सिनेमा नोस्टाल्जिया {संस्मरण}


५ बैशाख २०७७, शुक्रबार
Keshar Rai sasmaran

-केशर राई

फिल्म–सिनेमा–मुभी–वायस्कोप–चलचित्र शव्दहरुको अर्थ र परिभाषा के हो ? के यी शव्दहरु विभिन्न भाषाहरुबाट आएको पर्यायवाची शव्दहरु हुन ? वा एक–अर्कामा अन्तरसम्वन्धित शव्दहरु हुन् ? म यी शव्दहरुको अर्थ, परिभाषा र अन्तरसम्वन्ध केलाउन नभई विगत दुई दशक बढी मेरो आफ्नै अनुभूति चाँहि केलाउन खोजिरहेको छु । मेरा अनुभूतिका हरफहरु सिर्फ विशुद्ध एक सिनेप्रेमी दर्शकले सिनेमामा देखाएको पे्रम आशक्ति र अनुभूत गरेका सामान्य विवरण मात्र हुन् ।
अपवादमा केहि बाहेक अधिकांश हामी सिनेमाको पारखी नै छौ । सिनेमामा सबै वर्ग, तह तप्काको पहुँच नहुनु फरक कुरा हुन् तर, सिनेमा सबै वर्ग, भूगोल, जाति, भाषी, लिङ्ग र आम समुदायको प्यारो चिज हो । सिनेमा वर्गीय हिसावमा उच्च संभ्रान्त वर्गको पहुँच अनुसार अन्य मध्यम तथा निम्न वर्गको पहुँच नहोला, सबै भूगोल, जाति, भाषीलगायत अन्य तह तप्काको पहुँच र विस्तार समान नहोला, तर सिनेमा प्रत्येक जन–जनको मुटुमा ढुकढुकी भएर सुन्दर रुपमा बास बसेका हुन्छ ।
विशेष गरी वर्गीय हिसावमा हेर्दा सिनेमा संभ्रान्त उच्च वर्गले एक मनोरञ्जनको साधनका रुपमा लिएको पाइन्छ । मध्यम तथा निम्न वर्गले भने मनोरञ्जन सँगै विशेषगरी सिनेमा निर्माणको परम्परा अनुसार जुन मुख्य एक पात्रलाई केन्द्रविन्दु बनाएर नायकत्व निर्माण गरेको हुन्छ, जसलाई हामी हिरो भन्दछौ ।

पूर्वीय दर्शन, चिन्तन अनुसार मुख्य पात्र नायकको जुन अलौकिक शक्तिको चरित्रचित्रण सिनेमामा देखाइएको हुन्छ जसले गरीब कमजोर वर्गको चरित्र र नेतृत्व प्रदान गरिहेको हुन्छ । जुन चरित्र प्रत्येक निम्न मध्यम वर्गको दर्शकको मनमा भूत जसरी सर्लक्क चढेको हुन्छ । नायक आफू रहेको फिल गर्दछ । यसरी वर्गीय हिसावले उच्च र निम्न मध्यम वर्गका मानिसले सिनेमालाई जीन्दगीको मुख्य हिस्सा ठान्नुको खास कारण माथिका यिनै हुन् । यसरी सबै वर्ग, भूगोल, जाति, भाषी र आम समुदायको सिनेमासँग अचम्मको सम्वन्ध बन्नुको मुख्य कारण यहि हुन् । यो सिनेमाको सबैभन्दा सशक्त पक्ष हो ।

पूर्वीय दर्शन, चिन्तन अनुसार मुख्य पात्र नायकको जुन अलौकिक शक्तिको चरित्रचित्रण सिनेमामा देखाइएको हुन्छ जसले गरीब कमजोर वर्गको चरित्र र नेतृत्व प्रदान गरिहेको हुन्छ । जुन चरित्र प्रत्येक निम्न मध्यम वर्गको दर्शकको मनमा भूत जसरी सर्लक्क चढेको हुन्छ । नायक आफू रहेको फिल गर्दछ ।


सिनेमासँगको मेरो शुरुवाती सम्वन्धः
सिनेमासँग मेरा व्यक्तिगत सम्वन्ध २०५३ सालको हिउँदबाट जोडिन पुग्यो । यदाकदा नेपाली र हिन्दी सिनेमाका नायक नायिकाहरुको पोष्टर देखेको, किनेको र घरको भित्ताभित्तामा टाँसिएको बाहेक मसँग अरु साइनो सम्वन्ध पटक्कै थिएन ।

भोजपुरको सुदूर पूर्वी दुर्गम गाउँ ठूलोदुम्मामा जन्मे हुर्केको म बबुरोको घरको भित्तामा टाँसिएको फिल्मी पोष्टरले कतिखेर मनको भित्तामा सजाईसकेको थियो भन्ने कुरा मैले पहिलो सिनेमा हेरेर घर फर्केपछि मात्र थाहा पाएँ । पहिलो सिनेमा हेरेपछि म सपनामा मात्र नभई विपनामा पनि सिनेमाकै सपना देख्न थाले । त्यो सिनेमा सपना आज पर्यान्तसम्म पनि देखि नै रहेको हुन्छु । फरक पहिले धेरै ऐठन पारिरहन्थ्यो अचेल सहज सपनाको महासागरमा तैरिरहेको हुन्छु । मेरो सिनेमा प्रेम कहिले क्लाइमेक्समा पुग्दै, कहिले मुर्छा परेर कोमामा पुगेर पुनी बौरिदै पुनर्ताजगी भएर आजको मितिसम्म निरन्तर एउटा बक्ररेखामा कुदि नै रहेको छ । जुन मेरो जीवनमा नजानिंदो तरिकाले नोस्टाल्जिया बनेर बसेको छ ।

