पत्रकारलाई कांग्रेस जिल्ला सभापतिको धम्की : होश गर्नु ज्यान पनि जान सक्छ


२६ चैत्र २०७६, बुधबार
nepali congress 1

खोटाङ, २६ चैत । समाचार लेखेको विषयलाई लिएर नेपाली कांग्रेस खोटाङका सभापति नरेशकुमार श्रेष्ठले पत्रकारलाई धम्क्याएको प्रति नेपाल पत्रकार महासङ्घ, खोटाङ शाखाले आपत्ति जनाएको छ ।

क्वारेन्टाइनमा नागरिक राख्न कांग्रेस सभापति श्रेष्ठको असहयोगबारे समाचार प्रकाशन भएको विषयमा श्रष्ेठले पत्रकार उत्तम चौलागाईंलाई ज्यान मार्ने धम्की दिएको शाखाले जनाएको छ ।

समाचारप्रति चित्त नबुझे खण्डन गर्ने वा त्यसको कानूनी उपचार खोज्ने वैधानिक विधि र पद्धति हुँदाहुँदै पत्रकार चौलागाईंलाई सभापति श्रेष्ठले धम्क्याएको शाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कोरोना भाइरसबाट बच्नुपर्ने यस्तो विषम परिस्थितिमा पनि ज्यानको पर्वाह नगरी समाचार लेख्ने पत्रकारलाई प्रोत्साहित गर्नुको सट्टा असुरक्षा महसुस हुने गरी धम्क्याउनु सिङ्गो पत्रकारिता जगत्का लागि दुखद् विषय भएको शाखाको ठहर छ ।

शाखाका अध्यक्ष दमन राईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो जिम्मेवार व्यक्तिबाट अपेक्षा गर्न सकिने व्यवहार पटक्कै होइन । तसर्थ संविधानले ग्यारेन्टी गरेको पूर्ण प्रेस स्वतन्त्रताको रक्षा गर्दै निर्वाध र स्वतन्त्रतापूर्वक पत्रकारिता गर्ने वातावरण बनाउन सरकार तथा सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँछौँ । साथै पत्रकार चौलागाईंको सुरक्षाका लागि सम्बन्धित पक्षसँग जोडदार माग गर्दछौँ ।’

सभापति श्रेष्ठले पत्रकार चौलागाईंलाई समाचारको विषयलाई लिएर ‘पैसामा बिकेर समाचार किन लेखेको ? होस् गर्नु ज्यान पनि जान सक्छ ।’ भनी धम्क्याएको राईको विज्ञप्तिमा उल्लेख छ । सभापति श्रेष्ठले फोनमार्फत धम्क्याएको अडियो रेकर्ड आफूसँग सुरक्षित रहेको पत्रकार चौलागाईंले बताए ।

हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम स्वास्थ्य चौकीको क्वारेन्टाइनमा कोरोना भाइरसको सङ्क्रमण भएको आशङ्का गरिएका व्यक्तिलाई राख्ने क्रममा सभापति श्रेष्ठले अवरोध गरेका थिए ।

श्रेष्ठको असहयोग र अभिव्यक्तिप्रति काँग्रेसकै भातृ सङ्गठनले समेत विरोध जनाएका छन् । बिरामीलाई क्वारेन्टाइनमा राख्न नदिन हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राईलाई दबाब दिएको भन्दै काँग्रेसकै १० भातृ सङ्गठनले सोमबार विज्ञप्तिमार्फत विरोध जनाएका थिए ।

पत्रकार चौलागाईं कांग्रेस निकट नेपाल प्रेस युनियन खोटाङका अध्यक्ष समेत हुन् । कान्तिपुर टेलिभिजनका खोटाङ संवाददाता चौलागाईं प्रभाव न्यूज डटकमका प्रबन्ध सम्पादक हुन् ।

सभापति श्रेष्ठले भने सो विषय पार्टीभित्रको आन्तरिक सवाल भएको र आफूलाई बदनाम गरिएको जनाए । सभापति श्रेष्ठले यसअघि दिक्तेलस्थित माउण्ट एभरेष्ट बोर्डिङ स्कूलमा क्वारेन्टाइन नबनाउन दबाब दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७