लकडाउन : भूकम्प र नाकाबन्दीका बेला भन्दा खाद्यान्नको मूल्य महँगो


२८ चैत्र २०७६, शुक्रबार
pasal

काठमाडौं, २८ चैत । कोभिड–१९ को जोखिम हुन नदिन ‘लकडाउन’ जारी रहेसँगै बजारमा तरकारी, फलफूल तथा खाद्यान्नको समेत मूल्य वृद्धि हुन थालेको छ । व्यवसायीले तरकारी र फलफूल धेरै नभित्रिएको तथा ढुवानी खर्च बढी लागेको जनाउँदै यसको मूल्य बढाएका हुन् ।

कतिपय व्यापारीले भूकम्प र नाकाबन्दीमा जस्तै अहिले पनि कमाउने समयका रुपमा लिएको उपभोक्ता अधिकारका क्षेत्रमा कार्यरत संघ–सस्थाले बताएका छन् । ‘लकडाउन’ जारी रहँदा चामल, दाललगायतका खाद्यान्न पनि तोकिएको भन्दा बढी मूल्यमा बिक्री हुन थालेको उपभोक्ता अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताए ।

सरकारले पर्याप्त अनुगमन नगरेकाले व्यवसायीले तोकिएको भन्दा बढी मूल्यमा खाद्यान्न बेच्ने गरेको उनले आरोप लगाए । उनले भने, ‘धेरै व्यापारीले भूकम्प नाकाबन्दीका समयमा पनि बढी मूल्य लिँदा केही भएन अहिले पनि केही हुँदैन भन्ने सोचेका छन् ।’

साँझ र बिहानको समयमा मात्रै खाद्यान्न पसल खुल्दा बजारमा यी समयमा भीडभाड हुने गरेको अध्यक्ष तिमल्सिनाले बताए । व्यापारीलाई मास्क, पञ्जालगायतका स्वास्थ्य सुरक्षा सामग्री प्रयोग गर्न र दूरी कायम गरेर मात्रै सामान दिन भनिए पनि पूर्णरुपमा पालना भइरहेको छैन । उनले भने, ‘कतिपय व्यापारीले यसलाई पालना गरे पनि कतिपयले नगरेको पाइएको छ ।’

बजार मूल्य ह्वात्तै बढेको छ । कतिपय व्यापारीले घरमै पुर्‍याए पनि सेवा (होम डेलिभरी) शुरु गरेका छन् । कम्तीमा यति मूल्यबराबरको तरकारी किन्नुपर्ने र पुर्‍याउने ज्याला तोकिएकाले त्यसको जानकारी भए पनि प्रयोग नगरेको बालकुमारीकी सीता न्यौपानेले बताइन् ।

ठूलो परिवार र सम्पन्न व्यक्तिका लागि मात्रै यो उपयुक्त हुने उनको भनाइ छ । उनले भनिन्, ‘हामीले आफै छानेर रु ५०–१०० को एक दुई छाक किन्ने मान्छेले कम्तीमा रु १५ सय दुई हजारको तरकारी कहाँ किन्न सक्छौं ।’

बजारमा अहिले तरकारी र फलफूल नपाउने समस्याभन्दा पनि महँगो पर्नु उपभोक्ताका लागि समस्या भएको अध्यक्ष तिमल्सिनाले बताए । व्यवसायीले विभिन्न स्थानबाट ल्याउँदा बढी भाडा परेकाले मूल्य बढेको बताउने गरेको उनले जानकारी दिए ।

उपत्यका आसपासका जिल्लाबाट तरकारी ल्याउन चालक–सहचालकले पहिलेभन्दा दोब्बर भाडा माग्ने गरेको व्यापारीले बताउँदै आएका छन् । उनले भने, ‘यसमा स्थानीय तहले पनि समन्वय गर्नुपर्छ, अहिले एकातिर गाउँको उत्पादन खेर गइरहेको छ भने अर्कातिर शहरी क्षेत्रमा तरकारीको मूल्य ह्वात्तै बढेको छ ।’

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका सूचना अधिकारी दीपक पोखरेलले विभागले संकटका समयमा आमउपभोक्तालाई पर्न सक्ने समस्या तत्काल सुन्न र सम्बोधन गर्न टोल फ्री नम्बर ११३७ शुरु गरेको बताए । यो टेलिफोनमा पहिले सबैभन्दा बढी ग्यास, माक्स र सेनिटाइजर नपाएको गुनासो आउने गरेको थियो ।

बजारमा पहिले आधा र अहिले पूरै सिलिन्डर ग्यासको बिक्री भइरहेकाले यी गुनासोमा कमी आएको छ । विभागले आएका गुनासोका आधारमा टोली अनुगमन गएर कुनै समस्या पाइएमा कारवाही अघि बढाएको उनको भनाइ छ ।

केही दिन पहिले मात्रै मासु र ग्यासको मूल्य तोकिएभन्दा बढीमा बिक्री गरेको भन्दै कारवाही गरिएको थियो । उनले भने, ‘टोल फ्री नम्बर १२ घण्टा खुल्ला हुन्छ र त्यसमा गुनासो आउँदा हामीले अनुगमन र कारवाही गरिरहेका छौँ ।’

कति बजेदेखि कति बजेसम्म पसल खुल्ने–खुलाउने भन्नेमा स्वयं व्यापारी, प्रहरी र स्थानीयवासी अन्योलमा छन् । मुख्य सडकमा बिहान बेलुका खोल्दा पनि प्रहरी हतारिएर बन्द गराउन आउने भए पनि उपत्यकाका कतिपय स्थानमा भित्री चोकमा दिनभर पसल खुलेको उनले बताए ।

‘लकडाउन’ का समयमा ढुवानी सहज नभएकाले पनि बजारमा पर्याप्त तरकारी नभएको उनको भनाइ छ । मागअनुसार आपूर्ति नभएकाले पनि भाउ बढेको हुनसक्ने उनले बताए । उनले भने, ‘अत्यावश्यक खाद्यान्नको सहज आपूर्तिको व्यवस्था हुनुपर्छ ।’

काठमाडौं उपत्यकाका आसपासका क्षेत्र र नजिकका जिल्लाबाट शहरी क्षेत्रमा तरकारी र दूधको आपूर्ति गर्दै आएकामा ढुवानी सहज नहुँदा त्यस क्षेत्रबाट ती सामग्री आउन सकेका छैनन् ।

खाद्य वस्तु बजारसम्म पुर्‍याउन नपाउँदा दूध र तरकारी उसै खेर गइरहेको स्थानीयवासी किसानले गुनासो गर्दै आएका छन् । उपत्यकाका काँठ क्षेत्र, धादिङ, काभ्रे, नुवाकोट, चितवनलगायत जिल्लाबाट उपत्यकामा तरकारी र दूधको आपूर्ति हुने गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७