कोरोना कहर : पैसा नभएपछि ललितपुरदेखि पैदल हिंडेर सप्तरी फिर्ता


प्रकाशित मिति : April 6, 2020

काठमाडौं, २४ चैत । लकडाउन छिटै खुल्ला भन्ने आस थियो । १२ दिनसम्म छाप्रोमै कोचिँदा पनि छाँटकाट देखिएन ।

ललितपुरको ठैबस्थित एउटै छाप्रोमा बस्ने सात जनाको समूह शनिबार नै सप्तरीको कन्चनरूप नगरपालिका गइसकेका थिए । टेकराम चौधरी र उनका अरू पाँच जना साथी भने मंगलबारबाट लकडाउन खुल्न सक्ने भन्दै यतै बसिरहे । तर, मन्त्रिपरिषद्को शनिबारको निर्णयले उनीहरू आत्तिए ।

सरकारले आइतबारदेखि एक जिल्लाबाट अर्को जिल्ला, एक प्रदेशबाट अर्को प्रदेश र स्थानीय तहबाट अर्को स्थानीय तहमा आउजाउ गर्न नदिने निर्णय गरेको थियो । यो खबर सुनेर गाउँबाट परिवारले रुँदै घर आउन फोन गरेपछि यी ६ जनाको समूह पनि आइतबार बिहान ५ बजे ललितपुरको ठैबबाट हिँडेरै सप्तरी जाने यात्रामा निस्कियो ।

सबैले पिठ्युँमा भिर्ने झोला बोकेका र हातमा अर्को झोला झुन्ड्याएका छन्। बिहान साढे ७ बजे उनीहरूको समूह सूर्य्विनायकमा भेटिँदा साढे दुई घण्टामा २४ किलोमिटर यात्रा छोट्याइसकेका थिए ।

३ सय ५ किलोमिटर टाढाको यात्राका लागि निस्केका चौधरीको समूहका तीन जना फित्तावाल चप्पल पड्काउँदै अरनिको राजमार्ग हुँदै धुलिखेलतर्फ गइरहेका थिए । सबैले मास्क लगाएका र झोलामा खाजा बोकेका छन् । बाटोमा पसल खुलेको नभेटिए आफैंले बोकेका चिउरा र चाउचाउ खाएर पनि घर पुग्ने उनीहरूको अठोट छ ।

घर बनाउने ज्यामी काम गर्ने उनीहरूलाई लकडाउनले बेरोजगार बनाएको हो । एकातिर कोरोनाको डर, अर्का्तिर रोजगारी नहुँदा डेरामा हातमुख जार्ने खर्च सकिएको थियो । ‘यहाँ पैसा नभएकाले खाना खानै नपाउने भयो,’ चौधरीले भने, ‘१२ दिन त अस्ति कमाएको पैसा थियो। अब त खर्च नभएपछि कम्पनीसँग घर जाने खर्च मागेर हिँड्यौ ।’

रेडियो र टीभीबाट कोरोनाको बिरामी भेटिएका समाचार बज्नेबित्तिकै घरबाट आफन्तले आत्तिँदै फोन गर्ने गरेको सुमन सदाले बताए । ‘काठमाडौंमा भोकै नबस्नु घर आउनु भनेर रुँदै फोन गर्ने गर्छन्,’ उनले भने, ‘यता बस्यौं भने त काम नभएपछि कमाइ हुँदैन । भोकै मर्नुभन्दा परिवारसँगै बस्ने भनेर हिँड्यौं ।’ यता बस्दा परिवारलाई आफ्ना चिन्ता र आफूलाई परिवारको चिन्ताले सताउने गरेकाले घर जान लागेको उनले बताए ।

उनीहरू गाउँबाट काठमाडौं कामको खोजीमा आएको दुई महिनामात्रै भयो। सीई कन्स्ट्रक्सन कम्पनीमा दैनिक सात सय रुपैयाँ ज्यालामा काम गर्ने उनीहरूले बेखर्ची भएपछि गाउँ जाने अन्तिम विकल्प रोजेका हुन् ।

