इतिहासमै पहिलोपल्ट बालाजु बाइसधारा मेला स्थगित


२५ चैत्र २०७६, मंगलवार
22 dhara balaju

काठमाडौं, २५ चैत । हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन लाग्ने बालाजु बाइसधाराको मेला यस वर्ष कोभिड– १९ का कारण स्थगन गरिएको छ ।

कोरोना भाइरस एक व्यक्तिबाट अर्काे व्यक्तिमा सजिलै सर्ने भएकाले यस वर्ष बुधबार मेला आयोजना नगरिए पनि पूजाराधना भने गरिने बालाजु बाइसधारा मूल पुजारी थकाली धनलाल महर्जनले बताए ।

विभिन्न समयमा भएका राजनीतिक र अन्य विषम परिस्थितिमा समेत सो मेलाले निरन्तरता पाएको थियो । बाइधारा क्षेत्रवासी एवं शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले पनि सदियौँदेखि चलिआएको यो मेला यस वर्ष स्थगन गरिएको बताए ।

मन्त्री मानन्धरले यो जात्रा अर्थात् मेला इतिहासमा पहिलो पटक स्थगन भएको बताउँदै नित्य पूजा र अन्य पूजा भने चलिरहने व्यवस्था मिलाइएको जानकारी दिए । जात्राका दिन बाइसधारामा स्नान गरी मृत आफन्तका नाममा बत्ती बाल्ने परम्परा छ ।

यसै दिन नुवाकोटको कडल्चोक भगवतीलाई पनि बालाजुमा ल्याएर त्यहाँ रहेको हालको सेतो पाटीमा राखी हवन तथा राँगाको बलि दिइन्छ । मनमैजु देवीको जात्रासँग पनि बालाजु बाइसधाराको प्रसङ्ग जोडिएको छ । नेवार समुदायले मनाउने ल्हुती पूर्णिमाको मेलासँगै मनमैजु जात्रा पनि शुरु हुने परम्परा थियो ।

यस दिन बालाजुको बाइसधारामा नुहाएर मनमैजु देवीको दर्शन गरेमा आफ्नो मनोकामना पूरा हुने धार्मिक जनविश्वास छ । बाइसधारामा नुहाउँदा छालाका रोग समेत निको हुने भक्तजन बताउँछन् । किंवदन्तीअनुसार विपस्वी बुद्धले कमलको फूल रोपेर मन्त्रोच्चारण गर्दा यहाँ स्वयम्भू ज्योतिरुप उत्पत्ति भएको थियो । यसै मान्यतानुसार बाइसधारा जात्रा मनाइने चलन रहिआएको मानिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७