चट्याङ लागेर धादिङ र रुकुमपश्चिममा दुईको मृत्यु, ११ जना घाइते


२० चैत्र २०७६, बिहीबार
chatyang

धादिङ, २० चैत । उत्तरी धादिङको खनियाबास गाउँपालिका–२ गोरगङमा बुधबार चट्याङ पर्दा एकको मृत्यु भएको छ भने तीन घाइते भएका छन् ।

मृत्यु हुनेमा खनियाबास गाउँपालिका–२ गोरगङका ४० वर्षीय रामसिंह तामाङ रहेका छन् । घर अगाडि कुखुराको खोर बनाइरहेका बेला परेको चट्याङका कारण उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

चट्याङमा परेर खनियाबास गाउँपालिका–२ थलीका पार्वती तामाङ र मनकुमारी तामाङ घाइते भएका छन् । थलीमा परेको चट्याङले दुई घरमा क्षति पुगेको छ । चट्याङका कारण गाउँमा विद्युत् सेवा समेत अवरुद्ध भएको झर्लाङका सामाजिक कार्यकर्ता प्रेम तामाङले जानाकारी दिए ।

दिउँसोको समयमा परेको चट्याङका कारण सोही गाउँपालिका–२ क्यूङ निवासी आशमाया तामाङ घाइते भएकी छन् । सबै घाइतेको गाउँमा रहेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

यता रुकुमपश्चिममा पनि चट्याङ लागेर बुधबार एकको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका–४ मा चट्याङ पर्दा मामाघरमा बस्दै आएकी गंगादेव गाउँपालिका रोल्पाकी १३ वर्षीया निर्मला खत्रीको मृत्यु भएको हो ।

चट्याङ लागेर अन्य आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक ठगबहादुर केसीले बताए । उनका अनुसार बेलुकी साढे ६ बजेतिर स्थानीय गंगाराम खड्का र प्रकाश विकको घरमा चट्याङ परेको बताइएको छ । चट्याङ लागेर प्रकाशकी २० वर्षीया श्रीमती अनिता विक भने गम्भीर रहेको प्रहरीले जनाएको छ ।

अन्य घाइते हुनेमा वडा नं ४ की ११ वर्षीया तुलसा खड्का, १७ वर्षीया सुशीला खड्का, २२ वर्षीया पवित्रा खड्का रहेका छन् । सोही वडाका ५० वर्षीया धनमाया खड्का, चार वर्षीय केशव खड्का, ६० वर्षीया सीता ओली र २८ वर्षीय कपिल खड्का समेत चट्याङ लागेर घाइते भएका छन् । घाइते सबैको स्वास्थ्य चौकी खुम्चेरीमा उपचार भइरहेकोे छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७