हाम्रा धनीहरुको गरिबी गाथा


२८ चैत्र २०७६, शुक्रबार
Rajesh rai scaled


२५ चैत २०७६ । हामीले समाचार लेखिरहेका थियौं, ‘अर्बपति सुलभ अग्रवाल कालोबजारी गर्ने क्रममा पक्राउ ।’ ठिक त्यही दिन छिमेकी भारतका सञ्चार माध्यमहरुले लेखिरहेका थिए, ‘भारतीय अर्बपतिहरुद्वारा सरकारी कोषमा अरबौं जम्मा ।’ कोरोना (कोभिड–१९) भाइरस रोकथामका लागि भारत सरकारले स्थापना गरेको कोषमा पैसा जम्मा गर्ने भारतीय अर्बपतिहरुको लामो सूची प्रकाशित गरिहेको थियो । निकै लामो सूची थियो, ‘मुकेश अम्बानी ५०० करोड, टाटा समूह १,५०० करोड, पेटीएम समूह १५० करोड, अनिल अग्रवाल १०० करोड, राहुल बजाज १०० करोड, पंकज एम मुजाल १०० करोड…..।’ जुन सूची यहाँ उल्लेख गर्दा निकै लामो हुनजान्छ ।

हो, भारतीय सञ्चार माध्यमहरुले सरकारलाई अरबौं पैसा र अन्य स्वास्थ्य सामग्रीहरु सहयोग गरेका समाचार र तस्बिर प्रकाशन तथा प्रशारण गर्दा हामी चाँहि पक्राउ परेका हाम्रा अर्बपतिका आक्रोशपूर्ण अनुहार प्रकाशन तथा प्रशारण गर्न हामी बाध्य थियौं । ती अर्बपतिले प्रहरीलाई उल्टै धम्क्याई रहेका थिए, ‘चिनेको छस्, म को हुँ ?’

हामीले समाचार लेखिरहेका थियौं, ‘अर्बपति सुलभ अग्रवाल कालोबजारी गर्ने क्रममा पक्राउ ।’ ठिक त्यही दिन छिमेकी भारतका सञ्चार माध्यमहरुले लेखिरहेका थिए, ‘भारतीय अर्बपतिहरुद्वारा सरकारी कोषामा अरबौं जम्मा ।

अर्बपति सुलभ अग्रवाल ज्वरो नाप्ने थर्मल गन (डिजिटल थर्मोमिटर) कालोबजारी गर्ने क्रममा पक्राउ परेका थिए । सुलभ अग्रवाल जो देशकै ठूलो व्यापारिक समूह जगदम्बा समूह र शंकर समूहका सञ्चालक । नेपालका उद्योगीहरुको संगठन नेपाल उद्योग परिसंघ (सीएनआई) का उपाध्यक्ष अर्थात् अर्बपतिहरुका पनि नेता । जसलाई सरकारले सम्मानका साथ कीर्गिस्तानको अवैतनिक बाणिज्यदूत समेत बनाएको थियो । त्यसैको शक्तिमा कूटनीतिक नियोग तथा राजदूतावासले प्रयोग गर्ने गाडी चढेर साढे २४ सयमा पाइने थर्मल गन १५ देखि २६ हजारसम्म लिएर बेचिरहेका थिए । फेरि त्यो थर्मल गन सुलभ अग्रवालले सामान्य अवस्थामा व्यापारिक प्रयोजनका लागि ल्याएका थिएनन्, कल्याणकारी काम गर्छु भन्दै अर्काे प्रतिष्ठित समूह चौधरी ग्रुपले नेपाल वायु सेवा निगमको विमानबाट ल्याएका थिए । त्यही थर्मल गन उनले कूटनीतिक नियोगले प्रयोग गर्ने गाडी प्रयोग गरेर कालोबजारी गरिरहेका थिए ।

