प्रवासमा रहेका ३२ नेपालीमा कोरोना संक्रमण, वहराइनमा एकैपल्ट नौं नेपाली संक्रमित


२२ चैत्र २०७६, शनिबार
korona 7 scaled

काठमाडौं, २२ चैत । विश्वलाई कोरोना (कोभिड–१९) भाइरसले आक्रान्त बनाइरहेका बेला प्रवासमा रहेका नेपालीहरु समेत प्रभावित बन्ने क्रम बढ्दै गएको छ ।

रोजगारी र अध्ययनको शिलशिलामा खाडी र तेस्रो मुलुक पुगेका नेपाली नागरिकहरुमा पनि कोरोना भाइरसको संक्रमण देखिन थालेको छ । पछिल्लो समय प्रवासमा रहेका ३२ नेपालीमा कोरोना संक्रमित भएका छन् । यसरी संक्रमित हुनेहरुका खाडीका विभिन्न देशमा रहेका नेपाली धेरै छन् ।

लण्डनमा रहेका एक नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् । नेपाली कांग्रेसका युवा नेता एवम् जनसम्पर्क समिति बेलायतका संस्थापक तस्बीर लामा कोरोना भाइरसबाट संक्रमित भएका छन् । लामाको अहिले लण्डनस्थित एसटी हिलर अस्पतालमा उपचार भइरहेको नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष नैनसिंह महरले जानकारी दिएका छन् ।

महरले आफ्नो फेसबुक वालमा लामाको तस्विर राखेर लामाको उपचार भइरहेको जानकारी गराएका छन् । लण्डनमा एक नेपालीको कोरोना भाइरस संक्रमणबाटा निधन भइसकेको छ । केही नेपालीहरूलाई कोरोना भाइरसको संक्रमण भएको छ । धेरै संक्रमितहरू उपचारपछि घर फर्किएका छन् ।

यता खाडी देशहरुमा पनि नेपाली श्रमिकलाई कोरोनाको संक्रमण देखिन थालेको छ । अहिलेसम्म बहराइनमा १२, यूएईमा ८, कुवेतमा एक र मलेसियामा एक जना नेपाली श्रमिकलाई कोरोना संक्रमण भएको पाइएको छ । तर यूएईमा भने दुई जना निको भइसकेका छन् । अझै ६ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

खाडीका देशमध्ये संक्रमितको संख्या सबैभन्दा धेरै साउदीमा छ, तर त्यहाँ रहेको नेपाली दूतावासका अनुसार अहिलेसम्म नेपाली श्रमिक सुरक्षित छन् ।

यस्तै बहराइनमा एकैपल्ट नौं नेपाली कामदार कोरोनाबाट संक्रमित भएका छन् । यसअघि बहराइनमा तीन जना नेपालीमा कोरोना देखिएको थियो ।

बहराइनस्थित नेपाली दूतावासका अनुसार एउटै क्याम्पमा बसेका कामदारमा कोरोना संक्रमण देखिएको हो । ‘बहराइनको सल्मावादस्थित एक क्याम्पमा कार्यरत विदेशी कामदारलाई कोरोना देखिएको थियो । त्यो क्याम्पमा नेपालीसहित ४ सय जना बस्दथे । सबैलाई क्याम्पमै क्वारेन्टाइनमा राखिएको छ’, बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले भने, ‘स्वास्थ्य परीक्षणको क्रममा नौं नेपालीलाई पोजिटिभ देखिएको हो ।’

उनीहरुको अवस्था स्थिर छ । त्यस क्याम्पमा अझै कति नेपाली छन् भन्ने खुलेको छैन ।
शुक्रबारसम्म १२ नेपालीसहित २८६ जनाको उपचार भइरहेको वहराइन सरकारले जनाएको छ । ३८२ जना भने निको भएर अस्पतालबाट घर र क्याम्प फर्किसकेका छन् ।

चार जनाको मृत्यु भएको छ । हालसम्म ३७ हजार ९९६ जनाको स्वास्थ्य परीक्षण भइसकेको छ । विश्वका २०५ देशका १० लाख ९८ हजार ४३४ जनामा कोरोना संक्रमण फैलिसकेको छ । ५९ हजार १६० जनाको ज्यान गएको छ भने दुई लाख २८ हजार ९२३ जना निको भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७