पहिलो सिनेमा : प्रेमपूजा
२०५३ सालको हिउँदमा ठूलोदुम्माको हाम्रो बारीमा धेरै फल्ने दलहन वस्तु बोडी वेचविखनका क्रममा भोजपुरको शनिबारे हटिया जाँदा पहिलोपल्ट सिनेमा संसारसँग साक्षात्कार गर्न पुगें । गाउँका अभिभावकहरुको साथमा भोजपुर पुगेको मसहित एकदामले केहि साथीहरुसहित हाम्रो बसाई गाउँले जोगबारे साइँली सानी (रामकुमारी राई) को डेरा डाडागाउँमा हुन पुग्यो । सिनेमाबारे अग्रज दाइहरुबाट कथा सुन्दै मात्र आएका हामी भुराहरुलाई सानीले बजारमा रहेको शिवशक्ति मन्दिरमा प्रेमपूजा नामक सिनेमा देखाउन लैजानु भयो । सिनेमा पुरा भएर डेरा फर्कदा म एउटा कल्पनाको संसारमा डुबिरहेको थिएँ । मलाइ यस्तो लाग्यो– जीन्दगी भनेको सिनेमा जस्तो रंगिन पो हुनुपर्दछ ।

गाउँ आएर मैले पहिलोपल्ट हेरेको सिनेमाको बखान, गुनगान गाईरहें । गाउँको सबैलाई सिनेमाको कथावस्तु र शुरुदेखि अन्तिमसम्मको दृष्य रिट्ठो नबिराई भन्न थालें । मेरो एउटै मात्र गुनासो थियो, त्यो पनि सिनेमासँग होइन हलवालासँग । मैले गुनासो सबैलाई एकैपाराले यसरी पोख्थें – त्यो सिनेमा देखाउने हलको पर्दा सानो भएकाले कलाकारहरुको अनुहार मात्र देखिन्थ्यो । ठूलो पर्दा भएको भए सर्लक्कै मान्छे देख्न पाइन्थ्यो नि ! सिनेमाका म भन्दा बढी जानकार माइला दाइले भन्नु भो,‘क्यामेराले जति खिच्छ त्यति पर्दाले देखाउने हो पर्दा सानो भएर होइन ।’ मलाई दाइको कुरा झुट लाग्यौ, किनकी गाउँको अरु दाइहरु भोजपुरको सिनेमा हलको पर्दा भन्दा धरानको सिनेमा हलको पर्दा ठूला र फराकिला भएको सुनाउँथे । पछि मात्र बुझे–कलाकारहरुको अनुहार मात्र पर्दामा आउनुको खास कारण त क्यामराको क्लोज अप सर्ट खिचाइले रहेछ ।


दोस्रो सिनेमा ‘सौभाग्य’
धिरेन शाक्य र मौसमी मल्ल अभिनित सौभाग्य हेर्ने सौभाग्य ठिक एक वर्षपछि मलाई जुर्यो । घरको बारीमा फलेको बोडीले मलाई दोस्रोपल्ट पहिलेकै हलमा चलचित्र हेर्न अवसर दियो । यो सिनेमा गाउँको एक जना साथीसँगै हेरेको थिएँ । सौभाग्यमा खलनायक सुनिल थापाको डरलग्दो गेटअप र अभिनय, नायक–नायिकाको सुन्दर गेटअप अनि पहिलो सिनेमा प्रेमपूजा भन्दा खतरा फाइट सिन, जसको कारण सिनेमाप्रतिको मेरो भोक झन जगाई दियो दोस्रो सिनेमाले ।


भौगोलिक विकटता र भोगेको पिडाः
२०५५ सालबाट गाउँको ७ कक्षासम्मको पढाई सम्पन्न गरी बाँकी अध्ययन् अगाडि बढाउन भोजपुर सदरमुकाम नजिकको टक्सार बजारको यशोधरा माविमा प्रवेश गरेपछि मेरो सिनेमा पहुँच अलि बढ्न गयो । अब सिनेमा हेर्नका लागि पुरा एक वर्ष पर्खिन परेन । मात्र रुपियाँको जरुरत पर्दथ्यो । आर्थिक अभावमा सधै गुजार्नु पर्ने विद्यार्थी जिन्दगीमा सिनेमा हेर्ने रुपियाँ कहाबाट जुटाउनु ?