तिनै अर्बपति, जो पक्राउ परेपछि अन्य अर्बपतिहरु मात्रै होइन कारबाही गर्ने निकायमा बसेका अर्का अर्बपति मात्रै होइन उद्योग, बाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगड उनलाई छुटाउन दौडधुपमा लागे । यो नाफा नोक्सानको समय होइन । यो त यस्तो समय हो, जुन समयको प्रश्न हो, ‘यो मानव समाज सङ्लो रहन्छ या रहँदैन ?’ ठिक त्यही समयमा अर्बपतिहरुको नेता कूटनीतिक नियोगको गाडी प्रयोग गरेर कालोबजारी गरिरहेको समयमा पक्राउ पर्छन् । तथ्यहरुले भनिरहेको छ, दबाब र प्रभावमुक्त भएर प्रहरीले थप अनुसन्धान गर्ने हो भने सुलभ अग्रवालको लहरो अन्य ठूला अर्बपति र घरानाहरुसँग पनि जोडिन्छ । अर्थात् कालोबजारीमा उनीहरुको समेत ‘कनेक्सन’ छ ।

सबै मान्छेहरु बन्दाबन्दीको अवस्थामा घरभित्रै छन् । हजारौ श्रमिकहरुको चूल्हो क्रमशः चिसो चिसो बन्दै गएको छ । मानव समाजको दीर्घायुको कामना गर्नुपर्ने पीडादायी अवस्था छ । विश्व समुदायले, देशले सहयोगको याचना गरिरहेको छ । यो आलेख तयार पार्दै गर्दा विश्वका १६ लाख भन्दा मानिस संक्रमित छन् । विश्वका ९६ हजार प्रिय मान्छेहरुको शोकमा छौं । यो रङ्गिन धर्ती श्वामश्वेत छ, निरश छ । विश्वको सम्पूर्ण सरकार र मान्छेहरुको प्रयत्न र प्रयास यो पृथ्वीलाई मसानघाटबाट बन्नबाट बचाउने तर्फ छ । ठिक त्यही बेला हाम्रा अर्बपति कुटनीतिक नियोगको गाडी लिएर कालोबजारी गर्दै सडकमा हुइँकिरहेका छन् । वास्तवमा हाम्रा लागि यो भन्दा अर्को बिडम्बना के हुन सक्छ ? यो भन्दा कुरुप दृष्य अर्को के हुन सक्छ ? यो भन्दा लज्जाको बिषय अरु के हुन्छ ?

उनीहरुका धनी, हाम्रा धनी
‘विश्वव्यापी महामारी’ को रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण यतिखेर विश्व ठूलो संकटको अवस्थाबाट छ । ७० हजार वर्षको इतिहासमा मानव समाजले यतिधेरै निरह र असुरक्षित महसुस गरेको यो पहिलो पटक हो । ‘अब भोलि के होला ?’ यहि पीडादायी प्रश्नसहित मानव समाज नै ठूलो त्रासदी र अनिश्चितताको अवस्थाबाट गुज्रिरहेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) डा. टेड्रोस एड्हानोम गेहब्रेयससले भनेका छन्, ‘मानव समाज अनिश्चितताको बाटोमा छ ।’ संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले भनेका छन्, ‘कोरोना भाइरसको डढेलो मानव अस्तित्वमाथि नै खतरा हो ।’

चीनले कोरोना भाइरस त्रासदी भोगिरहेका बेला उनीहरुकै प्रिय नेता माओलाई मास्क लगाएर खिल्ली उडाउने अमेरिका र पश्चिमा मुलुकहरुले कहालीलाग्दो विविषिका झेलिरहेको छ । कोभिड–१९ को डढेलो युरोप र अमेरिकामा सल्किरहेको छ । चीनमा डढेलो क्रमः निभ्दैछ । तर, झिल्काहरु बाँकी नै छन् । फेरि त्यही झिल्काबाट डढेलो नसल्केला भन्ने कुनै ग्यारेन्टी छैन । हाम्रो छिमेकी देश भारतमा पनि क्रमशः कोरोनाको डढेलो सल्किरहेको छ ।

