संघसंस्थाले बाँड्ने राहत नलिन गाउँपालिकाको आग्रह


२३ चैत्र २०७६, आईतवार
KM Khotang KhaddyannBitaranPhotoKhotang 1

मकवानपुर, २३ चैत । मकवानपुरको विकट क्षेत्र कैलाश गाउँपालिकाका अध्यक्ष टङ्क मोक्तानले विभिन्न सङ्घसंस्थाले वितरण गर्ने राहतलाई अस्वीकार गर्न स्थानीयवासीलाई अनुरोध गरेका छन् ।

सामाजिक सञ्जालमार्फत अध्यक्ष मोक्तानले लकडाउनको अवधिमा खाना नपाई कोही मर्न नदिने सरकारले योजना बनाइसकेकाले ढुक्क हुन अपिल गरेका छन् । ‘कसको घरमा चुलो बल्न बन्द हुनलाग्यो छातीमा हात राखेर नढाँटीकन स्थानीय सरकारलाई खबर दिई सहयोग गर्नुहोला हामी स्थानीय सरकारका प्रतिनिधि त्यहाँ पुग्छौ’, उनले भनेका छन् ।

अध्यक्ष मोक्तानले गाउँघरमा थुप्रै रैथाने चिजबिजहरु खाएर समेत बाँच्न सकिने भन्दै पोका बाँडेर आफूलाई भगवान् बनाउन खोज्नेको राहत अस्वीकार गर्न अनुरोध गरेका छन् ।

मोक्तानले ‘गाउँमा खोले, सिस्नु, गिठ्ठा, भ्याकुर, कर्कलो, निउरो, टाकीको साग, कोइरालाको फूल, सिफ्लिगान, केराको बुङ्गो, वनतरुल, पिडालु, सिमलतरुल, पुतलीतरुल, चुइया र यस्तै अन्य नानाथरि प्रकृतिले उपलब्ध गराएको मौसमी चिजबिज खाएर बाँचिरहेका हामी नेपालीलाई वनमान्छे देख्ने र दयाको पात्र सम्झने आफूले आफूलाई भगवान् देखाउन सेतो चामलको बोरा बाँड्न आउनेहरुमाथि नै मनोदशारुपी कोभिड–१९ को भयानाक आक्रमण देखियो ।

मानवीयताको हिसाबले सहयोग गर्ने यतिखेर नै हो, हामी–हामीबीचमै सहयोग आदनप्रदान गर्न सकिन्छ, जे छ बाँडेर खाना सकिन्छ । यो सङ्कटको बेलामा वल्लोपल्लो घरबाट एैचोपैचो चलाउँ, जिउँदाको जन्ती मर्दाको मलामी तपाईं हामी नै हौँ ।’

स्वास्थ्य परीक्षणपछि घर फिर्ता

लकडाउन उल्लङ्घन गरी क्वारेन्टाइन पुर्‍याइएका २४ जना शनिबार घर पठाइएको छ । जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ, लिसङ्खुपाखर गाउँपालिका अध्यक्ष कमल नेपाल, सुरक्षा समितिले ग्रामीण महिला सिर्जनशीलमा रहेको क्षेत्रीय क्वारेन्टाइनबाट स्वास्थ्य जाँच गरी घर पठाइएको हो ।

उल्लङ्घनकर्तालाई सम्बन्धित वडाका अध्यक्षले नियमित स्वास्थ्य जाँच तथा सेल्फक्वारेन्टाइनमा बस्ने शर्तसहित जिम्मेवारी दिई पठाइएको जिल्ला समन्वय प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए ।

राजधानीका विभिन्न ठाउँमा पेशा व्यवसाय गरी बसेको प्रमाण जुटाई कोरोनासँग मिल्दो कुनै लक्षण नभेटिएको चिकित्सकको सिफारिसका आधारमा आ–आफ्नो घर पठाइएको तामाङले जानकारी दिए ।

उनीहरुलाई चैत्र २० गते लकडाउनको नियम मिचेर काठमाडौँबाट बाह्रबिसे जाँदै गर्दा तीन बलेरो पिकअपबाट नियन्त्रणमा लिई प्रहरीले क्वारेन्टाइन पुर्‍याएको थियो । २४ मध्ये एक जना चौतारा साँगाचोक गढी नगरपालिका, एक त्रिपुरा सुन्दरी गाउँपालिका र अधिकांश बाह्रबिसे नगरपालिकाका छन् ।

इन्द्रावतीले बनायो ५० लाखको कोष

कोरोना भाइरस सङ्क्रमण फैलन नदिनका लागि इन्द्रावती गाउँपालिकाले रु ५० लाखको कोरोना रोकथाम कोष बनाएको छ । कोरोना रोकथाम कोष नामाकरण गरी गाउँपालिकाले सङ्क्रमण फैलन नदिन रोकथाममा जुटेको हो ।

नेपालमा कोरोना सङ्क्रमण देखिनुअगावै गाउँपालिकाले आफ्नो क्षेत्रमा प्रवेश गर्नेहरुको स्वास्थ्य परीक्षण गरेर मात्रै प्रवेश दिन थालेको थियो । कोष खडा गर्न यो रकम पर्याप्त नभएकाले सङ्घीय, प्रदेश र विभिन्न स्रोत जुटाएर कोषको शुरुआत गरिएको गाउँपालिका अध्यक्ष वंशलाल तामाङले जानकारी दिए ।

गाउँपालिका राष्ट्रिय महासङ्घका महासचिव समेत रहेका इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलालले विभिन्न स्वास्थ्य सामग्री खरिद गर्नेदेखि सङ्क्रमण फैलन नदिनका लागि पूर्व तयारीका लागि कोषको रकम खर्च गरिने जानकारी दिए । इन्द्रावतीले गाउँपालिकामा रहेका स्वास्थ्य संस्थामा पिपीइ, स्यनिटाइजर, मास्कलगायत सामग्री वितरण गरिसकेको छ ।

स्थानीयवासीको सहयोगमा अति विपन्नलाई राहत

इन्द्रावती गाउँपालिका–२ का स्थानीयवासीले वडाभरिका अतिविपन्न परिवारलाई खाद्य सामग्री सहयोग गरेका छन् । समाजसेवी मोहन गिरीको अगुवाइमा इन्द्रावती साना किसान कृषि सहकारी संस्थाको सहयोगमा अतिविपन्न ७५ परिवारलाई सहयोग गरिएको हो ।

आज सहयोग वितरणको शुभारम्भ गर्दै सहकारीका अध्यक्ष रामशरण गिरीले दैनिक गुजारा चलाउन समस्या भएका परिवारलाई सहयोग गरिएको बताए ।

मोहन गिरीले रु ५० हजार सहयोग गर्नुभएको छ भने हीराबहादुर गिरी तथा रामेछापका बलराम खड्कालगायतले सहयोग उपलब्ध गराएका छन् । अहिले ७५ परिवारलाई सहयोग गरे पनि आवश्यक परे अन्य परिवारलाई पनि सहयोग गर्न सकिने मोहन गिरीले जानकारी दिए ।

दैनिक ज्याला गरी छाक टार्न पर्ने परिवारका सदस्यले काम गर्न नपाउँदा समस्या भएको हुँदा ती परिवारलाई खाद्य सामग्री सहयोग गरिएको हो । चामल १५ केजी, दाल तेल, नुन, साबुन, चिनी चियापत्ती प्रदान गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७