कोरोनाले फर्काइ दिएको मानिसको ‘चेत’


२३ चैत्र २०७६, आईतवार
sunal

कोरोना भाइरस हाल विश्वका लागि शासकको कोर्रा र गोली भन्दा निर्मम, साम्राज्यको एटम र वारूद, शस्त्र–अस्त्रहरू भन्दा भयानक भएको छ । यति भनिरहँदा, कोरोनालाई कसरी पराजित गर्ने ? समाजलाई कसरी बलशाली बनाउने ? समुदायलाई कसरी सचेत बनाउने ? वैज्ञानिक विचार एवम् त्यसको मूल्य–मान्यतालाई स्थापित गर्दै मानव सभ्यताको नयाँ भविष्यप्रति कसरी चिन्तन–मनन गर्ने ? सवाल यहाँ छ ।

मानव सभ्यता यो युगसम्म आईपुग्दा मानव जीवन शैली अत्याधुनिक र वैज्ञानिक छ । चिकित्सा पद्दतिले लामो फड्को मारेको छ भनेर गर्व गर्दैगर्दा चिकित्सा विज्ञान र मानव सभ्यतालाई नै चुनौती दिंदै मान्छेको नरसंहार गर्दै कोरोना भाइरस विश्वभर फैलिरहेको छ ।

मानव सभ्यता ध्वस्त बन्दैछ । यसरी कोरोना भाइरस विश्वभर फैलिरहँदा विश्वका समृद्ध र शक्तिशाली भनिएका राष्ट्रहरू घुँडा टेकिरहेका छन् । शस्त्रीकरणको बलबुतामा आफ्नो शक्ति स्थापित गर्दै आफ्नो साम्राज्य शक्ति फैलाउने राज्यहरू अहिले सुषुप्त जीवाणुदेखि लत्रिएका छन्, हारेका छन् । यस कुरामा दुईमत रहेन ।

korona photo

विश्व एउटा घोडा हो । त्यसको लगाम मेरो हातमा छ, भन्ने महाशक्ति राष्ट्र अमेरिकाका राष्ट्रपतिको अरु देशप्रतिको व्यवहार र बाघको झैं गर्जन आज सहयोगका लागि हात फैलाउनु पर्ने अवस्थामा बदलिएको छ । दुनियाँलाई अहंकारको आगो ओकल्ने बोली र अन्य देशलाई ‘फिस्टो’ देख्ने आँखाबाट अहिले बरबरी आँशु झर्न थालेको छ । कोरोनाकै कहरबीच मन्त्रीले आत्महत्या गरेको घटना इतिहास दर्ज भइसकेको छ ।

युरोपेली राज्यहरू संगठित भएर चीनलाई घेराबन्दीमा पार्न, नङ्ग्याउन दादागिरीको भाषा बोलिरहन्थे, नेपाल जस्तो देशलाई धर्मको नाममा गैरसरकारी संस्थाको नाममा प्रयोग गर्दै चीनप्रति मार हान्ने स्पेस बनाउने नियतमा लागि रहन्थे । दुनियाँको सबै भन्दा ठूलो शत्रु चीनसँग सहयोग र सहकार्य गरौं भनेर तिनै युरोपेली राष्ट्र हात जोडिरहेका छन् । कल्पनासम्म गर्न नसकेको घटना कोरोनाकै कारण घटिरहेका छन् ।

कोरोना विषय लिएर विश्वका महाशक्ति राष्ट्रहरू दुई ध्रुवमा रहेर वाकयुद्ध नभएको होइन । अमेरिकी राष्ट्रपति ड्रोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई ‘चाइनिज’ भाइरस भने । यता चीनका राष्ट्रपति सिजिङ्ग फिङ्गले अमेरिकी सेनाले चीनमा ल्याएर कोरोना भाइरस छोडिदिएका हुन भने । आज यस वाकयुद्ध पनि अन्त्य भएको छ । ती अन्तरविरोधहरू कहाँ छन् ?

अन्तर्राष्ट्रिय राजनीनि कहाँ छ ? अन्तर्राष्ट्रिय राष्ट्रिय अर्थतन्त्र कहाँ छ ? अहिले सबै–सबै बिलौना कहँदै छन् । विश्व मानव सभ्यताको रक्षार्थ एक ठाउँमा उभिएको छ । कोरोनाले विश्व एक ठाउँमा आएको छ । मानव मस्तिष्कमा कुनै पनि किसिमको विभेद र हिंसा हराएर गएको छ । मानव निर्मित मानकहरू धमाधम भत्किँदै छन् ।

विश्वमा कोरोना भाइरसले आतंक मच्चाउँदै गर्दा कोरोना भाइरसबाट नेपाल पनि अछुतो छैन । यतिबेला नेपाल लकडाउनमा छ । सरकार कति संवेदनशील छ ? जनता कति सचेत छन् ? सरकारले क–कसको आवाज सम्बोधन गर्दैछ ?

