स्वाब संकलनमा सास्ती : मेसिनले नधान्दा काठमाडौं पठाइयो स्वाब


२६ चैत्र २०७६, बुधबार
swab sankalan gardai jumla 0742020041418 1000x0 1

सुर्खेत, २६ चैत । संघीय सरकारले पठाएको कोभिड–१९ को स्वाब परीक्षण गर्ने आरटी–पीसीआर (रियल टाइम–पोलिमरेज चेन रियाक्सन) मेसिनले भार धान्न नसक्दा स्वाब काठमाडौं पठाउन थालिएको छ ।

मंगलबार मात्र १५ वटा स्वाबको नमुना काठमाडौं पठाइएको प्रदेश अस्पतालस्थित कोरोना परीक्षण प्रयोगशालाले जनाएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयबाट प्रयोगशाला व्यवस्थापनका लागि खटिएका फोकल पर्सन ओम आचार्यका अनुसार सुर्खेतमा रहेको मेसिनले एक दिनमा करिब १२ वटा स्वाब परीक्षण गर्न सक्छ ।
पछिल्लो समय परीक्षण क्षमताभन्दा दोब्बर स्वाब संकलन भइरहेको छ । ‘हामी त चौबिसै घण्टा

खटिएका छौं तर मेसिनले साथ दिइरहेको छैन,’ उनले भने, ‘एक त मेसिनको क्षमता कम, अर्को्तिर ‘रेस्ट’ दिइरहनुपर्ने रहेछ, यसले गर्दा सोचेअनुसार परिमाणमा परीक्षण गर्न सकिएको छैन ।’ यसअघि एक दिनमा १५ वटा परीक्षण गर्दा रिपोर्टमै समस्या आएपछि संख्या घटाइएको उनले बताए ।

आचार्यका अनुसार काठमाडौंमा रहेको मेसिनले एक पटकमा ९६ वटा नमुना ‘प्रोसेस’ गर्न सक्छ भने यहाँको मेसिनले एक पटकमा एउटा मात्र गर्न सक्छ । संकलन भएका स्वाबको नतिजा छिटो आओस् भनेर मंगलबार बिहानै एम्बुलेन्समा काठमाडौं पठाइएको उनले जानकारी दिए ।

सुर्खेतमा बिहीबारदेखि पीसीआर परीक्षण सुरु गरिएको हो । मंगलबारसम्म प्रगोगशालामा ६० जनाको स्वाब परीक्षण गरिएकामा सबैको नतिजा ‘नेगेटिभ’ आएको आचार्यले बताए । उनका अनुसार अहिले सुर्खेत बाहेकका जिल्लाको पनि नमुना संकलन गर्ने कार्यलाई तीव्र पारिएको छ ।

काठमाडौं पठाइएका १५ वटा नमुना दैलेख र कालीकोटका बासिन्दाको रहेको उनले बताए ।
सुर्खेतस्थित प्रयोगशालामा काठमाडौंबाट आएका माइक्रोबायोलोजिस्ट रामकृष्ण श्रेष्ठको नेतृत्वमा १० जनाको ल्याब प्राविधिक टोलीले परीक्षणको काम गरिरहेको छ ।

तीमध्ये ६ जना ल्याब केन्द्रमा रहन्छन् भने भने चार जना नमुना संकलनमा खटिने गरेका छन् । प्राविधिकका अनुसार संकलित स्वाब ढिलोमा ७२ घण्टाभित्र परीक्षणका लागि सिस्टममा राखिसक्नुपर्छ ।

‘भोलि बिरामीको चाप धेरै भयो भने समयमै स्वाब परीक्षणमा बाधा हुन सक्छ,’ फोकल पर्सन आचार्यले भने, ‘यही मेसिन रहेको अवस्थामा नमुना संकलन गरेर काठमाडौं पठाउनुको विकल्प रहँदैन ।’ संकलित स्वाब बिहान ५ देखि राति १० बजेसम्म परीक्षण हुने गरेको उनले बताए ।

स्वाब संकलनमा सास्ती
ग्रामीण क्षेत्रमा सम्भावित संक्रमितको स्वाबको नमुना लिने कार्य निकै सुस्त रहेको छ । मंगलबारसम्म ७५ जनाको स्वाब संकलन भएको छ । तीमध्ये ६० स्वाब सुर्खेतका हुन् ।मेसिनको न्यून क्षमता, जनशक्ति अभाव र भौगोलिक विकटताको कारण अपेक्षित मात्रामा स्वाब संकलन गर्न नसकिएको स्वास्थ्य निर्देशनालयको भनाइ छ ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले चैत १६ गते सार्वजनिक गरेको तथ्यांकअनुसार भारतलगायत संक्रमित मुलुकबाट करिब ८ हजार ७ सय व्यक्ति गाउँमा पुगेका छन् ।

सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले स्थानीय तहसँग समन्वय गरी तथ्यांक संकलन गरिरहेकाले यो संख्या अझ बढ्न सक्ने स्वास्थ्य निर्देशनालयकी निर्देशक रीता भण्डारी बताउँछिन् । उनका अनुसार प्रदेश सरकार र स्थानीय तहले बनाएका क्वारेन्टाइनमा ७ सय ४३ जना बसिरहेका छन् ।

क्वारेन्टाइनमा बसेका र संक्रमित मुलुकबाट सिधै गाउँमा पुगेकाको स्वाब संकलन भने निकै सुस्त छ । निर्देशक भण्डारीका अनुसार विभिन्न हेल्थ डेस्क र जिल्लाहरूले पठाएको रिपोर्टका आधारमा हाल २ हजार ५३ जनाको स्वाब परीक्षण गर्नुपर्ने अवस्था छ ।

‘हामीले मेसिनको क्षमता र बिरामीको अवस्था हेरेर स्वाब परीक्षण गरिरहेका छौं,’ उनले भनिन्, ‘भोलि संक्रमितको संख्या देखियो भने इमर्जेन्सी बिरामीको स्वाब सुर्खेतमा र अन्य बिरामीको स्वाब काठमाडौं पठाउने गरी व्यवस्था मिलाउँछौं ।’ कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७