चर्चित प्रशिक्षक राडोमिर एन्टिकको निधन


२६ चैत्र २०७६, बुधबार
adomir antik 20200408012506

काठमाडौं, २६ चैत । चर्चित फुटबल प्रशिक्षक राडोमिर एन्टिकको निधन भएको छ । एन्टिकको ७१ वर्षको उमेरमा सोमबार राति स्पेनको म्याड्रिडमा निधन भएको हो । उनले डिफेन्डरको भूमिकामा विभिन्न क्लबबाट व्यावसायिक फुटबल पनि खेलेका थिए ।

एन्टिकले सर्बियन क्लब पार्टिजन, टर्कीको फेनरबाच, स्पेनिस क्लब रियल जारागोजा र इङ्लिस क्लब लुटन टाउनबाट पनि व्यावसायिक फुटबल खेलेका थिए । एन्टिकले सन् १९७३ मा युगोस्लाभियाको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय फुटबल खेलेका थिए । सन् १९८० देखि सन् १९८४ सम्म लुटन टाउनमा रहँदा उनले व्यावसायिक खेलजीवन निकै उचाइमा पुगेको थियो ।

तर, विश्व फुटबलमा उनी खेलाडीको रूपमा भन्दा पनि कुशल प्रशिक्षकका रूपमा चर्चित थिए । उनले चर्चित युरोपियन क्लब एट्लेटिको म्याड्रिड, बार्सिलोना र रियल म्याड्रिडमा पनि प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । एट्लेटिको म्याड्रिडको प्रशिक्षकका रूपमा उनले क्लबलाई सन् १९९६ मा स्पेनिस ला लिगा र कोपा डेल रेको उपाधि चुमाएका थिए ।

एन्टिक सन् १९९१ मा रियल म्याड्रिडको प्रशिक्षक बनेका थिए । सन् २००३ मा उनले बार्सिलोनाको प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । त्यतिबेला उनी रियल म्याड्रिड र बार्सिलोना दुवै क्लबमा प्रशिक्षकको भूमिका निर्वाह गर्ने विश्वकै दोस्रो प्रशिक्षक पनि बनेका थिए ।

सन् २००८ देखि सन् २०१० सम्म उनी सर्बियन राष्ट्रिय टोलीको प्रशिक्षक बनेका थिए । यसदेखि बाहेक उनले स्पेनिस क्लब रियल जारागोजा र सेल्टा भिगोमा पनि प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । एन्टिकले व्यावसायिक फुटबल खेलेको र प्रशिक्षकको भूमिका निर्वाह गरेको सबै क्लबले उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।

यसैबीच, इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्ट सिटीका चर्चित प्रशिक्षक पेप ग्वार्डिओलाको आमाको निधन भएको छ । डलर्स सला कारियोको ८२ वर्षको उमेरमा सोमबार राति स्पेनको बार्सिलोनामा निधन भएको हो । हाल विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण उनको निधन भएको समाचारमा जनाइएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७