भारतको विभिन्न स्थानबाट नेपाल फर्किएका नेपालीहरू सीमानामा भोकभोकै मर्दैछन् । भारतीय भूमिमा कति अपमानित भएर बाँचेका होलान् । त्यो भोग्नेलाई मात्र थाहा छ । तिनीहरूमध्य केहि महाकाली नदिमा हामफालेर नाङ्गेझार आफ्नो देश प्रवेश गरिरहेका छन् ।

तिनीहरूलाई प्रहरीले पक्रिएर क्वारेन्टाइनमा राखिरहेको छ । ती नेपालीहरू कुनै तीर्थ यात्रा र भ्रमणका लागि भारत गएका थिएनन् । सरकारले रोजगार दिएन, भोको पेट पाल्न र परिवारको छाक टार्न कामको सिलसिलामा भारत गएका नेपालीहरू हुन् ती ।

गरीब र विपन्नहरूको यो देश होइन ? यो देश हुनेखाने, धनी र पुँजीपतिहरूको मात्र हो ? गरीब–विपन्नले खान–लगाउन नपाउने ? आफ्नो अनिवार्य आवश्यकता पूरा गर्ने नैसर्गिक अधिकार होइन गरीब विपन्नहरूको ? नेपाल सरकारले किन आफ्नो नागरिकलाई आफ्नो देशमा ल्याएर क्वारेन्टाइनमा राख्न सक्दैन ?

हिजो भूमिगत कालमा संसारमै गरीबको छैन राज्य भन्छ तर, पनि यो देशमा ल्याउन हामीलाई मन छ भनेर ढाडस दिंदै जनताको घरमा भुटेको मकै, ढिडो रोटो खाएर, जनताको झुपडीमा निदाएको मिठो निन्द्रा विर्सिएर आज त्यहि जनतालाई निर्मम लाठ्ठी बर्साउँदै गर्दा जनताले आफ्नो र नाबालक छोराछोरीको गाँस काटेर वर्तमान सरकार चलाउने मन्त्रीहरूलाई भूमिगतकालमा पालेको इतिहास बिर्सेका छैनन् । ठूला–ठूला उद्योग हाइड्रोपावरहरू मन्त्रीका उचस्तस्तरीय तवरका मान्छेबाट चल्छ । जनतालाई ‘कागलाई बेल पाक्यो हर्ष न विस्मत’ ।

४०–५० गुणा बढी कमिसनमा नेपाल सरकारले स्वास्थ्य सामाग्री किनेको तथ्यहरू बहिर निस्किन्छ । अझ सफ्टवेयर नै ह्याक गरेर समाचार डिलिट गरियो भन्ने समाचार बहिरिन्छ ।
नेपालको इतिहासमा जनताले पहिलो पटक दुई तिहाइ बहुमतको सरकार बनाएर नेपालको उज्यालो भविष्य खोजेका हुन् ।

अनियमितताको पहाड चुल्याउन र भ्रष्टाचारको देवल उठाएर यो देशमा धमिरा पाल्न जनताले मतदान गरेका होइनन् । यसको हिसाव प्रत्येक नेपाली जनताले राख्ने छन् । कोरोना भाइरस परास्त पछि भोकमरी र अभावको बमहरू बिष्फोट हुँदै बिद्रोहको आवाज निस्कियो भने के त्यस बिद्रोहलाई निभाउन सक्ने कुनै अचुक उपाय सोच्नसम्म सकिन्छ ? कि त्यस बखत भोका नाङ्गा जनतामाथि गोली वर्साइन्छ ? प्रश्न यहाँनेर छ ? हुक्के, चम्चे, नोकर चाकरहरूको लागि मात्र हो लोकतन्त्र ? इतिहासमा कुलङ्गारहरूले इतिहासलाई नङग्याएको बङग्याएको इतिहास साक्षी छ ।

यदि अहिले सञ्चार माध्यममा बाहिर आएको कुरा सत्य हो भने इतिहास नङग्याएर, बङग्याएर पानी माथिको ओभानो कोही हुन पाउने छैन् । निरन्तर खबरदारीको औंला उठिरहने छ । गल्तीको भागिदार जनताले बनाई छोड्ने छन् ।

स्थानीय सरकारले जनतासँग हातेमालो गरेर गरिबीको रेखामुनिबाट नेपाललाई माथि उठाउने नीति तथा कार्यक्रम तय गर्दैछौं भन्दै गर्दा आज अति विपन्न वर्गलाई राहत वितरण गर्छाै भनेर मुठ्ठी फुकाउँदै गर्दा आफ्नो स्थानीय तहमा विपन्न वर्गको तथ्याङ्क कति छ ? ती विपन्न वर्ग कहाँ–कहाँ छन् र ती को–को हुन् ? अत्तोपत्तो केही छैन ।

