गोदावरीबासीको विरोधपछि १३ इन्डोनेसियालीलाई प्रहरी परिसर जावलाखेल ल्याइयो


२१ चैत्र २०७६, शुक्रबार
Lalitpur Corona Bidesi

काठमाडौं, २१ चैत । स्थानीयको विरोधपछि ललितपुरको गोदावरी भिलेज रिसोर्टमा राख्न ल्याइएका १३ जना इन्डोनेसियाका नागरिकलाई महानगरीय प्रहरी परिसर जावलाखेलमा ल्याइएको छ ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले उनीहरुलाई राख्ने निश्चित क्वारेन्टाइन फेला नपरेसम्म जावलाखेलमा राखिने बताए । इन्डोनेसियन नागरिक सप्तरीबाट बुधबार सुरुमा बालाजुस्थित मस्जिदमा बस्न खोजेका थिए ।

त्यहाँका स्थानीयले विरोध जनाएपछि प्रहरीले उनीहरुलाई इमाडोलस्थित एक मस्जिदमा व्यवस्थापन गरेका थिए । विदेशी नागरिक आएर बसेको थाहा पाएपछि महालक्ष्मीका स्थानीयबासीले विरोध जनाएपछि बिहीबार दिउँसो उनीहरुलाई गोदावरीस्थित रिसोर्टमा लगिएको थियो ।

महानगरीय प्रहरी परिसर जावलाखेलका अनुसार मुस्लिम धार्मिक समूहका उनीहरु इन्डोनेसियाबाट माघ ७ गते सप्तरीमा भएको धार्मिक सभामा भाग लिन नेपाल आएका थिए ।

ललितपुर प्रहरी प्रमुख एसएसपी टेकबहादुर राईका अनुसार नेपाल आएपछि सुरुमा उनीहरु राजधानीको घण्टाघरस्थित जामे मस्जितमा दुई दिन बसेका थिए । ‘त्यहाँबाट सप्तरी कञ्चनपुरस्थित मस्जिदमा पुगेका थिए,’ एएसपी राईले भने ।

इन्डोनेसियन नागरिक गोदावरी ल्याइएकोमा विरोध
मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले यो बेला कुनै पनि विदेशी नागरिक मस्जिदमा बस्न उपयुक्त नहुने भएकाले गोदावरीस्थित क्वारेन्टाइनमा पठाइएको बताए । ‘अहिलेको अवस्थामा कुनै पनि विदेशी यसरी मस्जिदमा बस्न अनुमति दिन मिल्दैन,’ उनले भने ।

महालक्ष्मी नगरपालिकाकाले भने लकडाउनका बेलामा सप्तरीबाट आउने उनीहरुको बारेमा सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् । महालक्ष्मीका मेयर रामेश्वर श्रेष्ठले नगर क्षेत्रमा अन्य कोही विदेशबाट आएर बसेका पाइएमा त्यसबारेमा जानकारी दिन नगरबासीलाई आग्रह गरेका छन् । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७