उपत्यकामा रोकिएन ‘लकडाउन’ उल्लंघन, आज विहानै २८३ जना नियन्त्रणमा


२० चैत्र २०७६, बिहीबार
lockdown time arrest

काठमाडौं, २० चैत । सरकारले कोरोना संक्रमण फैलिन नदिन ‘लकडाउन’ आदेश जारी गर्दै यसलाई पालना गर्न आग्रह गर्दै आए पनि काठमाौं उपत्यकामा पूर्णपालना हुन सकेको छैन ।

सरकारले लकडाउन उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा लिने र होल्ड गराउने गरिरहेको भए पनि उपत्यकामा लकडाउन उल्लंघन गर्नेहरुको संख्या उतिकै छ । काठमाडौं उपत्यकामा आज (बिहीबार) बिहानै लकडाउन उल्लंघन गर्ने साढे दुई सय बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहान ७ बजेसम्ममा उपत्यकाका विभिन्न ठाउँबाट २४८ जना पुरुष र ३५ जना महिला गरी २८३ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

लकडाउनका बेला अत्यावश्यक काम नपरी घर बाहिर निस्किएको भन्दै उनीहरुलाई नियन्त्रणमा लिइएको हो । उनीहरुलाई सोधपुछ गरेर अति आवश्यक कामका लागि हिंडेको भए छाडिने नत्र केहीबेर नियन्त्रणमा लिएर अब त्यसो नगर्न सम्झाउने अनि जताबाट आएको हो उतै फर्काउने प्रहरीले जनाएको छ ।

लकडाउनका कारण अहिले देशभर सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनीतिक नियोग, एम्बुलेन्स, अत्यावश्यक र जिल्ला प्रशासनबाट अनुमति लिएका गाडी मात्र चलिरहेका छन् । अरु गाडी चलाउन र अत्यावश्यक नपरि हिंडडुलमा पनि रोक लगाइएको छ ।

यस्तै खाद्य लगायतका अत्यावश्यक दैनिक उपभोग्य वस्तु आपूर्ति गर्ने निकाय र सङ्घ संस्थाका गाडीलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट पास वितरण हुनेछ ।

यस्तै बैंक तथा वित्तीय संस्थाका गाडीका लागि नेपाल राष्ट्र बैंक र राष्ट्र सेवक कर्मचारीले प्रयोग गर्ने गाडीका लागि सम्बन्धित मन्त्रालयबाट सवारी पास लिन सकिने जनाइएको छ । अरु आकस्मिक प्रयोजनका लागि भने जिल्ला प्रशासन कार्यालयले नै सवारी पास उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७