सिनेमाको भौगोलिक पहुँच बढे पनि आर्थिक पहुँच भने खुम्चिएर आयो । घरबाट पठाउने आर्थिक स्रोतमा पहुँच र नियन्त्रण मसँग थिएन । सबै आर्थिक डाडु–पन्यू मसँगै अध्ययन गर्न आउने साइँला दाइको हातमा थियो । प्रत्येक शनिवार हटियामा किनमेल गर्न भोजपुर निस्कँदा एकपल्ट शिवशक्ति मन्दिर सिनेमा घर नियाल्न पुग्थें । पैसा नभएको पीडामा बाहिरबाट टुलुटुलु हेरेर फर्कन्थे । पैसा नभएको पीडाले रन्थनिंदै डेरा टक्सार रैकर झर्दथे । किनमेल पछिको केहि पैसा उव्रे पनि फिल्म हेर्न पुग्ने हुन्थेन । फेरि शनिबारे हटियाको एक–एक खर्चकोे लेखापरीक्षण गरेर दाइलाई बुझाउनु पर्थो । सिनेमालाई जीन्दगीको सारा संसार ठान्ने एक सिनेप्रेमीलाई यो भन्दा ठूलो पीडा अरु के हुन्थ्यो होला र ?


सिनेमा हलको विकल्पमा टेलिभिजन
सिनेमा हलमा सहज पहुँच नपुगेपछि विस्तारै टेलिभिजनतिर आकर्षित हुन थालें । हामी बस्ने टक्सार रैकर गाउँका केहि घरमा मात्र टेलिभिजनको पहुँच थियो । जुन घरको छानामा एन्टिना ठडिएको हुन्थ्यो त्यो घर विशेष घर लाग्थ्यो तत्कालीन समयमा टेलिभिजन सबैको पहुँचमा हुन्थेन । अझ रंगिन टेलिभिजन कमै घरमा मात्र हुन्थे । हामी शुरुमा डेरा गरेर बसेको घरमा टेलिभिजनको पहुँच थिएन ।

हामी प्रत्येक शनिबार दिउँसो साढे २ बजे नेपाल टेलिभिजनबाट आउने हिन्दी सिनेमा हेर्न गोपाल श्रेष्ठको घरमा जाने गर्दथ्यौ । हामी त्यो घरमा टेलिभिजन हेर्न जानुको केहि आकर्षण थियो । पहिलो, रंगिन टेलिभिजन हुने रैकर गाउँमा त्यहि एक मात्र घर थियो । दोस्रो, हाम्रो स्कुल पढाउने दिपेन्द्र श्रेष्ठ सरको मुलघर भएकाले टेलिभिजन हेर्न पाउने पहुँच विस्तार भएको थियो । मैले पहिलोपल्ट साथी नामक हिन्दी फिल्म त्यहि हेरेको थिएँ ।


केहि समय पश्चात हामीले डेरा रैकरको अर्को घरमा सार्नुपर्याे । हामी सरेको डेराधनी नरबहादुर श्रेष्ठ साह्रै उदार मन भएको हुनुहुन्थ्यो । त्यहाँ डेरा सरेपछिको सबैभन्दा फाइदा मलाई भयो । त्यो घरमा जुन समय जतिखेर पनि टेलिभिजन हेर्ने पहुँच प्राप्त भो । म ती घरधनी अजा नरबहादुर श्रेष्ठ (स्वर्गीय) र उसका परिवारका सदस्यहरुप्रति अझै पनि कृतज्ञ बनिरहन्छु । मान्छेको चाहना र रहर भन्ने कुरा अचम्मको हुँदोरहेछ । मेरो सिनेमा प्रतिको मोह वा लत भनौ यति भयंकर थियो कि कुन नेपाली सिनेमा निर्माणको चरणमा छ, कुन प्रदर्शनको तयारीमा छ, कुन फिल्मको निर्देशक–कलाकार को–को हुन् ? लगायत फिल्मी शव्दभण्डार मसँग यस्तो वृहत्तर बनेर गयो कि यो सबै नियमित नेपाल टेलिभिजनको फिल्मी कार्यक्रम हेरेर सम्भव हुन्थ्यो । यो सम्भव उदार मनका घरधनीका कारण भएको थियो । हलमा गएर हेर्न नपाएको कुण्ठा र पीडा मैले विस्तारै टेलिभिजनबाट बिर्सदै गएँ । फिल्मी कार्यक्रममा आउने नेपाली सिनेमाको कास्टिङ टे«लरले चित्त बुझाउँथे । फेरि नयाँ–नयाँ नेपाली सिनेमा भोजपुरको शिवशक्ति हलमा धेरै पछि मात्र प्रदर्शन हुन्थे । हलमा लागेको सिनेमा हेर्न नपाउनुको पीडा भने छँदै थियो ।


यसरी नेपाल टेलिभिजनबाट प्रत्येक शनिबार प्रशारण हुने हिन्दी सिनेमा, सिनेमा सम्वन्धि कार्यक्रम गीताञ्जली, क्ल्यापसँगै टेलिफिल्महरु पनि हेर्ने लत बस्दै गयो । सो समयमा टेलिफिल्महरु देवी, संयोग, प्रतिद्वन्द्वी, अँध्यारो–उज्यालो, मिस्टर फन्टुस, भोजबहादुर, चेतना, टक्काटुक्का, मुक्ति, अविरल बग्दछ इन्द्रवती, हिजो आजका कुराहरु र हिन्दी धारावाहिक श्रृखंला ओम नवाय शिवाय, चन्द्रकान्त चर्चित थिए । म कुनै पनि हालतमा यी कार्यक्रम र सिरियलहरु नछुटाई हेर्थे । कुनै कारणले छुटेमा थकथक लागिरहन्थ्यो ।


