अछामको छाउगोठभित्रै १२ बढीको मृत्यु

छाउगोठलाई छोएन चेतनाले

अछाम : सरकारले छाउ प्रथालाई अन्धविश्वास र कुरीति भन्दै सचेतनाको धेरै काम गरे पनि अछामका छाउगोठहरुलाई यसले छुन सकेको छैन ।

अछामको छाउगोठको अवस्था अझै सुध्रिन सकेको छैन । धेरै गाउँका महिला अहिले पनि छाउ बार्नुपर्ने बाध्यतामा छन् । परम्परा जस्तै बनेको यो समस्या न्युनीकरण गर्न कठिन छ । कतिपय गाउँ तयारी बिना धमाधम छाउगोठमुक्त घोषणा पनि गरियो । तर, महिलाहरु भने ढुक्कसँग घर फर्किन सकेनन् । ‘छाउ हुँदा घरमा बस्नु त टाढाको कुरा हो’– अधिकारकर्मी पशुपति कुँवर भन्छिन्–‘लसपस समेत गर्न नमिल्ने परम्परा छ ।’ उनका अनुसार रजश्वलाको समयमा दूध, दहीलगायतका अन्य पोषिलो खानेकुरा पनि प्रतिबन्ध लगाइन्छ । यो बेला नछुइने भएकी, छुइनेरी, पाखा सरेकी जस्ता विभेदपूर्ण भाषा प्रयोग गरिन्छ । सुत्केरी अवस्थाका महिलाले पनि यस्तैगरी छाउ बार्नुपर्ने बाध्यता छ ।
साँघुरो गोठ, ढुङ्गाको ओडार र खुला आकाशमुनि रात कटाउँदै आएका महिलाको पीडा शब्दमा वर्णन गर्न सकिन्न । शुरुमा जिउ सुन्निने, चिसोले कठ्यांग्रिने जस्ता समस्या त उनीहरुका लागि नियमितता जस्तै भईसकेको छ । महिनावारी भएका महिला घरमा बस्दा देवता रिसाउने, सर्प बाघ भालुको डर हुने र आगलागी हुने जस्ता गलत बुझाइले छाउपडी कुप्रथा पूरै हट्न नसकेको हो ।

अहिले स्थानीय निकायका प्रतिनिधिहरुले सर्वपक्षीय बैठकमार्फत महिनावारी भएको बेला महिलालाई छाउपडी गोठमा राख्ने परिवारलाई सामाजिक रुपमा बहिष्कार गर्ने समेत निर्णय गरेपछि केही सुधारको संकेत देखिएको छ । सरकारी स्तरबाट प्रदान गरिने सबै सेवा सुविधाबाट वञ्चित गरिने जस्ता कडा निर्णय पनि गरेका छन् । ११ वर्षदेखि महिला तथा बालबालिका कार्यालय अछामसँगै एक दर्जनभन्दा धेरै संघसंस्थाले छाउपडीविरुद्ध काम गरिरहेका छन् । कुप्रथाविरुद्ध सचेतना फैलाउनेदेखि सामाजिक अभियानमा महिलाको सहभागिता गराउने काम पनि ती संस्थाहरुले गरिरहेका छन् । तर, जे जति लगानी गरियो त्यस अनुसारको प्रतिफल भने पाइएन । जिल्लामा गोठमुक्त अभियान चले पनि पछिल्लो करीब डेढ दशकको अवधिमा गोठमै १२ महिलाले ज्यान गुमाउनु परेको तथ्याङ्क छ । पछिल्लो पटक छाउपडी ‘फौजदारी अपराध’ बनेको कानुनले धेरैजसो महिला तथा किशोरीहरु खुशी भएका छन् भने धामीझाँक्रीलाई झस्काएको छ ।

छाउठोठ बस्नु पर्ने वाध्यता किन ?

देवी–देवताले अनिष्ट गर्ने डर नै छाउगोठमा बस्नुको पहिलो कारण हो । महिनावारी हुँदा घरमा बसे आगलागी हुने, जनधनको क्षति हुने र कुनै पनि काम सफल नहुने अन्धविश्वासकै कारण महिलाहरु एक्काइसौं शताब्दीमा समेत गोठमै बस्न बाध्य छन् ।

कतिपय महिला अहिले पनि निरन्तर छाउ बार्दै आएका छन् । ‘महिनाका सात दिन साँघुरो गोठमै बस्नु पर्छ’–उनीहरु भन्छन्–‘त्यस्तो बेला घरमा बसे देवताले साह«ै सताउँछ । हुने नहुने अनेक समस्या आइलाग्छन् ।’ यसबारे सम्झाउन खोज्दा बूढापाका उल्टै जाइलाग्ने गरेको स्थानीय अगुवा महिलाहरुको भनाइ छ । होचा छाउगोठ र त्यसैमा सामुहिक रुपमा बस्नुपर्ने महिलाहरुको बाध्यता छ । यस्तो बेला यौनजन्य रोग सर्ने खतरा अत्यधिक हुने गरेको जिल्ला अस्पताल अछामका निमित्त प्रमुख झनकराज ढुङ्गानाले बताए ।
‘यस्तो बेला रोग सर्ने डर बढी हुन्छ’–उनी भन्छन्–‘सकेसम्म घरमै बस्दा राम्रो । त्यति गर्न नसकिए एक्लै बस्नु ठिक हुन्छ ।’ एचआइभी मात्र नभई अन्य छालासम्बन्धी र श्वासप्रश्वासलगायतका रोग पनि सर्ने गरेको उनले बताए

छाउगोठमा क–कसको गयो ज्यान गयो ?
१) रोशनी तिरुवा–गाज्रा
२) डम्मरा उपाध्याय–तिमिल्सैन
३) शर्मिला भुल–रिडिकोट
४) लक्ष्मी बुढा–ढकारी
५) झुमादेवी शाही–बारला
६) डिक्रादेवी ढकाल–वीरपथ
७) रतनदेवी विक–पायल
८) झुप्री ढोली–पायल
९) पार्वती दमाई–पायल
१०) हंसा जैसी–नाडा
११) हंसदेवी जोशी–रानीवन
१२) गौरी बुढा–तुर्माखाँद

प्रतिक्रिया दिनुहोस्