पृथ्वीमाथि आफ्नो सर्वोच्चता कायम गरेको मानव समाज यसबेला साँच्चीकै निरह छ । विश्वले आफूलाई असुरक्षित ठानेको छ । गरीब राष्ट्र अथवा धनी । सम्पन्न मान्छे अथवा विपन्न । कोरोना भाइरसको महामारीले यी सबै पर्खाल र सीमारेखाहरु भत्काई दिएको छ । वास्तवमा विश्व अहिले त्यो बिन्दुमा आइपुगेको छ कि सबैलाई एक अर्काको सहयोग अनिवार्य छ । यो महामारीबाट बच्न सरकारको पहल र प्रयत्नले मात्रै सम्भव छैन । नागरिक, निजी क्षेत्र सबैको प्रयत्न उत्तिकै जरुरी छ ।

चीन, अमेरिका युरोप हुँदै छिमेकी भारतसम्मलाई हेर्दा कोभिड–१९ बिरुद्धको लडाईमा केवल सरकार मात्रै छैन । सबै एकजुट भएका समाचारहरु पढ्न र हेर्न पाइन्छ । सिङ्गो मानव समाजको अस्तित्वमाथि नै संकट खनिएका बेला दुनियाँभरका उद्योगीहरुले पनि नाफा–घाटा भुलेर मानव समाजको रक्षाका खातिर जुटेका छन् ।

चीनका ज्याक मा हुन् वा भारतका मुकेश अम्बानी अथवा अमेरिकाका बिल गेट्स, मार्क जुकरवर्ग वा इटालीका अर्बपति जर्जियो अर्मानी । उनीहरु सबै कोभिड–१९ बिरुद्धको लडाईमा सरकार र नागरिकको साथमा छन् । उनीहरु भनिरहेका छन्, ‘मानव समाज रहे व्यापार भोलि गरौंला ।’

हाम्रा धनी हाम्रो साथमा छन् ?

के हाम्रा धनीहरु पनि युरोप र अमेरिका अथवा चीन र भारत वा अन्य देशका धनीहरु जसरी सरकार र नागरिकको साथमा छन् त ? उत्तर सहज छ, ‘छैनन् ।’ मुलुक र मानव समाजले विपति खेपिरहेका बेला हाम्रा धनीहरु सरकार र नागरिकको साथमा नभएर कहाँ छन् त ? यसको उत्तर खोज्दै जाने हो भने बढो बिडम्बनापूर्ण छ ।

ठिक छ, यो महासंकटमा उनीहरुले देश सम्झेनन्, निरीह नागरिकलाई सम्झेनन् । ठिक छ, उनीहरुले सहयोग गरेनन् । उनीहरु चुपचाप घरमै क्वारेन्टाइनमा बसेको मात्रै भए पनि सन्तोष मान्नु पर्ने अवस्था थियो । तर, उनीहरुले त्यसो पनि गरेका छैनन् । एकथरी धनी सुलभ अग्रवाल जस्ता । जो संकटमा कालोबजारी गरिरहेका छन् । खोज्दै गए सुलभ अग्रवाल एक्ला बदनाम भने होइनन् । राज्य संयन्त्रलाई दराे बनाएर खोज्ने हो भने सुलभ अग्रवाल जस्ता धेरै भेटिन्छन् । र, फेरि उनीहरु नै भनिरहेका छन्, ‘यो सरकारले केही गरेन ।’

अर्काथरी अर्बपति छन्, ‘बाहिर सरकार र नागरिकलाई अर्ति–उपदेश दिइरहेका ।’ सहयोगको साटो उल्टै राज्यलाई व्यापारको क्षतिपूर्ति मागिरहेका छन् । अर्काथरी यस्ता छन्, जो बाहिरी आवरणमा कल्याणकारी काम गरे जस्तो देखाएका छन् । तर, कुनै एक प्रतिपक्षी दलका लोकप्रिय मानिएका एक नेतासँगको सहकार्यमा उनीहरु नै भित्रभित्रै सरकार बिरोधी मोर्चा समेत चलाइरहेका छन् । जानकारहरु भन्छन्, ‘एकथरीका अर्बपतिहरुले ‘फण्डिङ्ग’ नै गरेर सरकारबिरुद्ध मोर्चा चलाएका छन् ।’ जानकारहरुको सूचना अनुसार यो केवल आरोप मात्रै होइन तथ्यहरुले त्यही भन्छ ।