खाने मुखलाई जुँगाले छेकेन
खाने मुखलाई जुँगाले छेक्दैन भने जस्तै आर्थिक अभावको त्यो दुःखदायी दिनहरुमा पनि केहि सिनेमा भने अवश्य हेरियो । जसका लागि मैले आर्थिक अनियमितताको चोरबाटो समात्न बाध्य भएँ । प्रत्येक हप्ताको तरकारी किन्न वजार जाने जिम्मेवारी मेरो पर्दथ्यो । बजारमा रु ८ पर्ने आलुलाई रु १० बनाएर आर्थिक अनियमितताको चोरबाटो निकालेर भूल, दौतारी, द कमाण्डो, जीत, वलिदान, अल्लारे भन्ने सिनेमा हेर्न भ्याएँ । त्यो समयमा अशोक शर्माको अल्लारे र राजनीतिक विषयवस्तु सम्वन्धि बलिदान धेरै हिट थियो ।


वर्षेनी गाउँमा देउसी–भैलो खेलेर आफ्नो भागमा परेको रकमले पनि सिनेमा हेर्ने रहरलाई सान्तवना दिने गर्थे । देउसी खेलेर आएको पैसाले नेपाली सिनेमाहरु धर्मसंकट आशिर्वाद, ढुकढुकी, दर्पण छायाँ फिल्म हेरेको याद यो मस्तिष्कमा अहिलेसम्म सुरक्षित नै रहेको छ ।


सिनेमा प्रतिको आकर्षणले हलमा हाफ टाइम पछि हेर्ने दुस्साहस पनि कहिलेकाँही गरियो । भोजपुरको शिवशक्ति हलमा मध्यान्तर पछिको समयमा हलभित्र छिर्न टाइट थिएन । मलाई सम्झना भएसम्म हाफटाइम पछि निःशुल्क हेरेको नेपाली सिनेमा चाँदनी, दागलगायत केहि थियो । पछिबाट आफैलाई हाफटाइममा हेर्न लाज लाग्न थाल्यो । हाफ टाइमबाट हेरेको सिनेमाको कथावस्तु भुत्लोभाङ केही नबुझिने । पछिबाट त्यसरी हेर्न छाडिदिए ।

मैले नेपाली सिनेमा रणभूमि र जूनतारा, हिन्दी सिनेमा अजय देवगनको अभिनय भएको दैवीशक्ति, अक्षय कुमारको जालिम र सुनिल सेट्ठीको टक्कर भन्ने फिल्महरु मास, मसेम, बोडी बिक्रीबाट प्राप्त आम्दानीले हेरेको थिएँ । बोडी र मसेमले राजेश हमाल र करिश्मा मानन्धर अभिनित चर्चित फिल्म ”साथी’ पनि हेराई छाड्यो ।


घरमा फल्ने मास मसेम र बोडीले पनि कम्तिमा वर्षमा एकपटक भोजपुरको सिनेमा हलमा नेपाली र हिन्दी फिल्महरु हेने अवसर जुराई दिन्थ्यो । मैले नेपाली सिनेमा रणभूमि र जूनतारा, हिन्दी सिनेमा अजय देवगनको अभिनय भएको दैवीशक्ति, अक्षय कुमारको जालिम र सुनिल सेट्ठीको टक्कर भन्ने फिल्महरु मास, मसेम, बोडी बिक्रीबाट प्राप्त आम्दानीले हेरेको थिएँ । बोडी र मसेमले राजेश हमाल र करिश्मा मानन्धर अभिनित चर्चित फिल्म ”साथी’ पनि हेराई छाड्यो । मलाई कुन चाँहि वर्ष हो एकिन भएन । माघको महिना थियो । तराई मोरङ गछियाबाट साइनोले काका पर्ने पहाड गाउँ निस्कनु भयो । उहाँको मुखबाट ‘क’ देखि ‘ज्ञ’ सम्म साथी फिल्मको वखान सुन्न भ्याएँ । त्यो समय स्कुलमा जाडो विदा थियो । भोजपुर पुगेर आउनेसँग वुझ्दा भोजपुरमा पनि सोहि फिल्म चलिरहेको बुझियो । अब ज्यानमा फिल्मको तरंग आउन थाल्यो । केहि बोडी र मसेम घरबाट बोकेर काका र म भोजपुर शनिवारे हटिया हिडिहाल्यौं । शनिवारको हटियामा बोडी र मसेम हतार हतार विक्री गरी प्राप्त आयले हामीले कति पनि ढिला नगरी त्यो फिल्म हेर्न पुग्यौ । त्यो समयमा चलनचल्तीको नायक नायिकामा राजेश हमाल र करिष्मा मानन्धर थिए । तर यो फिल्ममा कुकुरको अभिनय भएको कारण पनि सुपरहिट थियो । काका र म साथी फिल्म हेरेर हलबाट बाहिर निस्कँदा दिउँसोको ३ बजिसकेको थियो । ठूलोदुम्मा घर फर्कन ढिलो भईसकेको थियो किनकी त्यो हिउँद महिना छिट्टै रात पथ्र्यो । बजारमा केहिछिन किनमेल गरेर फर्कदै गर्दा कोटडाँडामै झमक्क रात परिगो । टर्च लाईट हामीसँग थिएन । अँध्यरोमा जेनतेन घर फर्कदा रातको ११ बजिसकेको थियो ।


