लकडाउन : ‘मरे पनि आफ्नै देशमा मर्छु भनेर महाकालीमा हाम्फालें’


१९ चैत्र २०७६, बुधबार
paudi 1536x733 1

दार्चुला, १९ चैत । मंगलबार दिउँसो करिब १ बजे, महाकाली नदी पारीपट्टि किनारमा एक युवकले एकाएक लुगा फुकाले । लुगा झोलामा हाले, झोला टाउकोमा बाँधे, अनि महाकालीमा हेलिए ।

केहीबेरमै वारी किनार आइपुगे । उनले देशको माटो त टेके, तर खुशीको सास फेर्न सकेनन् । किनभने वारी आए लत्तगै प्रहरीले पक्राउ गर्‍यो । महाकालीको चिसो पानीमा चोबलिएर काम्दै देश छिरेका उनी प्रहरीले समातेपछि झन् अत्तालिए । आफ्नै देश टेक्दा, आफ्नै देशका सुरक्षाकर्मीसामु अवाक भए ।

उनी हुन्– बैतडीको डिलासैनी गाउँपालिका–२ सिमराका २१ वर्षीय लोकेन्द्र बोहरा । घरमा कमाउने कोही नभएपछि दुई महिनाअघि गाउँका साथीसँगै रोजगारीका लागि भारत गएका थिए ।

पिथौरागढ जिल्लाको पञ्चाचुली क्षेत्रमा सडक निर्माणको काम पनि पाए । तर, चैत नलाग्दै कोरोनाको हल्ला फैलियो । ठेकेदारले घर जान भनेपछि शनिबार उनीसहित ११ नेपाली मजदुरले नेपालको यात्रा तय गरेका थिए । सोमबार धार्चुला आइपुगेका थिए ।

‘दुई दिनसम्म लगातार हिंडेर सोमबार धार्चुला आइपुगें । त्यहाँ अन्य नेपालीलाई राखिएको ठाउँमा खाना खाएँ । कान्जीहाउसमा शौचालयको छतमा रात काटेँ,’ उनले भने, ‘आफ्नै देश छिर्न रोक लागेकोमा कटक्क मन काट्यो । जे होला भनेर आज महाकाली तरेको हुँ । अब नेपाल सरकारले जे गर्छ, त्यही टर्छ ।’

बैतडीकै डिलासैनी–७ धामी गाउँका २१ वर्षीय अमरसिंह धामीले पनि मंगलबार महाकालीमा पौडेर नेपालमा पाइला टेके । उनीसहित १३ जनाको समूह भारतबाट आइतबार बिहान हिँडेर सोमबार बेलुका सीमावर्ती क्षेत्र बालुवाकोट आइपुगेको थियो ।

अमरसिंह पनि रहरले भारत गएका थिएनन् । १० कक्षासम्म पढेका उनी परिवारको पेट पाल्न रोजगारी खोज्दै पुगेका थिए । कोरोनाको त्राससँगै सडक निर्माणको रोजगारी गुमेपछि घर फर्किएका हुन् । तर, सीमामा सरकारले रोकेकोमा उनको चित्त दुखाइ छ ।

‘परिवार धान्न भारत जानुपर्‍यो । अहिले दुःखमा आफ्नो घर फर्किन पनि नपाउने ?’ उनले भने, ‘बालुवाकोटमा खान बस्नको व्यवस्था नभएपछि जे त पर्ला भनेर महाकाली तरेर आएको हुँ ।’ उनीसँगै डिलासैनी–३ र पुर्चौडी नगरपालिका–३ का ६ जना महाकाली तरेर नेपाल छिरेका छन् ।

पौडिन सक्ने तरेर आए, तर नसक्ने सयौँ नेपाली भारतीय क्षेत्रमै अलपत्र छन् । अमरसिंहसँगै महाकाली तरेर आएका पुर्चौडी–८ का २५ वर्षीय दीपक साउद भारततर्फ बाटाभरि बालबच्चासहित सयौँ अलपत्र परेको बताउँछन् ।

भारतीय प्रहरी र पसलेले नेपालीलाई अपराधी आएजस्तो व्यवहार गर्ने गरेको बताए । पुल बन्द गरेर पारीपट्टि नै खान र बस्नको व्यवस्था गरिएको भनिए पनि अव्यवस्थित रहेको उनले बताए । ‘पारी खाने र बस्ने व्यवस्था छ भनेर के गर्ने, भिडभाड र फोहोरले झन् संक्रमणको डर छ । हामीले त त्यही डरले आइतबारदेखि केही खाएको छैन,’ उनले भने । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७