यो समयमा सरकारबिरुद्ध मोर्चाबन्दी गर्नु मानव समाजमाथिकै मोर्चाबन्दी हो । यदि कथम्कदाचित यो महामारीमा सरकार पराजित भयो भने नेपाली मानव समाज पनि पराजित हुनेछ । देश रहे, यो मानव समाज रहे सरकार अवश्य रहने छ । सरकारविरुद्ध मोर्चाबन्दी गर्ने समय फेरि अवश्य आउने छ । सरकारविरुद्ध मोर्चाबन्दी गर्ने उपयुक्त समयकै लागि भए पनि अहिले सरकारलाई सघाउनु पर्छ भन्ने तथ्य उनीहरुले अहिलेसम्म नबुझ्नु बिडम्बनापूर्ण हो ।

यो समयमा सरकारबिरुद्ध मोर्चाबन्दी गर्नु मानव समाजमाथिकै मोर्चाबन्दी हो । यदि कथम्कदाचित यो महामारीमा सरकार पराजित भयो भने नेपाली मानव समाज पनि पराजित हुनेछ ।

हामीले सुन्ने गरेका हाम्रा धेरै धनीहरु छन् । जस्तै बिनोद चौधरी, शेष घले डा. उपेन्द्र महतो अजय सुमार्गी, आदित्य झा, जीवा लामिछाने, राजेन्द्र खेतान, चन्द्रप्रसाद ढकाल आदि आदि । हामीकहाँ अनेकौं ठूला व्यवसायिक समूह छन् । जस्तै चौधरी ग्रुप, गोल्छा अर्गनाइजेशसन, आईएमई समूह, विशाल समूह शारडा, केडिया, दुगड, खेतान, सिप्रदी, वैद्य, ज्योति, यती, भाटभटेनी, पञ्चकन्या आदि । केहि अपवाद बाहेक यी नाम र समूहले अहिलेसम्म उल्खेनीय सहयोग गरेको सुखद समाचार आएका छैनन् ।

तथ्याङ्क अनुसार नेपालका २० प्रतिशत धनीसँग ५६.२ प्रतिशत सम्पत्ति छ । तर, यसअघिका तथ्याङ्कहरु हेर्दा पनि हाम्रा धनीहरुले मुलुक बिपत्तमा परेका बेला सहयोग गरेको देखिंदैन । तर, धनीहरुले बुझ्नु पर्छ, यो कोभिड–१९ महामारीको डढेलो हामीकहाँ पनि फैलिए त्यसले कसैलाई छोड्ने छैन । हुन त यहाँनिर पुँजीवाद र पुँजीपतीहरुको कुरुप दृश्यको विहङ्गम वहसको बिषय पनि छ । पुँजीपति वर्गले टिठ लाग्दो अनुहारको बहसको पाटो पनि छ । तर, अहिले त्यो बहसको समय होइन ।

चीनका चर्चित धनाढ्य ज्याक जो सँग हाल २७ अर्ब ९० करोड अमेरीकी डलर बराबरको सम्पत्ति छ । उनी भन्छन्, ‘ यो धर्तीमा भोलीसम्म सम्झिरहने हामीले कमाएको पैसालाई होइन हाम्रो कर्मलाई हो ।’ महात्मा गान्धीले भनेका थिए, ‘तिमि यसरी बाँच कि तिमि भोली मर्दैछौं तर यसरी सिक र काम गर कि तिमि सधैंभरी बाच्दैछौं ।’ भनिन्छ, ‘कात्रोमा कुनै खल्ती हुँदैन ।’ यो बेला हातमा क्यालकुलेटर बोकेर हिसाबकिताब गर्ने समय होइन ।  मदर टेरेसाले भनेकी छिन्, ‘यो जीवन अरुको लागि होइन भने यो जीवन नै होइन ।’ यो महासंकटको बेला हामीलाई यस्तो लाग्छ, ‘कम्तीमा हाम्रा धनीहरुले पनि सधैंभरी बाँच्ने काम गरीदिए हुनुथियो ।’ 

twitter.com/Rajsh55

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७