारिक एमपिओस सेवा प्रदायकहरु (जस्तैःस्टेसनरी, पसल, किराना पसल, पत्रिका पसल आदि) तथा सुपरमार्केट, अस्पताल, कम्पनीको कार्यालय परिसरमा जडान गरिएका केआइओएसके मेसिनहरुमा गई कम्पनीका सेवाहरुको महशुल भुक्तानी तथा टपअप सहजरुपमा गर्न सकिन्छ।

(ख) विभिन्न भुक्तानी सेवाहरु

यस अन्तर्गत भुक्तानी सेवा प्रदायकहरु (जस्तैःइसेवा, खल्ति, आइएमइपेआदि) का एपहरु प्रयोग गरी कम्पनीका सेवाहरुको महशुल भुक्तानी तथा टपअप सहजरुपमा गर्न सकिन्छ ।


(ग) विभिन्न अनलाइन तथा मोबाइल बैकिंङ सेवाहरु

यसका लागि आफ्नो खाता भएका बैंकबाट अनलाइन बैकिंङ वा मोबाइल बैकिंङको सुविधालाइ सोही बैंकको वेबपेज वा मोबाइल एप प्रयोग गरी कम्पनीका सेवाहरुको महशुल भुक्तानी तथा टपअप सहजरुपमा गर्न सकिन्छ ।

(घ) विभिन्न बैंकका भिसाकार्डहरु

चलनचल्तीको भाषामा डेविट कार्ड, क्रेडिट कार्ड वा एटीएम कार्ड भनिने यी कार्डहरुको प्रयोग गरी कम्पनीको जीएसएम मोबाइल सेवाको महशुल भुक्तानी तथा टपअप गर्न https://cardpay.ntc.net.np/ मा लगअन गर्नुपर्दछ । सो पश्चात् आफूले रिचार्ज गर्न चाहेको मोबाइल नम्बर टाइप गरी रिचार्ज गर्न चाहेको रकम छान्नु पर्दछ । त्यसपछि आफ्नो कार्ड नम्बर, कार्डको अवधि समाप्त हुने मिति कार्ड होल्डरको नाम र सीभीभी (अर्थात् कार्डको पछिल्लो भागमा छापिएको तीन अंक) तथा इमेल टाइप गरी ओके गर्नुपर्दछ । साथै, यस प्रक्रियामा ‘क्याप्चा’ र आफ्नो मोबाइलरइमेलमा आउने ६ अंकको कोड पनि प्रयोग गर्नुपर्दछ ।

माथि उल्लेख गरिएका महशुल भुक्तानी तथा टपअपका विकल्पहरुको अलावा व्यालेन्स ट्रान्सफरको व्यवस्थालाई परिमार्जन गरिएको छ । हाल कम्पनीको एउटा प्रिपेड मोबाइलबाट अर्को प्रिपेड मोबाइल वा अर्को पोस्टपेड मोबाइलमा यूएसएसडी कोडमार्फत एक दिनमा बढीमा पाँच पटकसम्म र प्रत्येक पटक अधिकतम एकसय रुपैयाँसम्म ट्रान्सफर गर्न सकिने व्यवस्था रहेकोमा परिमार्जित व्यवस्था अनुसार एक दिनमा बढीमा दश पटकसम्म र एक पटकमा दश रुपैयाँदेखि दुईसय रुपैयाँसम्म व्यालेन्स ट्रान्सफर गर्न सकिनेछ ।

यसका लागि मोबाइलबाट *422*SCode*MobileNumber*AmountInRupees# डायल गर्नु पर्दछ भने यसमा उल्लेख गरिएको एसकोड (सेक्युरिटी कोड) प्राप्त गर्न एसकोड टाइप गरी १४१५ मा एसएमएस पठाउनु पर्दछ । उदाहरणका लागि व्यालेन्स ट्रान्सफर गर्नुपर्ने मोबाइल नम्बर ९८४१xxxxxxमा रु २०० ट्रान्सफर गर्न *422*SCode*9841xxxxxx*200# डायल गर्नु पर्दछ । यूएसएसडी कोडको अलावा नेपाल टेलिकमको मोबाइल एपबाट पनि व्यालेन्स ट्रान्सफर गर्न सकिन्छ ।

यसरी व्यालेन्स ट्रान्सफर गरेपछि रकम पठाउने र रकम प्राप्त गर्ने दुबै नम्बरमा ट्रान्सफर गरिएको रकम सहितको सन्देश १४१५ बाट एसएमएस अलर्टको रुपमा प्राप्त हुन्छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७