स्वर्गद्वारी आश्रम संकटमा


२८ चैत्र २०७६, शुक्रबार
BDP Pokhara 062119 sworgadawari1 scaled

प्युठान, २८ चैत । नेपालका प्रमुख धाममध्ये महत्वपूर्ण धार्मिक तथा पर्यटकीयस्थल स्वर्गद्वारी कोभिड– १९ संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण आर्थिक संकटमा परेको छ ।

स्वर्गद्वारीमा रहेका गाईको हेरचाह, खाद्यान्नलगायत अन्य व्यवस्थापन हुन नसक्दा संकट उत्पन्न भएको हो । स्वर्गद्वारी दर्शनार्थीबाट उठेको भेटीका भरमा चल्दै आएको छ । अहिले लकडाउनपछि स्वर्गद्वारी दर्शनका लागि दर्शनार्थी आउन रोकिँदा गाईलाई दाना, घाँस, कामदारको समेत अभाव भएपछि संकटमा परेको स्वर्गद्वारी आश्रमले जनाएको छ ।

आश्रममा १५० कर्मचारी छन् । संस्कृत पढ्न ८५ जना वटुक रहेका छन् । स्वर्गद्वारी आश्रमका नाममा दाङका तुल्सीपुर र लमही तथा प्युठानको स्वर्गद्वारीमा ६५० गाई पालिएका छन् । तीमध्ये स्वर्गद्वारी आश्रममा मात्रै ४५० छन् ।

स्वर्गद्वारीमा रहेका गाईका लागि दैनिक ६ क्विन्टल दाना खपत हुन्छ । त्यो तुल्सीपुरमा रहेका उद्योगबाट ल्याउँदै आइएको थियो । अहिले उद्योग बन्द हुँदा दाना ढुवानी रोकिएको छ ।

विद्यार्थी, आश्रमका साधुसन्त, ब्राह्मणका गरी दैनिक कम्तीमा २२५ जनाका लागि भोजन तयार हुन्छ । हरेक वर्ष वैशाख शुक्ल पूर्णिमा र कार्तिक कृष्ण औंसीमा स्वर्गद्वारी दर्शन गर्न आउनेको भीड लाग्छ । यही समयमा मन्दिरमा सबैभन्दा बढी भेटी संकलन हुने गर्छ । चैत र वैशाख स्वर्गद्वारीमा सबैभन्दा बढी दर्शनार्थी आउने महिना हुन् ।

कोरोना संक्रमणको पूर्वरोकथामको तयारीस्वरुप गरिएको लकडाउनका कारण चैतभर स्वर्गद्वारी आउने पर्यटकको संख्या शून्य भएको छ । स्वर्गद्वारीमा आउने तीर्थालु पर्यटक नहुँदा संकट उत्पन्न भएको स्वर्गद्वारी आश्रमका कोठरी तामुप्रसाद न्यौपानेले जानकारी दिए ।

‘तीर्थाटनमा आएका दर्शनार्थीको भेटीको भरमा जेनतेन गुजारा भइरहेको थियो’, कोठरी न्यौपानेले भने, ‘गाईको दाना अभाव हुँदा समस्या भइरहेको छ, खाद्यान्न धेरै कम छ र कर्मचारी समेत घरमा बसेपछि घाँसको पनि अभाव भएको छ ।’

आश्रममा सञ्चालित वेद पाठशालामा वटुक तथा शिक्षकलाई खाना, आवास र तलबमा पनि वर्षेन आश्रमले व्यहोर्नुपर्छ । ती सबैका लागि स्वर्गद्वारी आश्रमको दैनिक खर्च रु ४० हजारभन्दा बढी हुने गरेको छ ।

नियमित स्रोत अहिले रोकिएको छ आश्रमका भक्तजनको दानदक्षिणा नै प्रमुख स्रोत भएको आश्रमका प्रमुख प्रशासकीय अधिकृत हरि अधिकारीले बताए । उनले लकडाउन घोषणा भएसँंगै तीर्थालु आउन रोकिएपछि आश्रममा समस्या निम्तिएको बताए ।

आफ्ना नाममा रहेको दाङस्थित एक हजार १२ बिघा खेत जनयुद्वपछि आश्रमले उपभोग गर्न पाएको छैन । आश्रमका अनुसार त्यहाँ रहेको गुठीबाट एक हजार ७९३ क्विन्टल धान, करीब ४४० क्विन्टल तोरी र पाँच क्विन्टलजति मकै वार्षिक आम्दानी हुने गरेकामा एक दशकदेखि किसानले कुतबाली दिन छाडेका छन् ।

आश्रमले गत आर्थिक वर्षमा वार्षिक रु डेढ करोडको भेटी संकलन गरेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिए । भेटी, दान दक्षिणा प्रमुख आयस्रोत रहेकामा हाल संकटमा रहेको आश्रमले उधारोमा खाद्य पदार्थ खरीद गरी दैनिक कामकाज सञ्चालन गरेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७