लकडाउन : जहाँ पाइन्छ सहज रुपमा खाना पकाउने ग्याँस

अशक्तलाई पहिलो प्राथमिकता, ११४६ मा निःशुल्क फोन


२२ चैत्र २०७६, शनिबार
gass 1

काठमाडौं, २२ चैत । तपाईंको नाम ? सुमन थापा ।
कुन कम्पनीको ग्याँस हो ? राजधानी । एकै छिन बस्नुस् है ।

अर्का कर्मचारीले थापालाई हातमा स्यानिटाइजर थाप्न भने । स्यानिटाइजर दल्दै ग्याँस लिन आएका थापा केही मिटरको दूरीमा परै बसे । खुद्रा पैसा मिलाएर दिनुस् है । मास्क लगाएर नाम लेखिरहेका कर्मचारीले भने । थापाले रु ६८७ ती कर्मचारीलाई दिए । भित्रबाट ग्याँस आयो, ताहाचलबाट आएका थापाले ७.१ किलो अर्थात् आधा भरिएको ग्याँस लिएर आफ्नो गन्तव्यमा लागे ।

थापा जस्तै एक दर्जनभन्दा बढी उपभोक्ता लाइनमा थिए । उनीहरुले पालैपालो ग्याँसको सिलिन्डर भित्र दिए । पालैपालो स्यानिटाइजर लगाएर प्रतीक्षामा बसे । क्रमैसँग भित्रबाट ग्याँस आयो ।

साविकको नेशनल टे«डिङ लिमिटेडको टेकुस्थित कार्यालयमा नेपाल आयल निगमको समन्वयमा विभिन्न १८ कम्पनीको ग्याँस बिक्री गरिएको छ । आवश्यक पर्ने उपभोक्ताले त्यहाँ पुगेर सहजै रुपमा ग्यास लिन पाएका छन् । कुनै अवरोध छैन, कुनै अभाव छैन ।

लकडाउनपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको नेपाल आयल निगमले अधिकांश ग्याँस कम्पनीका ग्यास एकै स्थानमा भेला गरेर उपभोक्तालाई सहज रुपमा बिक्री गरिरहेको छ ।

हरेक दिन बिहान ७ देखि साँझ ७ बजेसम्म जुुनसुकै कम्पनीका ग्याँस समेत बिक्री गरिएको छ । ग्याँस उद्योगी, विक्रेता तथा डिलरका प्रतिनिधि समेत उपस्थित छन् । त्यो दृष्य हेरिरहेका पत्रकार र उपभोक्ताका माझ उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट अनुगमनका लागि पुगे ।

लकडाउनको समयमा मन्त्री नै अनुगमनमा पुगेपछि ग्याँस बिक्री गरिरहेका कर्मचारी समेत एकछिन छक्क परे । उनीहरु सामाजिक दूरी कायम गरेरै काम गरिरहेका थिए । सरकारको निर्देशनअनुसार नै उपभोक्तालाई सहज रुपमा सेवा दिन पाउँदा उनीहरुको मुहारमा पनि खुशीका रेखा देख्न सकिन्थ्यो । विपद्को समयमा कोही पनि नेपाली नागरिक भोको नपरुन् र खाना पकाउने ग्याँस नपाएर अभाव झेल्नु नपरोस् भन्नेतर्फ ध्यान दिइएको उनीहरुको भनाइ थियो ।

बिहान ७ बजेदेखि नै ग्याँस बिक्रीको व्यवस्थापन

सरकारले निगममार्फत बिक्री गरिने ग्याँसका लागि बिहान ७ बजेदेखि नै कर्मचारी साविकको नेशनल ट्रेडिङको कार्यालयमा पुग्छन् । नेपाल आयल निगमका सहायक प्रबन्धक विकास बखतीका अनुसार निगमका कर्मचारीले दैनिक १२ घण्टा खटेर सेवा दिइरहेका छन् । यस्तो विषम परिस्थितिमा पनि नेपाल सरकारको योजनाअनुसार नै काम भएको उनले जानकारी दिए ।

कर्मचारीलाई खाना, खाजाको समेत सोही स्थानमा प्रबन्ध गरिएको छ । निगमको संयोजनमा विभिन्न १८ कम्पनीको ग्याँस बिक्री गरिएको छ । यस्तै घुम्ती पसल चलाएर पनि सेवा दिइएको छ । निगमले त्यसका लागि आफ्नै र अन्य ग्यास कम्पनीको सवारी साधन प्रयोग गरेको छ ।

अशक्तलाई पहिलो प्राथमिकता, ११४६ मा निःशुल्क फोन

निगमले विशेष गरी सुत्केरी क्वारेन्टाइनमा बसेका, अति अशक्त, फरक क्षमता भएका, हस्पिटलमा उपचार गरिरहेका, वृद्धवृद्धा, जान सक्ने अवस्था नभएका नागरिकलाई घरमै ग्यास पु¥यादिएको छ । दैनिक १ हजार ५०० सिलिन्डरको माग भए पनि अशक्तका हकमा विशेष व्यवस्था गरिएको छ । उनीहरुको घर वा बस्तीसम्म नै ग्याँस लगेर सेवा दिइएको बखतीको भनाइ छ ।

अन्यका हकमा नजिकको बिक्री केन्द्र वा बिक्रेता कहाँ सम्पर्क गर्न भनिएको छ र सोहीअनुसार पुग्दो मात्रामा ग्याँस उपलब्ध भएको छ । केहीले भने आफूहरुलाई लकडाउन उल्लङ्घन गरेको अभियोगमा पक्राउ गर्ने भएकाले घरमै ल्याई दिन समेत भनेको उनको भनाइ छ ।

