राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी, को हुन् अधिकारी ?


२४ चैत्र २०७६, सोमबार
Maha Prasad Adhikari

काठमाडौं, २४ चैत :  सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई राष्ट्र बैंकको १७औँ गभर्नरमा नियुक्त गरेको हो ।

Maha Prasad Adhikari

निवर्तमान गभर्नर चिरञ्जीवी नेपालको कार्यकाल सकिएपछि फागुन ५ गतेदेखि केन्द्रीय बैंकमा गभर्नर खाली थियो। अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि अधिकारीसहित डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र डा. राजन खनालको नाम सिफारिस गरेको थियो ।

को हुन् नयाँ गभर्नर अधिकारी ?

अर्थमन्त्री डा. खतिवडा गभर्नर हुँदा अधिकरी वरिष्ठ डेपुटी गभर्नर थिए। हाल अधिकारी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत रहेका अधिकारी अर्थमन्त्री डा. खतिवडाका रोजाईका व्यक्ति हुन् । अधिकारी वि.सं.२०२० सालमा खोटाङमा जन्मिएका अधिकारी नेकपानिकटस्थ मानिन्छन्।

तत्कालीन गभर्नर नेपाल नियुक्ति हुँदासमेत अधिकारी गभर्नरका लागि तीनजनामा परेका थिए । नेपालले यही चैत ५ गते गभर्नरको पाँचवर्षे कार्यकाल पूरा गरेर अवकाश पाएका थिए । सिफारिश समितिले गभर्नरका लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानून क्षेत्रको लब्धप्रतिष्ठित व्यक्तिमध्येबाट दुईजना छान्नुपर्ने कानूनी व्यवस्था रहेको छ ।

यस्तै एकजना भने राष्ट्र बैंकका डेपुटी गभर्नरमध्येबाट छान्नुपर्ने प्रावधान छ । सोही व्यवस्थाअनुसार नै अधिकारीलाई नियुक्त गरिएको हो । अधिकारीले भारतबाट चार्टर्ड एकाउन्टेन्टको अध्ययन पूरा गरेका छन् । चार्टर्ड एकाउन्टेन्टको पृष्ठभूमिबाट राष्ट्र बैंकको गभर्नर बन्ने उनी पहिलो व्यक्तित्व हुन् ।

राष्ट्र बैंकमा रहेर डेपुटी गभर्नरको महत्वपूर्ण भूमिकासमेत सफलतापूर्वक निर्वाह गर्नुभएका अधिकारी पछिल्लो चार वर्षदेखि लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत छन् । अधिकारीले बोर्डको प्रमुख कार्यकारी अधिकृत भएर दुईवटा अन्तर्राष्ट्रिय लगानी सम्मेलनको समेत आयोजना गरेका थिए ।

बोर्डले संयोजन गरेका केही आयोजना कार्यान्वयनको चरणमा छन् । भारतीय कम्पनी सतलज विद्युत् निगमले सङ्खुवासभामा ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

यस्तै नेपाली साझेदारसहित चिनियाँ लगानीकर्ता समूहले होङ्सी शिवम् सिमेन्ट उद्योग सञ्चालनमा ल्याइसकेको छ । यस्तै धादिङमा अर्को चिनियाँ समूहले ह्वासिन सिमेन्ट उद्योग सञ्चालनमा ल्याउने तयारी गरेको छ । अधिकारीले ‘बिजिनेस एड्मिनिस्ट्रेशन’ मा सन् १९८९ मा स्नातक गर्नुभएको छभने भारतबाट १९९३ मा चार्टर्ड एकाउन्टेन्टको डिग्री लिएका छन् ।

केन्द्रीय बैंकको वित्तीय व्यवस्थापन, बैंकिङ अफिस, बैंक सुपरिवेक्षण, बैंक तथा वित्तीय संस्था नियमन विभागमा बसेर काम गरिसकेको अनुभव अधिकारीसँग छ ।

कोरोनाको कहरका कारण विश्वव्यापीरुपमा नै अर्थतन्त्रमा सङ्कट देखापरेको छ । त्यसको असरबाट नेपालसमेत अछुतो रहनसकेको छैन । यस्तो विषम अवस्थालाई अर्थतन्त्रलाई सुधार गर्दै लयमा ल्याउनु नै अधिकारीका लागि तत्कालको महत्वपूर्ण कार्यभार रहेको छ ।

कोरोना सङ्क्रमणका कारण विश्व आर्थिक मन्दीको अवस्था र त्यसले नेपालको आर्थिक क्षेत्रमा पार्ने प्रभावलाई कम गर्न सरकार, निजी क्षेत्र तथा अन्य सरोकार भएका निकायसँग समन्वय गर्नुपर्ने धरातलीय यथार्थ रहेको छ । बैंकिङ क्षेत्रलाई कोरोनाले पार्ने प्रभाव कम गर्दै सही दिशामा लैजानसमेत उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेको छ ।

तत्कालीन गभर्नर डा नेपालले नेपालको वित्तीय क्षेत्रमा गरेका केही सुधारमा समेत अधिकारीको भूमिका थियो ।  केन्द्रीय बैंकको नेतृत्व सम्हाल्दै गर्दा अधिकारीले अघिल्ला गभर्नरले अगाडि बढाउनुभएको ‘बिग मर्जर’, बैंकिङ सुशासन र वित्तीय साक्षरता अभिवृद्धिका लागिसमेत काम गर्नुपर्ने अवस्था छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७