मस्जिदमा भीड हटाउन गएका प्रहरीमाथि हातपात, तीन जना पक्राउ


२८ चैत्र २०७६, शुक्रबार
Nepal police

रौतहट, २८ चैत । मुस्लिमहरुको पर्व सबेबारातको पूर्वसन्ध्यामा परोहा नगरपालिकाअन्तर्गत तेजापाकड मस्जिदमा भीडभाड नगर्न सम्झाउन गएका प्रहरीमाथि हातपात भएको छ ।

मस्दिजमा एकै ठाँउमा सयौंको संख्यामा मुस्लिम जम्मा भएर नमाज पढिरहेको सूचनाका आधारमा गएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक मुनमुन सिंहउपर मुस्लिम युवाहरुले हातपात गरेका छन् ।

बिहीबार बेलुकी ७ बजे मुस्लिमहरुको एक पर्वको अवसर भन्दै तेजापाकडस्थित एउटा मस्जिदमा एकै ठाँउमा २०० बढी मानिस नमाज पढिरहेका थिए । प्रहरी सहायक निरीक्षक सिंहले लकडाउन उल्लङ्घन नगर्न र भीड गर्दा कोरोना भाइरसको सङ्क्रमण बढ्न सक्ने भनी सम्झाइरहँदा केही युवाहरुले उनीमाथि हातपात गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

घटना लगत्तै जिल्ला प्रहरी कार्यालय गौर र विभिन्न सशस्त्र प्रहरी बेस क्याम्पबाट ठूलो संख्यामा परिचालनपछि अवस्था साम्य भएको प्रहरी उपरीक्षक रविराज खड्काले बताए । प्रहरीमाथि हातपात गरेका परोहा नपा–३ का २६ वर्षीय कलाम अन्सारी, सोही ठाँउका १७ वर्षीय साजिद अन्सारी र १६ वर्षीय लालुु अन्सारीलाई नियन्त्रणमा लिएको रौतहट प्रहरी उपरीक्षक खड्काले बताए ।

अभियोग लागेका तीनै जना नियन्त्रणमा रहेको र घटनाको प्रक्रियाअनुसार मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७