निगमले यही चैत १८ गतेदेखि त्यस्तो सेवा दिएकामा पहिलो दिन १५०, दोस्रो दिन १९ गते १७३, २० गते २६३ ग्याँस अशक्तलाई उपलब्ध गराएको छ । यस्तै २१ गते मात्रै विभिन्न पाँच वटा टोलीले २७२ वटा सिलिन्डर उपलब्ध गराएको छ ।

ग्याँस आवश्यक पर्ने अशक्त वा क्वारेन्टाइनमा बसेकाले पैसा नलाग्ने ११४६ नम्बरको हटलाइनमा फोन गरेर माग गर्न सक्ने व्यवस्था मिलाइएको छ । यस्तै अन्य तीन वटा हटलाइनका रुपमा मोबाइल नम्बर समेत सञ्चालनमा छन् ।

निगमको आधिकारिक ट्रेड युनियनका अध्यक्ष गोपालचन्द्र राईका अनुसार विपद्को समयमा सामान्य नागरिकभन्दा बढी समस्यामा पर्ने, वर्ग तथा समुदायलाई विशेष ध्यान दिएर सेवामूलक तवरले काम गरिएको छ ।

केही उपभोक्ताले भने लकडाउनको कारण देखाउँदै घरसम्म ल्याइए दिन समेत भनेको उनको भनाइ छ । निगमको प्रतिनिधिले कतिपय ठाउँमा कार्डको फोटो तथा भिडियो समेत खिचेर ल्याएको समेत उनले जानकारी दिए ।

दैनिक एक लाख ३० हजार सिलिन्डर

निगमले बजारमा दैनिकजसो नै एक लाख ३० हजार सिलिन्डर ग्याँस पठाएको छ । निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलका अनुसार शुक्रबार मात्रै भारतबाट २५ वटा बुलेट काठमाडौँ आएका छन् । निगमका अनुसार देशभर कुल एक करोड २० लाख सिलिन्डर छन् ।

काठमाडौँ उपत्यकालाई सामान्य अवस्थामा दैनिक ४० हजार सिलिन्डर जरुरी पर्नेछ । ‘ग्याँस कम भएर आधा सिलिन्डर ग्याँस दिइएको नभई, उपभोक्ताको घरमा रहेको सिलिन्डर बाहिर निकाल्न यस्तो विधि अपनाइएको हो’, पौडेलले भने ।

आयात उल्लेख्य बढे पनि सिलिन्डर खाली नहुँदा बोटलिङमा समस्या पर्ने देखिएको उनको भनाइ छ । ग्याँस बिक्रीका सरकारको सञ्जाल नभएको अवस्थामा पनि विशेष तवरले बिक्री गर्दा आउने अनुभवलाई संस्थागत गर्न लागिएको उनको भनाइ छ । निगम आफैले सिलिन्डर ल्याउनु पर्दा के कसरी बिक्री वितरण गर्नुपर्छ भन्ने ज्ञान लिनका लागि समेत सबै कम्पनीको ग्याँस एकै स्थानमा राखेर बिक्री गरिएको उनको भनाइ छ ।

ग्याँसमा कुनै समस्या छैन : मन्त्री भट्ट

अनुगमनमा पुगेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सरकारको व्यवस्थापन तथा उद्योगी व्यवसायीको इमान्दार प्रयत्नका कारण ग्याँस बिक्री वितरण सहज बनेको जानकारी दिए ।

मन्त्रालयका सबै टिम, निगमका कर्मचारी एवं उद्योगी तथा व्यवसायीको साझा प्रयत्नका कारण आफूहरु विषम अवस्थामा समेत सहज आपूर्ति गराउन सकेको उनको भनाइ छ । उनले ग्याँस अत्यधिक मात्रामा आयात भएकाले हाल राख्ने ठाउँ समेत अभाव हुने अवस्था आएको जानकारी दिए ।

कोरोना भाइरसको सङ्क्रमणको डर बढेपछि उपभोक्ताले सञ्चिति गरेका कारण सिलिन्डर घरमै बस्ने अवस्था आएकाले तत्कालका लागि आधा ग्यास दिएर भए पनि सिलिन्डर बाहिर निकाल्न लागेको उनको भनाइ छ ।

ग्यास बिक्रेता महासङ्घका अध्यक्ष महेश्वर श्रेष्ठले मन्त्रालयको प्रभावकारी निर्देशन र नेतृत्वका कारण हरेक डिपोमा ग्याँस सहज रुपमा उपलब्ध भएको जानकारी दिए । उनले भने, ‘मैले हरेक दिनजसो देशैभरको विवरण लिएको छु । कुनै पनि स्थानमा ग्याँस पाइएन भन्ने अवस्था छैन । हामीले सहज रुपमा ग्याँस दिएका छौं ।’

भारतबाट पनि नियमित रुपमा ग्याँस आयात भइरहेको जानकारी दिँदै उनले प्रहरी प्रशासनबाट पनि आफूहरुलाई सहज सहयोग भएको उल्लेख गरे । ‘चार– पाँच दिनअघिको जस्तो चाप र भीड छैन ।

डिलरमा ग्याँस छ, अब आधा सिलिन्डर दिने प्रणाली हटाउनुपर्छ । धन्यवादको पात्र नेपाल सरकार र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय हो । हामीले सुरक्षाका सबै उपाय अपनाएर डिलर खोलेर ग्याँस बिक्री गरेका छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७