काेभिड- १९ ले सिकाएको पाठ


५ बैशाख २०७७, शुक्रबार
ghanshyam bhusal 1

 

‘एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा’‘ यो प्रसिद्ध गीतको गायन नेपाली सांगितीक आकाशका एक उज्ज्वल नक्षत्र स्वर सम्राट् स्व. नारायण गोपालको हो । यो गीतको महत्त्व र तात्पर्ययता आजको कोरोनाको बादल लागेको संसारमा झनै सान्दर्भिक छ । आखिर डोनाल्ड ट्रम्प जस्तो व्यक्तिलाई प्रजातान्त्रिक अभ्यासको क्रममा राष्ट्रपतिको रूपमा चयन गर्दा अमेरिकी जनताहरूले महँगो मूल्य चुकाएका छन् । 

डोनाल्ड ट्रम्प मात्र होइन प्रायः सबै अमेरिकीहरू आफूलाई विश्वको एक नम्बरको नागरिक (First Class Citizen) सम्झन्छन् । उनीहरूमा सुख, सुविधा, संस्कार र सुरक्षामा हामी अरूभन्दा अगाडि छौँ भन्ने छ । कतिपय कुराहरू उनीहरू अगाडि नै छन् । बेलायतबाट सन १७७६ मा स्वतन्त्र भएपछि अमेरिकाले त्यसै समयतिर भएको औद्योगिक क्रान्तिमा आफूलाई आर्थिक रूपमा दह्रो बनायो । प्रथम विश्वयुद्धपछि विश्व राजनीतिमा अमेरिकाको भूमिका अगाडि आयो । दोस्रो विश्वयुद्धमा नेतृत्वदायी भूमिकामा रहेको अमेरिकाले जापानको नागासाकी र हिरोसिमा सहरहरूमा डिलिट व्याय र फ्याटम्यान नामक परमाणु बम खसाली दुबैमा गरी त्यतिखेर करिब १ लाख २० हजार मानिसहरूको संहार गर्यो । दोस्रो विश्वयुद्धमा रुस र बेलायत सँगै विजयपछि सैनिक र आर्थिक रूपमा सर्वशक्तिमान् हुन पुग्यो ।

सन् १८९० देखि नै अमेरिकाले बाह्य हस्तक्षेप गर्न सुरु गरेको देखिन्छ । अमेरिकी नेतृत्वले गरेको सन् १९४४ को ब्रिटेन सम्झौताले अमेरिका विश्व व्यापारमा अगाडि आइसकेको थियो । अमेरिका नेतृत्वले गरेको हरेक कार्यहरूमा अमेरिकी जनताको समर्थन रहेको देखिन्छ । जस्तै भियतनाम युद्धमा अमेरिकी हार भएता पनि, जैविक हतियारको निहुँ बनाएर इराकमा आक्रमण गर्दा पनि, हालै इरानमा यस्तो करोना प्रकोपको समयमा औषधि लगायतका सामाग्रीहरू खरिद गर्न आर्थिक नाकाबन्दी लगाउँदा पनि । सन् १९९० मा सोभियत सङ्घको विघटनपछि त संसारमा अमेरिकाको एकछत्र राज चल्यो ।

हिन्दु धर्म शास्त्रमा विश्व विजेता बन्नको लागि त्रेता युगमा राजारामले गरेको अश्वमेध यज्ञको घोडा कुनै राजाहरूले समाउन सकेनन् तर उनकै छोरा लव र कुशले समातेर चुनौती दिए । शायद त्यसै गरी अश्वमेध यज्ञ गरेर अमेरिकाले घोडा छोडेमा समाउने औकात वर्तमान विश्वमा पनि कमैको होला । तर यो सबै हुँदाहुँदै पनि अमेरिकी जनताको जसरी पनि अमेरिका विश्वमा सर्वशक्तिमान् हुनुपर्छ भन्ने मत रही आएको पाइन्छ ।

यसै क्रममा डोनाल्ड ट्रम्प सत्तामा आएपछि उनको आर्थिक राष्ट्रवाद प्रखर रूपमा अगाडि आयो । उनी आँफूपनि व्यापारी थिए, नाफा कसरी कमाउने भन्ने उनलाई थाहा थियो । उनको अगाडि आर्थिक रूपमा सम्पन्न हुन गइरहेको र सैनिक रूपमा शक्तिशाली चीन तगारोको रूपमा आयो ।