चिट्ठामा परेको सिनेमा : ठूल्दाइ
मैले उपहार जस्तै पाएर हेरेको सिनेमा ठूल्दाइ हो । यो सिनेमाको कास्टिङ टिभिमा बारम्बार आईरहन्यो । त्यो कास्टिङले मलाई हिरिक्कै बनायो । ठूल्दाइ त्यो समयको हिट सिनेमा पनि हो । काठमाडौको हलमा १०० दिन चलेर उत्सव मनाएको मलाई थाहा थियो । केहि ढिला गरेर मात्र भोजपुरको हलमा नेपाली सिनेमाहरु आईपुग्थ्यो । केहि समयपछि भोजपुरको हलमा ठूल्दाइ लागेको माइकिङ शनिबारे हटियाबाट भयो । हतार हतार हटियाबाट कोठा फर्केर हतारमै खाना खाएर भोजपुरको हलतिर चम्पट ठोकें । विडम्वना टिकट दर बृद्धि भएको रहेछ । मसँग हेर्न पुग्ने पर्याप्त पैसा भएन । निराश भएर फर्कने सुर कसें । फर्कनु भन्दा अगाडि पोष्टर नियाल्ने मनसाय गरी नियालिरहेको के थिएँ एक्कासी मलाई कसैले बोलायो । पछाडिी फर्केर हेर्दा आम्तेकको शम्भु राई दाइ रहेछन् । उनीसँग पहिले रुम सेयरिङ गरेर केहि महिना टक्सारमा सँगै बसेका थियौं । उनीहरु ४ जना जति थिए । समूहबाट मलाई पनि फिल्म हेर्ने अफर आयो । ढुंगा खोज्दा देवता मिले जस्तै म पनि समूहमा मिसिएँ । समूहको एक जना सदस्यले मेरो पनि टिकट काटेर भित्र हुले, त्यो पनि बाल्कोनीको सिटमा । ओहो ! मलाई टिकट काटिदिई फिल्म हेराउने ती महाशयप्रति देवतालाई जत्तिकै श्रदा जागेर आयो ।


भोजपुरे कलाकारको राम्रो क्रेज
सिनेमाको पहिलो आकर्षण नायक र नायिका नै हुन्, तर नेपाली सिनेमा हेर्न हल वा टेलिभिजनमा पुग्दा हाम्रो आँखाले सधै दुई वटा कलाकारलाई खोजिरहन्थ्यो । भोजपुरको हलमा सिनेमा हेरिरहँदा अधिकांश दर्शकले खलनायकको सहयोगी भएर फाइट खेल्ने रोशन श्रेष्ठ पर्दामा आगमन भएपछि हुटिङ गर्थे । उनी टक्सार डवलीका हुन् भनेर सुनेको हामी पनि हलमा हुटिङ लगाउन सघाउँथ्यौ । अर्का कलाकार श्याम राई पर्दामा आएपछि हाम्रो छाती गर्वले ढक्क फुलेर आउँथ्यो । ठूलोदुम्मामा जन्मेका ती कलाकार दाइको पर्दामा आगमन भएपछि म एक्लै भए पनि दह्रो हुटिङ लगाउँथे । अल्लारे फिल्ममा खेल्ने फलना पात्र हाम्रो गाउँले दाइ श्याम राई हो नि ! भनेर गफ चुट्दै हिड्थ्यौं । ती हाम्रा प्रिय पात्र श्याम राई कलाकार मात्र नभई पुरानो फिल्म निर्देशक पनि रहेछन् भने रोशन श्रेष्ठ अचेल द्धन्द्ध निर्देशक भएका रहेछन् ।


क्रेजी हुनुको हद !
नेपाल टेलिभिजनको दिउँसोको समय तत्कालीन संग्रीला टेलिभिजनले किनेर दैनिक नेपाली सिनेमा प्रशारण गर्न थाल्यो । अब मेरो झन खुशीको सीमा नै रहेन । सो समयमा संग्रीला टेलिभिजनले पुराना धेरै नेपाली सिनेमाहरु प्रशारण गरेको थियो । त्यो समयमा म कक्षा ९ मा अध्ययन गर्दथे । कुन सिनेमा कुन दिन प्रशारण हुने सूचना केहि दिन अगाडि देखि नै संग्रीला टेलिभिजनले स्क्रिनमा सूचना दिईरहन्थ्यो ।

