उच्च सतर्कता र मनोबलका साथ अनुशासनको पालना गर्न मुख्यमन्त्री राईको आग्रह


१ बैशाख २०७७, सोमबार
Sherdhan Rai

विराटनगर, १ बैसाख । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नयाँ वर्ष २०७७ कोभिड १९ लाई पराजित गर्दै स्वच्छ, सुखी र समुन्नत प्रदेशको प्रादेशिक लक्ष्य र चाहनालाई तीव्र गतिमा मूर्त रुप दिने वर्षका रुपमा रहने समृद्ध विश्वास व्यक्त गरेका छन् ।

नयाँ वर्ष २०७७ का अवसरमा सन्देश दिँदै मुख्यमन्त्री राईले हाम्रो सुन्दर जीवन रक्षाका लागि लकडाउनको कुनै विकल्प नभएको स्पष्ट गरेका छन् ।

आज बिहान ८ बजे दिएको सन्देशमा उनले भनेका छन्, ‘भारतमा बढ्न सक्ने सम्भावित सङ्क्रमण र हाम्रो खुला सीमाहरुका कारण हामीले उच्च सर्तकता अपनाउनु पर्नेछ । कुनै पनि नाम वा बहानामा हाम्रो दक्षिणतर्फको नाकाहरुबाट हुन सक्ने आवागमनलाई कडाइ गर्नुपर्नेछ । यो नै हाम्रो यस प्रदेशको सुरक्षाको मूल कडी हो ।’

सामाजिक दूरीलाई कायम राखेर अत्यावश्यक काममा बाहेक घरबाट ननिस्कन, केही लक्षण र आशंका भए तत्काल स्वास्थ्य परीक्षण गर्न र होमक्वारेन्टाइनमा बस्न तथा थप समस्या देखिए अन्य क्वारेन्टाइन र आइसोलेशनमा बस्न प्रदेशवासीमा उनले आग्रह गरेका छन् ।

प्रदेशका सबै दल एकजुट र एकमत भएर कोरोना भाइरसको नियन्त्रणका लागि जुटेकाले नै महामारी नियन्त्रणका लागि सरकारलाई थप टेवा पुगेको बताउँदै उनले आगामी दिनमा पनि यस्तो सम्झदारी र एकता निरन्तर रहने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७