अहिले आएर विपन्न वर्गको तथ्याङ्क स्थानीय तह संकलन गर्दैछ । विपन्न वर्गलाई हिजो चुनावताका बाँडेको सपना कसरी पूरा गर्दै रहेछ ऐना जस्तै छर्लङ्ग देखिंदैछ । कोरोनाविरूद्ध लड्नका लागि स्थानीय सरकार सबै भन्दा जिम्मेवार हुनैपर्छ । यसका लागि वडा सदस्यदेखि मेयरसम्मको सक्रियता र कार्यक्रमहरूको आवश्यकता छ ।

नेपाल विकासोन्मुख देश हो । स्वास्थ्य क्षेत्रको ब्यवस्थापन सरकारी क्षेत्र भन्दा निजी क्षेत्रको बढी व्यवस्थित भएको भान हुने गथ्र्यो र अधिकांश विरामीहरू निजी क्षेत्रको अस्पताललाई विश्वास गर्थे । आज यो बिपत्तिको घडीमा निजी अस्पतालहरू वदशाला सावित भएका छन् ।

यहाँ मान्छेको दोहन गरिन्छ, काटिन्छ, मारिन्छ रगत चुसिन्छ अनि मान्छेको हुर्मत लुटिन्छ । हिजो मेरै हस्पिटल आऊ तिम्रो रोग निको हुन्छ भनेर जबरजस्त एम्बुलेन्समा खाँदेर लगेर कमिसनमा उपचार गर्ने निजी हस्पिटलहरू आज गेटबाटै बिरामीलाई निर्मम रूवाउँदै–रूवाउँदै लखेटि रहेका छन् । सर्प देख्दा पाखा हात, माछा देख्दा भित्र हात भन्ने भनाईलाई सावित गरिरहेका छन् ।

पत्रकार सम्मेलन गरेर मेरो हस्पिटलको क्षमता यति छ सरकार मेरो डाक्टरहरूलाई तलब भत्ता देउ म विरामीको उपचार गर्छु भनेर सरकारसंँग ठेक्कापट्टाको भाषा बोलेर जनतालाई हेपिरहेका छन् । जनताले यो बिपत्तिको घडीमा आफूले निजी हस्पिटलबाट पाएको दर्द पीडा र अपमान कहिले भुल्ने छैनन् । यसको हिसाब जनताले समय कालमा लिई छाड्ने छन् । यस्ता हस्पिटलहरू सरकारीकरण गर्न नितान्त आवश्यक छ ।

गाउँ अभावले भरिएको छ । गाउँमा भविष्य छैन भनेर हिजो शहर पस्दै गर्दा आज गाउँ ज्यान बचाउने थलो बनेको छ । गाउँमा मिठो खान पाइन भनेर शहरमा मिठो खाँदै गर्दा, आज शहरमा सब्जीको हाहाकार छ । गाउँमा सब्जी कुहिएर गइरहेको छ । हिजो भगवानले बचाउँछन् भनेर मन्दिर, गुम्बा, मस्जिद, चर्च जान्थ्र्यौ आज बाँच्नका लागि आइसोलेसनमा जीवन र मरणको लडाइ लडिराख्नु परेको छ ।

हामी नेपाली विभिन्न कालखण्डमा विभिन्न विपत्तिहरू झेलेर बाँचेको छौँ । कोरोनाबाट नि बाँच्छौ र बाँच्नु पर्छ । अझै महिनौ लकडाउनमै बस्नु परे नि पानी पिएर भए नि घरमै बसौं तर, कोरोना आफ्नो घरमा भित्र्याउन हामी घर बाहिर ननिस्कौं । हजारौं हजार ऋषिमुनीहरूले बर्षौ बर्ष एकान्त बाँसमा बसेर त्याग तपस्याले समाधि प्राप्त गरे । यस धर्तीधरालाई सुन्दर–सुन्दर कुरा छोडेर गए । हामी नि एकान्तबासमा छौं ।

यो एकान्तबासलाई सिर्जनशील बनाऔं । हरेक सकारात्मक कुराको साथ लिऔं । नकारात्मक कुराको आलोचना गरौं । यो बेला कसले साथ दिंदैछ, कसले एक मुठी चामल पनि बाँडेर खाँदैछ, त्यो हेक्का राखौँ । यो भोलि इतिहास बन्ने छ । यस इतिहासले भोलि भविष्यको बाटो सहज बनाउने छ ।

हामी यो बेला कोरोना भगाउन साबुन पानीले हात मात्र धोइरहेको छैनौँ, साबुन पानीले मन र मन पनि धोईरहेको छौं । आपसी माया, सद्भाव र सहअस्तित्वका साथ धोएको सङलो मन बोकेर मानव सभ्यताको सुन्दर नयाँ भविष्य निर्माण गर्न आज कोरोनाविरूद्ध लड्न हामी सबै जिम्मेवार बन्न नितान्त आवश्यक छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७