वहुप्रतिक्षित लाहुरे प्रशारण हुने मितिमा मेरो कक्षा ९ को ३० पूर्णाङ्कको अंग्रेजी परीक्षा थियो । जसमा २० पूर्णाङ्क लिखित र १० पूर्णाङ्क मौखिक थियो । मैले २० पूर्णाङ्कको लिखित परीक्षा सकेर हतार हतार डेरा फर्केर लाहुरे फिल्म हेर्न घरधनीको घर पुगिसकेको थिएँ । मैले लाहुरे फिल्मको आकर्षणले १० पूर्णाङ्कको मौखिक परीक्षा नै बिर्सेछु । फिल्म हेरिसकेर कोठा पुग्दा दाइले कराएपछि मात्र मलाई थाहा भयो परीक्षा छुटेको । परीक्षा छुटाई छुटाई पनि मैले संग्रीलाबाट प्रशारण भएका कुनै पनि सिनेमा नछुटाई हेर्न भ्याएँ । वासुदेव, अन्याय, भाग्यरेखा, महामाया, भिष्म प्रतिज्ञा, सीता, गरीब, निरमाया, सरस्वती, सम्पति, रहर, कोशेली, राजमति, दैव संजोग त्यहि च्यानलमा हेर्न भ्याएँ । जसमध्ये धेरै सिनेमा १० भन्दा बढी खेप दोहो¥याएर हेरें हुँला सायद । यसरी संग्रीला च्यानल विहान १० वजेदेखि वेलुका ५ बजेसम्म लगातार हेर्दथे । त्यो समय फिल्मप्रतिको मेरो आकर्षणको उत्कर्ष समय थियो ।


संग्रीला च्यानल भन्दा अलि अगाडि नेपाल टेलिभिजनमा रातको साढे १० बजेपछिको अफटाइममा हिन्दी र नेपाली सिनेमा पालैपालो प्रदर्शन हुन्थ्यो । यो पनि मेरा लागि खुशीको कुरा नै थियो । मैले त्यहि बेला सपना, सारंगी, निर्मोही, बादल, जालीरुमाल, मितेरी गाउँलगायतको नेपाली सिनेमा हेर्न भ्याएँ । रातको साढे १० वजेपछिको अफटाइमा अरु हेर्ने दर्शकहरु सबै निदाईसक्थे तर म एक झिमिक्क नगरी पुरा हेरिसकेर रातको १ बजे डेरा फर्कन्थे । तर यो प्रशारण धेरै समय भने जान सकेन ।


गाउँमा पनि सिनेमा !
आर्थिक संक्रमणका वावजुद मन अघाउञ्जेल सिनेमा हेर्न नपाए पनि धेरथोर भाग्यमानी भने अवश्य थिएँ । मैले यत्तिको सिनेमासँग नजिक रहनुमा मेरो वसाई गाउँबाट टाढा सदरमुकाम भोजपुर छेउको टक्सारमा थियो । जहाँ आर्थिक अभावका वावजुद पनि भौगोलिक हिसावमा सिनेमा हल नजिकै थियो । विद्युत उपलव्धताका कारण टेलिभिजन दैनिक हेर्न पाइन्थ्यो । मेरो आफ्नै गाउँ छिदुवामा विद्युतको सुविधा थिएन । जसका कारण सिनेमा हल त के टेलिभिजन पनि हाम्रो कावु भन्दा बाहिर थियो । खुशीको कुरा सोहि समयमा नै गाउँमा तीर्थ दाइले सोलार र टेलिभिजन खरिद गरी जडान गर्नुभयो । अब टक्सारमा प्राप्त सेवा गाउँमा पनि पाउने भइयो भनेर खुशीले गदगद भइयो । अब दाइको घरमा प्रत्येक शुक्रवार राति नेपाल टेलिभिजनबाट आउने नेपाली सिनेमा हेर्न दुई वटा ८ र ९ वार्डका सबै गाउँलेहरुको भीड लाग्न थाल्यो । घरको तलाभरी भरिभराउ भई नअटेर भर्याङ र बार्दलीमा पनि वसेर फिल्म हेर्ने गरिन्थ्यो । एनटिभीको राम्रो कभरेज नभएर क्लियर दृष्य भने नआउने समस्या थियो । टक्सारमा सिनेमा हेर्न बानी परेको म पनि गाउँमा पाएको सेवा लिन किन छोडथें ? गाउँ आउँदा वेलुका त्यहा पुगिहाल्थे । त्यहि भीडभाडमा चेप्टिएर शिखरलगायत केहि नेपाली सिनेमाहरु हेरेको थिएँ ।


सिनेमासँग टुटेको सम्वन्ध
२०५८ सालदेखि सिनेमासँग मेरो सम्वन्ध कमजोर बन्दै जान थाल्यो । व्यक्तिगत हिसावमा म त्यो समय खास गरी विद्यालय शिक्षा पुरा गरी उच्च शिक्षातिर फड्को मार्दै थिएँ । मुलुकको तत्कालीन सशस्त्र युद्धको प्रभाव भोजपुरमा पनि पर्दै जान थाल्यो । सोहि साल सशस्त्र विद्रोहीले सित्तेल खोलाबाट उत्पादन हुँदै आएको लघु जलविधुतमा वम विष्फोट गराई विद्युत सेवा सधैका लागि बन्द गराई दिए । भोजपुर र टक्सार विद्युतविहीन बस्न वाध्य बन्यो । त्यसपछि भोजपुरको एक मात्र शिवशक्ति सिनेमा हल कहिले बन्द हुँदै, कहिले चल्नै हुने क्रम भईरह्यो । पहिले जस्तो विद्युतको पहुँच नहुँदा टेलिभिजन हेर्नबाट पनि वञ्चित थियौं ।


