पूर्व कप्तान भाइचुङ भुटियाको अध्यक्ष बन्ने चाहना


३० चैत्र २०७६, आईतवार
bhaichung2020 04 12 06 46 38

काठमाडौं, ३० चैत । भारतीय राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान भाइचुङ भुटियाले भविष्यमा अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ)को अध्यक्ष बन्ने चाहना राखेका छन् ।

भारतकै राम्रा फुटबलर तथा सफल कप्तानका रूपमा चिनिने भुटियाले शनिबार सामाजिक सञ्जालमा भएको एक अन्तरक्रिया कार्यक्रममा भविष्यमा आफू फुटबल एसोसिएसनको अध्यक्ष बन्ने योजनामा रहेको खुलासा गरेका हुन् । एक दशकभन्दा लामो समय राष्ट्रिय टोलीमा बिताएका भुटियाले आधिकारिक रूपमा २०११ मा सन्न्यास लिएका थिए ।

रिटायर्ड लाइफ बिताइरहेका भुटियालाई भविष्यमा के बन्ने चाहेको भन्ने प्रश्नमा उनले भने, ‘अवश्य पनि सबैका सपना हुन्छन्, भविष्यमा के गर्ने र नगर्ने ? म स्पष्ट छु, कुनै दिन भारतको फुटबल संघको अध्यक्षका रूपमा काम गर्ने चाहना छ ।’

तर, फुटबल संघको अध्यक्ष बन्न भन्ने त्यति सजिलो नभएको पनि उनले स्पष्ट पारेका छन् । ‘समग्र संघकै अध्यक्ष बन्नु त्यति सहज काम होइन, यसका लागि धेरै मिहिनेत गर्नुपर्छ,’ उनले भने ।

भुटियाले भारतीय पुरुष राष्ट्रिय टोलीमा १९९५ देखि २०११ सम्म ८२ खेलबाट २७ गोल गरेका थिए । उनले व्यावसायिक फुटबलमा इस्ट बंगालबाट आफ्नो करिअर समाप्त गरेका थिए । दुई पटक मोहन बगानबाट घरेलु लिग खेल्दा उनले ५६ खेलबाट २५ गोल गरेका थिए ।

पश्चिम बंगालकै आइकोनिक खेलाडी भुटिया भारतका लागि सय अन्तर्रा्ष्ट्रिय खेल खेल्ने पहिलो खेलाडी हुन् । अहिले उनी फुटबल स्कुल तथा युनाइटेड सिक्किम क्लबको व्यवस्थापनमा व्यस्त छन् । सिक्किमको तल्लो तहबाटै फुटबल विकास गर्नमा उनी लागेका छन् ।

‘अहिले मेरो पहिलो प्राथमिकता सिक्किममा ग्रासरुटबाटै फुटबल विकास गराउनु हो,’ अहिलेको प्राथमिकताबारे भुटिया भन्छन्, ‘सिक्किमका मेरो सपना पूरा भएपछि अध्यक्षका लागि दाबेदारी दिनेछु र सबैको साथ पाए त्यहाँसम्म पुग्नेछु ।’

सिक्किमका स्थानीयले भुटियालाई ‘सिक्किमेन्स सुपर’ भन्छन् । मैदानमा भुटियाको जस्तो गोल गर्न सक्ने क्षमता अन्य खेलाडीमा नभएको सिक्किमका स्थानीय बताउने गर्छन् । अन्तरक्रियाकै क्रममा ४३ वर्षीय भुटियाले वर्तमान समयमा सुनील क्षेत्रीबाट प्रभावित भएको बताए ।

भारतको फुटबलमा सुनील जतिको गोल गर्न सक्ने क्षमतावान् खेलाडी आफूले नदेखेको उनी बताउँछन् ।  ‘अहिले सुनीलजतिको गोल गर्न सक्ने चुतर खेलाडी मैले देखेको छैन,’ कुनै समय सुनीलसँगै राष्ट्रिय टोलीबाट खेलेका भुटियाले भने, ‘भविष्यमा सुनील जस्तो गोल गर्न सक्ने प्रतिभावान् खेलाडी पाउन मुस्किल हुन सक्छ ।’

फुटबल करिअरमा गोवाका मिडफिल्डर ब्रान्डोन फर्नान्डेसबाट प्रभावित भएको भुटियाले अन्तरक्रिया कार्यक्रममा उल्लेख गरेका छन् ।

‘मिडफिल्डरमा मलाई गोवाका ब्रान्डोन निकै राम्रो लाग्छ, गोवा फुटबलको विकासमा ब्रोन्डोनको योगदान अतुलनीय छ,’ भुटियाले भने, ‘आइएसएलमा उनले मिडफिल्डमा बल नियन्त्रण गर्ने र गोलका लागि कैयौं पटक सामान्य ढंगले बल निकालेको हेरेको थिएँ ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७