लकडाउन : कामपामा कुपन वडा कार्यालमा, राहत नजिकको पसलबाट


२१ चैत्र २०७६, शुक्रबार
bidhya sundar sakya

काठमाडौं, २१ चैत । काठमाडौं महानगरपालिकाले लकडाउनमा भीडभाड हुन नदिन राहत वितरणलाई कुपनमार्फत शुरु गरेको छ ।

कामपा वडा नं ४ ले दैनिक ज्यालादारीमा गुजार चलाउने मजदुरलाई राहत सामग्री लिन नाम दर्ता भएकालाई कुपन दिई नजिकको खाद्य पसल मार्फत सामग्री खरिद प्रक्रिया शुरु गरेको हो ।

यसका लागि वडा कार्यालयले खाद्य पसलसँग समन्वय गरिसकेको छ । ती पसलधनीलाई वडा कार्यालयले विलका आधारमा भुक्तानी गर्ने कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए । उनका अनुसार अहिले वडा नं ४ ले यसको शुरुवात् गरेको छ । यो राम्रो हो यसको अनुशरण अन्यले पनि गर्न आवश्यक रहेको देखिन्छ । सो वडामा मात्रै दुई हजारजनाले राहत सामग्रीका लिन निवेदन दिएका छन् ।

कामपाले विपन्न, असहाय र दैनिक ज्यालादारीमा काम गर्ने व्यक्तिलाई परिवार संख्याका आधारमा राहत उपलब्ध गराउन शुरु गरेको हो । अहिले कामपाको सबै वडाकार्यालयमार्फत राहत वितरणको कार्य भइरहेको छ ।

गत मङ्गलबार कार्यपालिकाको ४३ औं विशेष बैठकले ‘कोरोना भाइरससम्बन्धी राहत वितरण मापदण्ड–२०७६’ जारी गर्दै गरेको व्यवस्थाअनुरुप महानगरले राहत सामग्री वितरण गरेको हो ।

कोरोना भाइरसको जोखिम हुन नदिन सरकारले जारी गरेको लकडाउनले अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द रहेका छन् । मानिस घरभित्र बसेका छन् । दैनिक ज्यालादारीको रकम आर्जन गरेर छाक टार्ने वर्गका परिवारलाई समस्या पर्ने भएकाले समान प्रकारको राहत र सहयोग उपलब्ध गराउन मापदण्ड बनाइएको महानगरका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।

मापदण्डले अभिभावक नभएका, आफ्नो आयस्रोत तथा जायजेथा नभएका, अरुको सहयोग तथा सहारामा बस्दै आएका व्यक्तिलाई असहाय भनेको छ । महानगर क्षेत्रमा सञ्चालनमा रहेका अनाथ आश्रम, वृद्धाश्रम, संरक्षण गृह, मन्दिर, गुम्बा, मस्जिद आदिमा आश्रित व्यक्तिलाई पनि राखिएको छ ।

त्यस्तै आम्दानीको कुनै स्थायी स्रोत नभएका, दैनिक जीवन गुजारा गर्न धौधौ पर्ने सम्बन्धित वडाले अति विपन्न हो भनेर प्रमाणित गरेका व्यक्ति र परिवारलाई अतिविपन्न मानिएको छ ।

प्रवक्ता डङ्गोलका अनुसार त्यस्ता परिवारको विवरण राख्ने काम र वितरणको कामसँगै भइरहेको छ त्यसैले अहिले कतिको संख्यामा रहेका छन् भनी यकिन जानकारी छैन । राहत दिन परिवार संख्याका आधारमा खाद्य सामग्रीको प्याकेट बनाउनु पर्नेछ ।

यदि एक जना मात्र व्यक्ति बस्ने रहेछ भने यसका लागि तयार पारिएको प्याकेटमा चार किलो चामल, एक किलो दाल, एक किलो नुन, आधा लिटर तेल, आधा किलो चिउरा र एक किलो तरकारी हुनेछ ।

दोस्रो प्याकेटमा १२ किलो चामल, दुई किलो दाल, एक किलो नुन, आधा लिटर तेल, दुई किलो चिउरा र तीन किलो तरकारी हुनेछ । यो दुई जनादेखि चारसम्मको परिवारका लागि हो । यदि कुनै परिवारमा पाँच जनाभन्दा धेरै रहेछन् भने उनीहरुका लागि १६ किलो चामल, तीन किलो दाल, एक किलो नुन, एक लिटर तेल, तीन किलो चिउरा र चार किलो तरकारीको प्याकेट हुनेछ ।

यसका अतिरिक्त वडाले आवश्यक ठानेमा असहाय र अति विपन्न व्यक्तिलाई तयारी खाना, खाजा वितरणको व्यवस्था समेत गर्न सक्ने छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७