२०७७ सालको क्यालेण्डरमा कातिक १० गते दशैं, मंसिर १ गते तिहार

सार्वजनिक बिदा र चाडपर्व कहिले ?


१९ चैत्र २०७६, बुधबार
calender

काठमाडौं, १९ चैत । २०७७ सालको नयाँ क्यालेण्डर सार्वजनिक भएको छ । जस अनुसार आउँदो वैशाख १ गते सोमबार परेको छ । नयाँ वर्ष २०७७ को अवसरमा देशभरि वैशाख १ गते सार्वजनिक बिदा हुनेछ ।

यस्तै फागुन २७ गते महाशिवरात्रि, फागुपू अवसरमा पहाडी र हिमाली लगायतका ५६ जिल्लामा चैत १५ गते तथा तराईका १६ जिल्लामा चैत १६ गते देशभर नै सार्वजनिक बिदा हुने भएको छ ।

यस्तै विश्व मजदुर दिवसको दिन वैशाख १९ गते, असोज ३ गते संविधान दिवस र फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा देशभरि नै सार्वजनिक बिदा दिइएको छ । तर मंसिर १८ गते परेको अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अपाङ्गता भएका कर्मचारीलाई मात्रै बिदा दिइएको छ ।

अरु केही पर्वमा भने धर्म, संस्कृति, भौगोलिक क्षेत्र र ठाउँ विशेषका लागि मात्र बिदा हुनेछन् । यसमा वैशाख २५ गते पूर्णिमाका दिन पर्ने किरात, राई, याख्या, सुनुवार, लिम्बू जातिको उभौली पर्व, भदौ १० गते गौरा पर्व, इस्लाम धर्मावलम्बीहरुको पर्व, इद (इदुल फित्र) का दिन, मंसिर ५ गते छठ पर्व, इस्लाम धर्मावलम्बीको पर्व बकर इद (इदुल जोहा) का दिन, पुस १० गते इसाई धर्मावलम्बीको पर्व क्रिसमस डे, पुस १५ मा किरात जातिको उधौली पर्व, योमरी पुन्ही, ज्यापु दिवस र लमू ल्होसार परेको छ ।

यसैगरी माघ १ गते माघे सङ्क्रान्ति एवम् माघी पर्व (थारु, मगर, छन्त्याल जातिको राष्ट्रिय पर्व), माघ ३० गते सोनम ल्होसार, चैत १ गते हिमाली आदिवासी शेर्पाहरुले मनाउने ग्याल्पो ल्होसार, झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीमा सिरुवा पावनी पर्वका दिन र धवथाम्बु छेउचिक पर्वका दिन सम्बन्धित जिल्लामा सार्वजनिक बिदा हुनेछ ।

यस्तै कात्तिक २५ गते फाल्गुनन्द जयन्तीका दिन किरात धर्मावलम्बी, मंसिर १४ गते गुरु नानक जयन्तीका दिन नेपाली सिख धर्मावलम्बीलाई मात्र बिदा दिइनेछ ।

यसैगरी जेठ १५ गते गणतन्त्र दिवस, जेठ २१ गते जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस, भदौ २२ गते निजामती सेवा दिवस, पुस २७ गते राष्ट्रिय एकता दिवस, माघ १६ गते शहीद दिवस र फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस राष्ट्रिय रुपमा मनाइए पनि कार्यालय भने खुल्ने जनाइएको छ ।

यसैगरी तीज र जितिया पर्वमा महिलालाई मात्रै बिदा दिइएको छ । यो वर्षको हरितालिका तीज भदौ ५ गते तथा जितिया पर्व भदौ २५ गते गरेको छ । यस्तै फागुन ४ गते वसन्त पञ्चमीको दिन शिक्षण संस्थामा बिदा हुनेछन् ।

साउन २० गते परेको गाईजात्रा, भदौ १६ गते परेको इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा र चैत २९ गते घोडेजात्राको दिन उपत्यकामा मात्र सार्वजनिक बिदा हुनेछ ।

यसैगरी कात्तिक ७ गते फूलपातीदेखि ११ गते एकादशीसम्म दशैं बिदा छ भने कात्तिक २९ देखि मंसिर १ गतेसम्म तिहार बिदा छ । कात्तिक २९ गते लक्ष्मी पूजा, ३० गते म्हपूजा र मंसिर १ गते गोवर्धन पूजा, भाइटीका, नेपाल संवत् प्रारम्भ परेको छ ।

आउँदो वर्ष ५२ वटा शनिबार परेको छ । वैशाख, असार, भदौ, असोज, मंसिर, पुस, माघ र चैतमा चार–चार वटा शनिबार परेका छन् भने जेठ, साउन, कात्तिक र फागुनमा गरी ५२ वटा शनिबार परेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७