गर्भवतीको हवाई उद्धार


प्रकाशित मिति : 2 April, 2020 6:42 am

काठमाडौं, २० चैत : लकडाउनले मुलुक ठप्प भएका बेला सुत्केरी हुन नसकी प्रश्रव पीडामा रहेकी सोलुखुम्बुकी एक महिलाको हवाई उद्धार गरी काठमाडौँ ल्याइएको छ ।

सुत्केरी गराउन आज बिहान स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएकी सोताङ गाउँपालिका वडा नं ४ की ३० वर्षीया पुष्पकला राईको गर्भमा रहेको शिशुको स्वास्थ्य अवस्था जटिल रहेको खबर पाएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत निःशुल्क हवाई उद्धार गरी काठमाडौँ ल्याइएको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङको निर्देशनमा काठमाडौँ ल्याएलगत्तै थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा राईको उपचार भइरहेको मन्त्रीका प्रेस संयोजक सन्तोष खड्काले जानकारी दिए ।

पेटमा रहेको शिशुको स्वास्थ्य अवस्था जटिल भएपछि आमा र बच्चा दुवैको जीवनरक्षाका लागि काठमाडौँ पठाइएको सोताङ प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक डा आशिष आलोकले जानकारी दिनुभयो । उहाँका अनुसार पेटमा रहेको शिशुले दिसा गरेको र त्यसले गर्भवतीको स्वास्थ्य अवस्था गम्भीर भएको थियो ।

‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ अन्तर्गत मन्त्रालयले जटिल स्वास्थ्य अवस्था भएका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरी उपचारको व्यवस्था गर्दै आएको छ । यसैबीच मन्त्री गुरुङले उपचाररत महिलाको उपचारमा कुनै कमी हुन नदिन अस्पतालका चिकित्सकलाई निर्देशन दिए।

यसअघि यही चैत १५ गते पनि अत्यधिक रक्तश्राव भएकी खोटाङकी एक गर्भवतीको हवाई उद्धार गरी उपचार गरिएको थियो । मन्त्रालयको पहलमा हालसम्म ९२ सुत्केरी तथा गर्भवतीको हवाई उद्धार गरिसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्