उनले चिनियाँ सामाग्रीहरूमा कर लगायत आयात कम गर्ने प्रयास गरे तर अमेरिकाले कार्यक्रम सुरु गरे पनि चीनको बेल्ट एन्ड रोड इनिसियटिभ जस्तो बहु आयामिक र संसारलाई नेतृत्व गर्न सक्ने खालको कार्यक्रम खासै ल्याउन सकिरहेको थिएन । यसै क्रममा डिसेम्बर २७, २०१९ मा चीनको वुहान सहरमा कोभिड–१९को प्रकोप देखियो, जुन विगत १०० वर्षको अवधिमा देखिएको सबैभन्दा ठुलो प्यान्डेमिक हो । अहिले सम्म यसले संसारभरिका २१३ देशहरूलाई प्रभावित गरेको छ । यो लेख तयार गर्दा सम्म विश्वमा २०,८४,५९५ संक्रमित १,३४,६७७ को मृत्यु र ५,१५,१९६ जना सन्चो भएका छन् तर यो कहाँबाट सुरु भयो भन्ने सन्दर्भमा अमेरिका र चीनका आफ्नै बलिया तर्कहरू छन् । तर यो भाइरसको कारण भन्दा पनि यसको प्रसारण रोक्न नसक्नु कसको कति जिम्मेवारी छ भन्ने कुरा आइरहेको छ ।


हामीलाई थाहा छ, कोभिड–१९ को महामारी अमेरिका र चीनमा मात्र होइन इटली, फ्रान्स, स्पेन, बेलायतमा पनि तीव्र छ । तर यहाँ प्रशस्त समय भएर पनि हेलचक्राई गर्दा अमेरिकाको अवस्था चर्चा गर्नु बढी सान्दर्भिक हुन जान्छ ।


माथि नै उल्लेख गरिसकिएको छ कि अमेरिकाहरूमा आफ्नो स्वाभिमान र घमन्ड बढी छ । यसै क्रममा चर्को स्वर गरेर आर्थिक राष्ट्रवादलाई उचालेर अमेरिकी जनताद्वारा सन् १९९६ मा चयन गरिएका राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकी इतिहासमा सबैभन्दा नकारात्मक रूपमा उल्लेख गर्न योग्य राष्ट्रपति हुँदै छन् ।

जब चीनका वैज्ञानिकहरूले जनवरी २१, २०२० मा WHO लाई नयाँ खालको कोरोना भाइरस भेटिएको सूचना दिँदै थिए त्यतिखेरै जनवरी ३०, २०२० मा डोनाल्ड ट्रम्प भन्दै थिए, ‘कोरोना भाइरस हाम्रो नियन्त्रणमा छ । अहिलेको समयमा अमेरिकाको लागि यो सामान्य समस्या हो । अहिले सम्म ५ जनालाई मात्र सङ्क्रमण पुष्टि भएको छ ।’ त्यसै गरी फेब्रुअरी १० मा “अप्रिलमा गर्मी सुरु हुने बित्तिकै यो हराएर जान्छ’ मार्च २५ मा ‘इस्टर मनाउन आफू उत्सुक भएको छु’, मार्च २७ मा ‘जब यो महामारी घोषणा गरियो त्यो भन्दा धेरै पहिले देखि नै महामारीको रूपमा फैलिएको थियो’ समेत भन्न भ्याउँछन् । मार्च ३० मा आएर १ लाख अमेरिकी नागरिक मर्ने कुरा पनि स्वीकार गर्दछन् । यसरी संसारका सर्वशक्तिमान् व्यक्ति अस्थिर मानसिकताको सिकार भएका छन् । उनले आफ्नो देशका नागरिकलाई कोभिड–१९बाट सुरक्षाको तयारी गर्नुको सट्टा २०२० मार्च १६ मा ट्विट गर्दै चिनियाँ भाइरस, वुहान भाइरस, कहिले अमेरिका बन्द गर्नको लागि बनेको मुलुक होइन भन्दै आफ्नो प्रतिद्वन्द्वी चीनसँग वाकयुद्धमा उत्रिए । अहिले फेरि उनले आफ्नो गल्ती ढाकछोप गर्न विश्व स्वास्थ्य सङ्गठनलाई समयमा नै महामारीको सूचना नदिएको, चीनतिर ढल्किएको र कहिले विश्व स्वास्थ्य सङ्गठनलाई दिने १५ प्रतिशत अनुदान कट्टा गर्ने कुरा गरिरहन्छन् । यसको जवाफमा डब्लुएचओको प्रमुख डा। टेड्रोसले अहिले कोरोना राजनीति गर्ने विषय होइन तपाईँको राजनैतिक कुरा क्वारिन्टीनमा राख्नुहाेस् भनेका छन् ।

