आइपिएल आयोजना नभए कुनै खेलाडीले पारिश्रमिक नपाउने


४ बैशाख २०७७, बिहीबार
sandeep cpl

काठमाडौं, ४ बैसाख । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण इन्डियन प्रिमियर लिग (आइपिएल) अनिश्चित बनेसँगै सो प्रतियोगिताका लागि अनुबन्धित भएका खेलाडीले आफ्नो अनुबन्ध रकम गुमाउने सम्भावना देखिएको छ ।

त्यसमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने पनि पर्नेछन् । आइपिएल सम्भव नभए खेलाडीहरूले कुनै पनि रकम नपाउने निश्चित छ ।

आइपिएलको खेलाडी सम्झौतामा दुईपटक गरी सम्झौता रकम दिने व्यवस्था छ । त्यसमध्ये पहिलो किस्ताको रकम प्रतियोगिता सुरु हुनु एक साताअघि र बाँकी रकम प्रतियोगिता सकिएपछि दिने उल्लेख छ ।

तर, प्रतियोगिता सुरु नै नभए कुनै पनि टोली आफूसँग अनुबन्धित भएका खेलाडीलाई तलब दिन बाध्य हुनेछैन । भारतमा कोरोना भाइरस संक्रमणका कारण मंगलबार दोस्रो पटक लकडाउनको समय बढाइएको छ ।

कोरोना भाइरस संक्रमण नियन्त्रणमा नआए लकडाउनको अवधि अझै बढ्नेछ । वर्षायाम पनि सुरु हुन लागेका कारण प्रतियोगिता नै नहुने सम्भावना पनि देखिएको छ । प्रतियोगिता नै नभए सम्झौताअनुसार नै कुनै पनि खेलाडीहरूले रकम पाउनेछैनन् ।

नेपालका लेग स्पिनर सन्दीप लगातार आइपिएलको तेस्रो सिजन दिल्ली क्यापिटल्ससँग अनुबन्धित छन् । उनी सन् २०१८ मा तीन सिजनका लागि प्रतिसिजन २० लाख भारुमा दिल्लीसँग आनुबन्धित भएका छन् ।

कोरोना भाइरस संक्रमण नफैलिएको भए आइपिएल २९ मार्चबाटै सुरु हुने थियो । भाइरस संक्रमण रोक्न भारतीय सरकारले पहिलोपटक २१ दिनको लकडाउन घोषणा गरेको थियो । त्यससँगै आइपिएल पनि पहिलोपटक सोही अवधिसम्मका लागि रोकिएको थियो ।

दोस्रोपटक लकडाउनको अवधि नलम्बिएको भए आइपिएल बुधबारबाट (आजबाट) सुरु हुने थियो । यद्यपि, अवस्था नियन्त्रणबाहिर देखिएका कारण प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा मंगलबारदेखि ३ मेसम्मका लागि दोस्रो चरणको लकडाउन घोषणा गरेका छन् ।

त्यससँगै आइपिएल पनि अनिश्चित बनेको हो । अन्य देशसँगै भारतमा पनि कोरोना भाइरस संक्रमणको अनियन्त्रित अवस्था र वर्षायाम सुरु हुन लागेका कारण भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले तत्काल अर्काे मिति नतोक्ने भएको छ ।

बिसिसिआईले त्यसअनुसार नै बुधबार बिहान सबै फ्रेन्चाइज टोलीहरूलाई जानकारी गराइसकेको छ । सरकारले दोस्रोपटक लकडाउनको घोषणा गरेसँगै मंगलबार साँझ नै बिसिसिआईका अधिकारीहरूबीच भिडियो कन्फरेन्स भएको थियो ।

भिडियो कन्फरेन्समा अध्यक्ष सौरभ गांगुली, सचिव जय शाह, आइपिएलका अध्यक्ष ब्रिजेश पटेल, कोषाध्यक्ष अरुन धुमाल र प्रमुख कार्यसम्पादन अधिकृत (सिओओ) हेमाङ अमिन सहभागी थिए ।

सो भिडियो कन्फरेन्सपछि सिओओ अमिनले बुधबार बिहान सबै फ्रेन्चाइज टोलीहरूलाई यो अवस्थामा प्रतियोगिता सञ्चालन गर्न नसकिने र अनिश्चितकालका लागि प्रतियोगिता रोकिएको जानकारी गराएका हुन् । नयाा पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७