घर जान कम्पनीले १५ सयदेखि २ हजार सहयोग गरेको चौधरीले बताए । उनीहरू यही पैसाले बाटो खर्च धान्ने गरी घर हिँडेका हुन् । उनीहरू साँगा भन्ज्याङ कटेपछि तरकारी र खाद्यान्न ढुवानी गर्ने गाडीमा चढ्ने योजनामा थिए । दुई दिनमा घर पुग्न सकिएला कि भन्ने उनीहरूले सोचेका छन् ।


सरकारले आफू जस्तै मजदुरलाई राहत दिने उनीहरूले पनि सुनेका छन् । तर राहत पाउनेमा उनीहरू ढुक्क थिएनन् । किनकि राहतका लागि फारम भरेकालाई पनि केही नदिएको उनीहरूले देखेका छन् ।

‘टहरामा बस्ने हाम्रो नाम राहत दिने सूचीमा कसले चढाइदिनु र पाउनु ?,’ सप्तरी जान लागेका सरोज यादवले भने, ‘राहतको फारम भर्नेले त पाएको छैन । हामीले त कहिले पाउने ? राहत कुरेर बस्दा त मरिन्छ होला ।’ उनीहरू घर बनाउनेले सामान र कामदार राख्न बनाई दिएको छाप्रोमा बस्थे ।

सुमन सुदाले भने झोलासँगै हातमा रंगको २० लिटरको खाली बाल्टी पनि बोकेका छन् । चर्को घाममा परेको हिँडाइमा उनी बाल्टी कहिले काँधमा त कहिले हातमा झुन्ड्याएर बोकिरहेका थिए ।

लकडाउनपछि गाडी नचल्दा उनीहरूजस्तै बिहान र बेलुका हिँडेरै घर जानेको ताँती नै लाग्ने गरेको महानगरीय प्रहरी वृत्त भक्तपुर जगातीमा सडकमा खटिएका एक प्रहरीले बताए । चौधरीको समूहलाई छाडेर अलि बढ्ने बित्तिकै भेटिए ३ वर्षीया छोरीलाई बोकेर श्रीमतीसँगै काभ्रेको पाँचखाल गइरहेका सन्देश तामाङ ।

लकडाउनले काम गर्न नपाएर खर्च सकिएपछि गाउँ जान लागेको उनले बताए । छोरीलाई घरि हिँडाउँथे, घरि काँध र पिठ्युँमा दुई जनाले पालैपालो बोक्थे। उनीहरू भक्तपुरको बालकोटबाट हिँडेर ८ बजे नलिन्चोक पुगेका थिए । उनीभन्दा अलि अघि पलासे पुगेर थकाई मारेर बसेका थिए उदयपुर जान लागेका रमेश खतिवडा र उनका दुई साथी ।

चाबहिलबाट ५ बजे हिँडेका उनीहरूले साँगा नजिकैको पलासेसम्मको २० किलोमिटर यात्रा तय गरिसकेका थिए । अबको २ सय ६८ किलोमिटर यात्रा तीन दिनमा तय गरिसक्ने खतिवडाले बताए । उनका दुई जना साथी पनि फित्तावाल चप्पल लगाएरै उदयपुर जान लागेका भेटिए ।

उनीहरू जस्तै चप्पल लगाएर गाउँ फर्कनेको लर्को नै छ । जगातीभन्दा अलि अघि भातेढिकुरमा तीन जना युवा अघि र एक वृद्धा पछिपछि लागेर सिन्धुली गइरहेका थिए । उनीहरू सबैले फित्तावाल चप्पल नै लगाएका थिए ।

‘काठमाडौंमा बस्न खर्च नभएकाले गाउँ हिँडेको हो,’ विजय तामाङले भने, ‘काम गर्न बाहिर निस्कन पाइँदैन, आफूसँग भएको पैसा पनि सकियो ।’ यसरी गाउँ जानेमा छोराछारीसहित परिवारै फर्किने बढी छन् । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्