एम्बुलेन्सले कोरोना बिरामी बोक्नेसम्बन्धी भयो यस्तो समझदारी


प्रकाशित मिति : 6 April, 2020 6:23 pm

काठमाडौं, २४ चैत । नेपाल एम्बुलेन्स सेवा (फोन नं १०२) ले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा उपत्यकाभित्र सञ्चालन गर्दै आएका पाँच एम्बुलेन्सलाई कोरोना भाइरस सङ्क्रमित बिरामी बोक्न आवश्यक तयारी गरेको छ ।

कोरोना भाइरस सङ्क्रमित बिरामीका लागि एम्बुलेन्स सञ्चालनमा ल्याउन आवश्यक पर्ने आपत्कालीन स्वास्थ्य प्राविधिक र एम्बुलेन्स चालकलाई आवश्यक पर्ने पिपिई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराई आजदेखि सेवा प्रदान गर्ने समझदारी भएको छ ।

कोरोना भाइरस महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि स्थापना गरिएको नेपाली सेनाको छाउनीस्थित ‘कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र अपरेशन’ (सिसिएमसी ओप्स) मा स्वास्थ्य मन्त्रालय र एम्बुलेन्स सेवाबीच आज उक्त समझदारीमा हस्ताक्षर भएको हो ।

उक्त समझदारीअनुसार नेपाल एम्बुलेन्स सेवाको क्षमता अभिवृद्धि गर्न स्वास्थ्य मन्त्रालयका चार र काठमाडौँ महानगरपालिकाको एक गरी पाँचवटा थप एम्बुलेन्सलाई कोरोना भाइरससम्बन्धी बिरामीलाई सेवा प्रदान गर्न मिल्ने गरी तयार पारी एम्बुलेन्स सेवाअन्तर्गत सञ्चालनमा ल्याइने छ ।

उल्लिखित एम्बुलेन्स सञ्चालनमा आपत्कालीन स्वास्थ्य प्राविधिकको थप आवश्यकता भएमा सुरक्षा निकायहरु (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल) बाट दक्ष जनशक्ति (एम्बुलेन्स चालक तथा स्वास्थ्यकर्मी) उपलब्ध गराइने सेनाको सिसिएमसी ओप्सले जनाएको छ ।

साथै सञ्चालनमा आउने थप एम्बुलेन्सका लागि बढ्न जाने आर्थिक व्ययभार हाललाई काठमाडौँ महानगरपालिकाले नै व्यहोर्ने समेत उक्त समझदारीमा उल्लेख छ । उक्त कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, सिसिएमसी ओप्सअन्तर्गतका क्लस्टर संयोजकलगायत अन्य विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्