क. रत्नकुमार बान्तवा अर्थात् पूर्वको लाल तारा


२७ चैत्र २०७६, बिहीबार
ratna kumar bantawa

आज चैत २७ गते । पूर्वको लाल तारा रत्नकुमार वान्तावाको ६९ औं जन्म दिन तथा ४१ औं स्मृदि दिवस । आजकै दिन अर्थात् २०३५ साल चैत २७ गते पञ्चायती फासिस्टबाट क. वान्तवा मारिनु भयो । आजको दिन नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा कहिल्यै नबिर्सने दिन । नेपालको कम्युनिष्ट आन्दोलनले एउटा उज्यालो लाल तारा गुमाएको पीडादायी दिन पनि ।

पूर्वको लाल तारा अर्थात नेपाली बाम आन्दोलनका क्रान्तिकारी योद्धा शहीद रत्नकुमार बान्तवाले सहादत प्राप्त गरेको दिन हो आज । कमरेड रत्नकुमार बान्तवाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँले प्रगतिशिल समाज निर्माणमा पुर्‍याउनु भएको योगदानप्रति उच्च कदर गर्दै एक अविचलित, निडर र महान् नेताको रुपमा उहाँलाई ह्दयदेखि नै श्रद्धासुमन अर्पण गर्दछु ।

नेपालमा रहेको जहानीया निरंकश राजतन्त्र मासेर जनताको जनवादी राज्यसत्ता स्थापना गर्ने उद्देश्यका साथ २०३२ सालमा गठित अखिल नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी को–अर्डिनेशन इलाम जिल्ला कमिटीको सदस्य र सचिव हुँदै २०३५ सालमा स्थापित नेकपा (माले) को केन्द्रिय कमिटीको जिम्मेवारीमा हुुनुहुन्थ्यो ।

नेपालको सुदूर–पूर्व क्षेत्रका इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमको पार्टी संगठनको भूमिकामा हुनुहुन्थ्यो । समाजमा रहेको कुरिती, कुसंस्कार र अन्धविश्वाससँग जुध्दै, विभिन्न लेख रचनामार्फत माक्र्सवादी विचार पस्कदै साथै आफ्नो घरको मतान कोठाबाट सुरुङ खनि सुरुङभित्र बैठक कक्ष निर्माण गर्नु भएको थियो ।

आज हेर्दा उहाँ एक कुशल संगठक, सिर्जनशिल, चमत्कारकर्ता साथै उहाँका चतुर हातले निर्माण भएको सुरुङ्ग हेर्दा सम्पूर्ण प्राकृतिक शक्तिहरुको खानी र बिशेषतालेयुक्त क्रान्तिकारी योद्धा हुनुहुन्छ । कमरेड रत्न तपाई न्यायप्रेमी नेपाली जनताबीच आदरणीय बन्नु भएको छ र अमर रहनु भएको छ ।

नेपाली बामपन्थी आन्दोलनका योद्धा शहीद रत्नकुमार बान्तवाले सामन्ती राज्य व्यवस्थाको अन्त्य र गणतन्त्र नेपाल निर्माणको आन्दोलनमा पार्टी संगठनको सिलसिलामा बि. संं. २०३५ चैत्र २७ गते इलाम जिल्लाको इभाङमा तत्कालीन पञ्चायत सत्ताधारी प्रहरीले गोली हानी हत्या ग¥यो । एउटा संयोग २००८ साल चैत्र २७ गते जन्मिएर २०३५ साल चैत्र २७ गतेका दिन २७ बर्षको उमेरमा सहादत प्राप्त गर्नु भयो ।

भनिन्छ, ‘संसारमा महान मानवहरुको मात्र जन्म र मृत्युको संयोग सँगै जुरेको हुन्छ ।’ उहाँले आफ्नोे मूल्य–मान्यता र सिद्धान्तप्रति निष्ठा राख्दै बलिदान दिनु भयो । आज हामी लोकतान्त्रिक आन्दोलनलाई जुन उचाइबाट व्याख्या गर्दछौं, त्यसको सबै भन्दा ठूलो प्रेरणाको श्रोत कमरेड रत्नकुमार बान्तवा जस्ता शहीदहरुको त्याग, बलिदान र सर्मपण नै हुन् । उहाँको आदर्शलाई अंगिकार गर्दै बलिदान दिने थुप्रै शहीदहरुलाई सधै सम्मान गर्नु पर्दछ, कहिल्यै बिर्सनु हुँदैन ।

आज नेपालको लोकतान्त्रिक र बामपन्थी आन्दोलनले जुन उचाइ प्राप्त भएको छ, त्यसलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको शक्तिशाली बामपन्थी सरकारले जनतालाई आत्मनिर्भर, सुखी र समृद्धशाली बनाई प्रत्येक नेपालीहरुको अनुहारमा खुशी तुल्याउनु नै कमरेड रत्न जस्ता शहीदहरुको सपना साकार पार्नु हो । त्यही हुनेछ–कमरेड रत्नकुमार बान्तवाप्रति साँचो श्रद्धाञ्जली !!

(लेखक, रत्नकुमार बान्तवा खेलकुद तथा अध्ययन केन्द्रका अध्यक्ष एंव केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ, नेपालका केन्द्रीय सदस्य हुन्)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७