दुःखका साथ भन्नुपर्छ २०५८ सालदेखि २०६१ सालसम्म झण्डै ४ वर्ष सिनेमासँगको सामिप्यता शून्य बन्यो । पहिले भन्दा आर्थिक अवस्था पनि सुधार भएको अवस्था थियो मेरो तर, त्यो ४ वटा वर्ष म सिनेमासँग पुरै बेखबर बनें । त्यो समयमा मैले कुनै पनि सिनेमासँग साक्षात्कार गरिनँ । कुन सिनेमा निर्माण हुँदैछ ? कुन हलमा लाग्दैछ ? कुन सिनेमा हिट र फ्लाप भयो ? भनेर दैनिक अध्यवाधिक रहने एक सिनेमा क्रेजी एकाएक किन सिनेमासंग सम्पर्क सम्वन्ध विच्छेद भयो ? यसको कारण धेरै थियो । पहिलो, मुलुकको तत्कालीन असहज परिस्थिति । दोस्रो, भोजपुरको हल केहिले सञ्चालन हुने कहिले वबद हुने समस्या । तेस्रो विद्युत नहुँदा टेलिभिजन हेर्न नपाएर फिल्मी अपडेट हुन नसक्नु । जसको कारण सिनेमासँग मैले एकतर्फी सम्वन्धविच्छेद गरेको समय थियो ।


गाउँले जोडिदिएको पुनः सम्वन्ध
लगभग ४ वर्षको ग्याप पश्चात सिनेमासँग पुनः जोडिएँ । क्याम्पस अध्ययन, विद्यार्थी राजनीति र सक्रिय पत्रकारितालाई थाँती राखेर एक परियोजनामा काम गर्न २०६१ साउन महिनाबाट निरन्तर गाउँ बसाई हुन थाल्यो । मानेडाँडामा प्रत्येक १५ दिनमा दशमी तिथिका दिन लाग्दै आईरहेको हटिया प्रत्येक शनिवार लाग्न थालेपछि केहि सक्रिय युवा भाइहरुले तत्कालीन विद्रोही माओवादीको अनुमति लिई भिसिडी र टेलिभिजन सेटबाट नियमित नेपाली सिनेमा प्रदर्शन गर्न थाले । सोको अगुवा स्थानीय अर्जुन राई थिए । उनी मेरा साथी थिए । उनको आग्रहले म पुनः पहिलेकै अवस्थामा फर्केर नेपाली सिनेमाको नियमित दर्शक बन्न थालें । एक समय मानेडाँडामा २ वटासम्म त्यस्तो हल सञ्चालनमा थियो । गाउँबाट हटिया भर्न आउने किशोर किशोरी र केटाकेटीहरु नियमित दर्शक थिए । केहि वयस्कहरु पनि हेर्न जान्थे । त्यो समयको नेपाली सिनेमामा निखिल उप्रेतीको राम्रो क्रेज थियो । त्यहाँ प्रदर्शन भएका सबै फिल्म मेलोमरी नै हेरेको छु । तर पहिलेको जस्तो उत्कृट सिनेमा कुनै पनि लागेन । तसर्थ त्यो समयमा हेरेको कुनै फिल्म सम्झनामा पनि छैन । म ा दबिएर बसेको फिल्मी भूत भने जगाउने काम अवश्य ग¥यो । सिनेमाको हिसावबाट नियाल्दा म यो समयलाई कोमाबाट निस्केर बौरिंदै गरेको अवस्था थियो ।


धनकुटा बसाइमा पुनः गाढा सम्वन्ध
बीचमा ग्याप भएर मानेडाँडाको फिल्मी माहोलले केहि जगाएको मेरो सिनेमा भोक पछिल्लो धनुकटा बसाईले थप बढायो । २०६४ सालमा स्नातक अध्ययनका लागि धनकुटा पुगेपछि त्यहाँको बसाईमा सिनेमासँगको सम्वन्ध फेरि गाढा बनेर गयो । त्यो समय धनकुटामा रहेको मधुगंगा हल भने बन्द थियो । भिसिडीको प्रचलन व्यापक थियो । विस्तारै नेपाली सिनेमाको अलावा हिन्दी, हलिवुड, कोरियन सिनेमामा पनि रुची बढेर गयो । छात्रवासको सामुहिक वसाईमा साथीहरुलाई भेला गरेर प्रत्येक रात सिनेमा देखाउँथे । अरुलाई देखाउन पाउँदा मनमा साह्रै आनन्द आउथ्यो ।
धनकुटामा सिनेमासँग रमाइलो केहि घटनाको पनि याद गरिरहन्छु । एक रात साथीहरुलाई सीमारेखा फिल्म देखाएँ । फिल्म सकिएपछि दुई जना साथीहरु फिल्मको पक्ष र विपक्षमा वादविवाद गर्न थाले । ऐतिहासिक लिगलिग र गोर्खाको युद्ध र हार जीतको कथा समेटिएको सीमारेखा फिल्म हेरिसकेपछि एक जना साथी स्तव्ध बने । तत्कालीन गोर्खा शासकले कपटपूर्ण तरिकाले लिगलिगकोट जितेको विरोधमा जय लिगलिग कोट भन्दै नारा लगाउन थाले । अर्का साथी गोर्खाको पक्षमा लाग्दै त्यसको नारावाजीको प्रतिरोधमा लागे । दुईबीच केहि समय राम्रै जुहारी चल्यो । हामी अरु दर्शक भने अक्क न वक्क, कसको समर्थन गर्नु ?


