देशमा सबैको चर्चा छ, एम्बुलेन्स चालकको स्वास्थ्य र सुरक्षा ओझेलमा


प्रकाशित मिति : April 4, 2020

काठमाडौं, २२ चैत । कोरोना भाइरसका कारण एम्बुलेन्स चालक र कर्मचारीको व्यस्तता बढेको छ ।

बिरामीलाई अस्पताल ओसार्न उनीहरू अहोरात्र खटिएका छन् । तर, बिरामीसँगको प्रत्यक्ष सम्पर्कका कारण संक्रमणको उच्च जोखिममा रहने उनीहरूको सुरक्षा–प्रबन्ध भने फितलो छ ।

भक्तपुर अस्पतालका एम्बुलेन्स चालक कृष्णराम कोजू बिरामी तथा बिरामीका नमुना परीक्षणका लागि टेकु अस्पताल पुर्‍याउँछन् । राजधानी र राजधानी बाहिरका अस्पतालसम्म बिरामी बोक्छन् । तर, सामान्य अवस्थामा लगाइने मास्क, पन्जा र चस्माकै भरमा कुदाकुद गर्दा डर लाग्ने गरेको कृष्णराम बताउँछन् ।

‘अहिलेसम्म १० शंकास्पदको रगत र खकारको स्याम्पल लिएर टेकु अस्पताल पुगेको छु । कोरोनाका लक्षण देखिएका बिरामीलाई अस्पताल ओसार्नु पर्छ । एम्बुलेन्समा राख्दा र ओराल्दा बिरामीलाई छुनुपर्छ,’ उनले भने, ‘तर, सुरक्षा साधन नहुँदा संक्रमण हुने हो कि भन्ने डर लाग्छ । के गर्नु जसरी भए पनि जिम्मेवारी पूरा गर्नैपर्‍यो ।’

अर्का एम्बुलेन्सचालक सीताराम कोजू पनि असुरक्षित रहेर काम गर्नुपरेको गुनासो गर्छन् । ‘आराम गर्ने फुर्सद नपाएकोमा चिन्ता छैन । संकटका वेला बिरामीको सेवामा खटिनु हाम्रो धर्म नै हो । तर, सुरक्षाका आधारभूत सुविधा नै नभएपछि संक्रमण होला कि भन्ने डर लागिहाल्छ नि !’ उनले भने । सामान्य मास्क, पन्जा र चस्मा बाहेक केही नभएको उनले गुनासो गरे ।

स्वास्थ्य मन्त्रालय र काठमाडौं महानगरपालिकाको संयोजकत्वमा उपत्यकाभित्र १० एम्बुलेन्स सञ्चालनमा छन् । यिनैमध्ये एक एम्बुलेन्सका चालक विकास राउत दिनमा २२ घण्टासम्म काममा खटिनुपरेको बताउँछन् । उनलाई पनि निद्रा गुमेकोमा भन्दा आफैँ संक्रमणको जोखिममा रहेकोमा चिन्ता छ ।

‘सामान्य अवस्थामा दैनिक चार–पाँच टिप गरे हुन्थ्यो । अहिले एक्लैको भागमा १२–१५ केस आउँछन् । दुई घण्टा पनि सुत्न पाइँदैन । तर, सवाल कामको भन्दा पनि सुरक्षाको छ,’ उनले भने, ‘दिनभर सामान्य अवस्थामा बिरामीको संसर्गमा रहनुपर्छ, अनि घरमा परिवारका सदस्यलाई आफैबाट संक्रमण फैलिन्छ कि भन्ने डरले सताउँछ ।’

नेपाल एम्बुलेन्स सेवाअन्तर्गत एउटा एम्बुलेन्सलाई कोरोनाका शंकास्पद व्यक्ति मात्र बोक्न खटाइएको छ । तर, एम्बुलेन्सकी इमर्जेन्सी मेडिकल टेक्निसियन बन्दना चौधरी बिरामी अस्पताल पुर्‍याए पनि अधिकांश निजी अस्पतालले उपचार नै नगरिदिएको बताउँछिन् ।

‘निजी अस्पतालले बिरामी लिनै मान्दैनन् । हेर्दै नहेरी टकु लैजानुस् भन्छन् । तर, टेकुले सामान्य बिरामी नल्याउनु भन्छ,’ उनले भनिन्, ‘एम्बुलेन्समा डुलाउँदैमा समय खर्च हुन्छ । संक्रमण फैलिने डर हुन्छ ।’

अस्पताल मात्रै होइन, कतिपय बिरामीको जिद्दीका कारण पनि आफूहरूले दुःख पाउने गरेको उनले बताइन् । ‘सामान्य रुघाखोकी र ज्वरो आएका बिरामीले फोन गर्छन् । सामान्य चेकजाँच गरेर तथा ट्राभल हिस्ट्री बुझेर मात्रै अस्पताल लैजान्छौं ।

तर, अधिकांश बिरामीका आफन्त र घरबेटीले सामान्य बिरामीलाई पनि टेकु नै लैजान दबाब दिन्छन् । सम्झाउँदा बुझ्दैनन् । समस्या हामीमाथि आइलाग्छ,’ उनले भनिन् । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्