यसको जवाफ त उनकै आफ्नै अमेरिकीहरूले पनि दिएका छन् । एक जना अमेरिकी विद्वानले डोनाल्ड ट्रम्पले एकै पटक चारैतिर बाण हान्छन्, त्यसो गर्दा त एउटा न एउटा वाणले त लक्ष्य भेदन गर्छ । त्यसै गरी अमेरिकी नागरिक जीवन खतरामा पारेको उल्लेख गरेका छन् भने सभामुख न्यानी पेलोसिले अमेरिकीहरूको मृत्युको जिम्मेवारी राष्ट्रपति ट्रम्पले लिनुपर्छ भनेकी छन् ।

समग्रमा स्पष्ट कुरा के हो भने, प्रति वर्ष नौ सय बिलियन डलर सुरक्षा खर्च गर्ने अमेरिका आज एउटा अत्यन्त सूक्ष्म भाइरसबाट तहसनहस हुन गइरहेको छ । यो पनि आफ्नै जिद्दी र अभिमानको कारणले । आजसम्म हामी जीवित रहेका संसारका मानिसहरूले लिने शिक्षा के हो भने जुनसुकै देशका यी नेताहरूले आफ्नो महत्वकांछा र निर्वाचनको लागि जे पनि गर्न सक्छन् । आज डोनाल्ड ट्रम्पलाई मतदान गर्ने वा नगर्ने, डेमोक्याट्स वा रिपब्लिकन वा अन्य कुनै सबै खालका अमेरिकी नागरिकहरू सिकार भई रहेका छन् । चाहे निर्वाचनबाट आउन वा अन्य जुनसुकै तरिकाले सत्तामा आउनु, चाहे राष्ट्रवादको नारा दिउन् वा आर्थिक समाजवाद वा प्रजातन्त्रको दुहाइ दिउन् वा धर्मको नाममा राजनीतिको रोटी सेकाउन् तिनीहरू पनि त्यतिकै खतरनाक हुन सक्छन् । जसरी विश्व इतिहासमा हिटलर, मुसोलोनी, नेपोलियन, बोर्नापाटले अन्ध राष्ट्रवादको नाममा लाखौँ मानिसहरू मारे अहिले पनि नगर्ला भन्न सकिन्न । हिजो जापानमा परमाणु बम खसालेर अमेरिकाले १ लाख २० हजार मानिसहरू मा¥यो, आज अप्रत्यक्ष रूपमा एउटा नाथे भाइरसले त्यति नै निहत्या र निर्दोष अमेरिकाहरूको ज्यान लिने परिस्थिति आइरहेको छ । त्यसैले आज नेतृत्व प्रति सचेत बनौँ, खबरदारी गरौँ, अन्धभक्त नबनौँ । कार्यक्रम हेरेर विरोध र समर्थन गरौँ ।

यो लेख तयार पार्दासम्म अमेरिकामा ६,४४,३४८ सङ्क्रमित २८५५४ को मृत्यु भएको र सन्चो भएका ४८,७०८ रहेको देखिन्छ । कोरोनामा पनि उसले नेतृत्व गरेको छ । ट्रम्पका निकट सहयोगी रियल स्टेट व्यापारी ७८ वर्षीय स्टान्ली चेराको पनि कोरोना भाइरसको संक्रमणले निधन भैसकेको छ । स्वर सम्राट् नारायण गोपाले भने झैँ एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा, त्यसै गरी एउटा नेतृत्वले कति फरक पार्छ जिन्दगीमा ?


(लेखक जनता मा.वि. विष्णुनगर, कावासोती नवलपरासीका प्रधानाध्यापक हुनुहुन्छ ।)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७