कोरोना संक्रमित परिवारको ७ सदस्यको रिपोर्ट नेगेटिभ


२३ चैत्र २०७६, आईतवार
Coronavirus Infected test negative

घोडाघोडी,२३ चैत ।  कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेशन वार्डमा उपचार गराइरहेका धनगढी उपमहानगरपालिका– ५ हसनपुरका कोरोना भाइरस संक्रमित युवकका परिवारका सात सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।

परिवारका आठ सदस्यको थ्रोट स्वाब सङ्कलन गरिएकामा उनकी ३४ वर्षीया भाउजुकाे रिपोर्ट मात्र पोजेटिभ सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा. जगदीश जोशीले बताए । अन्य सात जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

संक्रमितकी श्रीमती, चार वर्षीया छोरी, उनका बुवाआमा, दाजु र भतिजीको रिपोर्ट पनि नेगेटिभ आएको छ । यसअघि संक्रमण देखिएका धनगढीका एक युवक दुबईबाट यही चैत ७ गते नेपाल आएका थिए । दिल्लीबाट काठमाडौँ आउँदा उनी चढेको जहाजमा १०८ नेपाली थिए । नेपालगञ्जबाट अत्तरिया हुँदै उनी हसनपुरस्थित घर पुगेका थिए ।

उनी संक्रमित भएपछि उनकाे भाउजुमा संक्रमण देखिएकाे थियाे । उनकाे भाउजुमा भएकाे संक्रमणसँगै नेपालकाे संक्रमणकाे दाेस्राे चरणमा प्रवेश गरेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । याे लोकल ट्रान्समिसन भएको र संक्रमणको दोस्रो चरणमा पुगेकाले सावधानी बढाउनु पर्ने देखिएको प्रवक्ता डा. विकास देवकोटाले बताएका थिए ।

शनिबार मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप तीन जनामा कोरोना संक्रमण देखिएको जानकारी गराउँदै थप सजग रहनुुपर्ने बताएका थिए । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण देखिएका बिरामीको संख्या ९ पुगेको छ ।


यस्तै दुई जना भने भारतबाट नेपाल आएका व्यक्तिमा कोरोना संक्रमण देखिएको हो। कैलालीका २१ वर्षीय पुरुष र कञ्चनपुरका ४१ वर्षीय अर्को पुरुषमा कोरोना संक्रमण देखिएको हो। संक्रमण देखिएकामध्ये कैलालीका पुरुष मुम्बईबाट र कञ्चनपुरका ४१ वर्षिय पुरुष भारतको उत्तराखण्डबाट नेपाल आएका हुन्। उनीहरु क्वारेन्टाइनमा नै रहेको अवस्थामा संक्रमण देखिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७