अस्ट्रेलियामा कोरोना भाइरसको खोपको परीक्षण


२० चैत्र २०७६, बिहीबार
corona vaccine

क्यान्बेरा, २० चैत । अस्ट्रेलियाको राष्ट्रिय वैज्ञानिक तथा औद्योगिक अनुसन्धान संगठन (सिसिरो) ले कोरोना भाइरस प्रतिरोधी खोप (भ्याक्सिन) को परीक्षण शुरु गरेको छ ।

सिसिरोले मेलबोर्नबाट ७५ किलोमिटर दक्षिणको गीलोङस्थित अस्ट्रेलियाली पशु स्वास्थ्य प्रयोगशाला (एएएचएल) मा पहिलो चरणको परीक्षण आरम्भ गरिएको बिहीबार घोषणा गरेको हो । यो परीक्षण करिब तीन महिनामा सम्पन्न हुनेछ । यो भ्याक्सिनको प्रभावकारिता र सुरक्षात्मक स्थितिका बारेमा एक प्रकारको मुसामा परीक्षण गर्न लागिएको सिसिरोले जनाएको छ ।

सिसिरोका प्रमुख कार्यकारी ल्यारी मार्शलले कोरोना भाइरसविरुद्धको अभियानमा यो एउटा कोसेढुङ्गा हुने विश्वास लिइएको बताउँदै यस कार्यमा अस्ट्रेलियाली र अन्य मुलुकको अनुभवलाई एकीकृत गरिएको जानकारी दिए ।

उनले मानव स्वास्थ्यका लागि ठूलो चुनौतीका रुपमा देखिएको कोरोना भाइरसविरुद्धको यस अभियानमा आफ्नो सम्पूर्ण शक्ति प्रयोग गर्नु परेको पनि बताए ।

संक्रामक रोगको महामारीविरुद्ध गठन भएको विश्वव्यापी सञ्जाल (सेपी) को सहयोगमा सिसिरोले गत जनवरीदेखि नै कोरोना भाइरस प्रतिरोधी भ्याक्सिन निर्माणको कार्यलाई अघि बढाएको थियो ।

भ्याक्सिनको प्रभावकारिताका अलावा सिसिरोले भ्याक्सिन लगाउने तरिकाका बारेमा पनि मूल्याङ्कन गर्न लागेको छ । यो भ्याक्सिन प्रभावकारी र सुरक्षित हुने देखिए पनि आमरुपमा उपलब्ध हुन १२ देखि १८ महिना लाग्ने सिसिरोले जनाएको छ ।

प्रयोगशालामा निर्माण गरिएको सार्स–कोभ–२ अर्थात् कोरोना भाइरसलाई गत जनवरीमा एएएचएल प्रयोगशालामा पठाइएको थियो । ‘हामीले कोरोना भाइरसका सम्बन्धमा जनवरीदेखि नै अनुसन्धान गरिरहेका छौं र जतिसक्दो चाँडो मानिसमा परीक्षण गर्ने योजना पनि बनाइरहेका छौं’, एएएचएलका निर्देशक ट्रेभोर ड्रिउले भने ।

विश्वभर कोरोना भाइरसका कारण ४४ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने करिब १० लाख मानिस संक्रमित भएका छन् । रासस–एएनआई

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७