२०६६ सालको दशैको अष्टमी जस्तो लग्छ, अमर पुरुष छात्रवासको विद्यार्थी साथीहरु, वार्डेन र सहयोगी बद्री सबै दशैं मान्न घर फर्किसकेका थिए । म सिर्फ एक्लै थिए । बजारबाट जम्मा ३ वटा नेपाली र हिन्दी सिनेमाको सिडी किनेर ल्याई हतार हतार खाना पकाएर खाईसकेर लगातार ३ वटै फिल्म हेर्न बसे । सबै फिल्म हेरिसक्दा विहानको साढे ३ बजिसकेको थियो । संयोग ३ वटै सिनेमा रोनाधोनामा आधारित थिए । छात्रवासमा एक्लै कोहि नहुँदाको फाइदा रातैभरी रुँदैरुँदै फिल्म हेरिसकें । कोमल मन भएका म अरु समयमा साथीहरुसँगै फिल्म हेर्दा रुन लाज लाग्थ्यो । कसैले नदेख्ने गरी आँशु पुच्छ्ने गर्थे । त्यस्तै एकदिन चिनेको विद्यार्थी चेलीहरुको एउटा समूह नुमाफुङ सिनेमा हेर्न मेरो कोठा आए । विचराहरु फिल्म हेरेर रुँदैरुँदै आ–आफ्नो कोठा फर्के । बैनीहरुसँग पछि बाटोमा भेट हुँदा लजाएर मसँग भागेका थिए । यसरी यादगार बनेको थियो धनकुटा बसाईको सिनेमा कथा ।


नुमाफुङ र थ्री इडियट्सले बदलेको मेरो फिल्मी दृष्टिकोण
नवीन सुव्वाको नुमाफुङ र राजकुमार हिरानीको हिन्दी फिल्म थ्री इडियट्स हेरेपछि मेरो मथिङ्गलमा पुरै भुईचालो ल्यायो । ती दुई फिल्ममध्ये नुमाफुङ ५९–६० सालतिर बने पनि धेरै पछि मात्र भिसिडीमा हेर्न पाएको थिएँ । अमिर खान निर्मित अभिनित थ्री इडियटस पनि भिसिडीमै हेरें । ती दुईवटा फिल्म हेरेपछि मेरो सिनेमा हेर्ने लेभल र चेतना सम्झेर कुरीकुरी लागेर आयो । राम्रो सिनेमाको मानक व्यक्तिगत रुपमा आ–आफ्नो हुनसक्छ तर ती दुईवटा सिनेमा हरेक हिसावमा अव्वल लाग्यो । विगतको आफ्नो सिनेमाप्रतिको मेरो वुझाइ, हेराई र दृष्टिकोणलाई नियाल्दा एमदम कमजोर पाएँ । तत्पश्चात हरेक सिनेमाको सबै कोणबाट व्याख्या विश्लेषण गर्न थालें । साँच्चीकै नढाँटी भन्दा ती दुई वटा सिनेमा हेरेपछि मेरो सिनेमा प्रतिको चेतनास्तर बढेको महसुस गरेको छु । ती दुई सिनेमा हेरेपछि यो क्षेत्रलाई फराकिलो आयामबाट व्याख्या विश्लेषण गर्न थालेको छु । आफूलाई केहि साक्षर ठान्न थालेको छु । सिनेमा प्रतिको मेरो सोचाई, हेराई, बुझाइ, विचार, विश्लेषण, दृष्ट्रिकोण जे भने पनि यतिखेर म मेरो स्वर्णीम समयको रुपमा लिन चाहन्छु । तथापी अघिल्ला मेरो सिनेमा प्रतिको प्रेम, आशक्ति, अन्धभक्ति प्रति मेरो कुनै ग्लानी छैन । वरु त्यो समयको एक भेट्रान फिल्मी फ्यानको रुपमा अहिले पनि आफूलाई पाउँदा रमाइलो लाग्छ ।


सिनेमा एउटा कला मात्र नभई विविध आयाम बोकेको वृहत क्षेत्र हो । यो वृहत क्षेत्रप्रति हाम्रो आ–आफ्नो वुझाई र हेर्ने दृष्टिकोण रहेको छ । सिनेमा विशुद्ध कला, मनोरञ्जन, जीवन दर्शन वा अन्य कुनै माध्यम वा साधन ? यसमा आ–आफ्नो मत हुन सक्छ । प्रत्यक्ष र आन्तरिक रुपमा लाखौं लाख कलाकार, निर्देशक, निर्माता र अन्य पर्दा पछाडि बसेर यो रंगिन संसारमा जोडिएका छन् भने वाह्य रुपमा जोडिने अरबौ अरब छौं । हो त्यहि अरब जनसंख्यामध्ये एक व्यक्ति म हुँ । जसलाई हामी दर्शक भन्छौ । मेरो दावा के मात्र हो भने अरब दर्शकमध्येको एक भेट्रान सिनेपे्रमी दर्शक भने अवश्य हुँ । जसलाई डाइहार्ड फ्यान पनि भनिन्छ । यो अनुभूति एक भेट्रान सिनेप्रेमी दर्शकको दुई दशकका अनुभूतिको हरफहरु हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७