सडक अलपत्र बनाएर ठेकेदार वेपत्ता


३ माघ २०७४, बुधबार
Dozer

इलाम : काम अलपत्र बनाएर ठेकेदार वेपत्ता भएपछि इलामको सूर्योदय नगरपालिका र जोगमाई जोड्ने सडक अधूरो बनेको छ । ठेकेदार कम्पनीले सडक निर्माणमा लापर्वाही गरेपछि फिक्कल गुप्ती हुँदै नयाँबजार जोडिने सडक काम रोकिएको स्थानीय बताउँछन् । डेनमार्क सरकारको उन्नति समावेशी परियोजना अन्तर्गत १९ करोड ४७ लाखको लागतमा बन्दै गरेको १९ किलोमिटर दूरीको सडक अलपत्र भएपछि अहिले स्थानीय आक्रोशित बनेका छन् ।Dozer

१५ महिनामा काम सक्ने गरी २०७३ मंसिर १३ गते नागार्जुङ कन्सट्रकसन प्रा लि काठमाण्डौसँग सम्झौता भए पनि सम्झौता अनुसार काम नभएको माइजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राई बताउँछन् । अहिले निर्माणको जिम्मा लिएको ठेकेदार सम्पर्कमा नआइरहेको स्थानीयको भनाई छ ।

सम्झौता भएको एक बर्ष बितिसक्दा सडकको ५० प्रतिशत पनि काम नभएको र गुणस्तरको काम पनि नभएको स्थानीयको आरोप छ । ठाउँ–ठाउँमा सडक साँघुरो रहेको, निर्माण सामग्री कमसल भएको र स्तरीय सडक बन्न नसकेको अध्यक्ष राई बताउँछन् । यो सडकसँग माइजोगमाईवासीको सरोकार रहने भएकाले आफूहरु खबरदारीमा रहेको राईले बताए । ठेकेदार कम्पनीलाई मापदण्ड र सम्झौता अनुसार काम गर्न र अनुगमनका क्रममा भेटिएका कमजोरी सच्याउन माग गरिएको छ ।

सम्झौता अनुसार ६ दशमलव २५ मिटर चौडाईको १९ किलोमिटर सडक खण्डमा ग्राभेल आवश्यकता अनुसार पर्खाल र सबै क्षेत्रमा नाली निर्माण समेत गर्नुपर्ने उल्लेख भए पनि स्तरीय काम हुन नसकेको र सिमेन्ट गिटीलगायतका निर्माण सामग्रीको मापदण्ड अनुसार नभएको स्थानीय बताउँछन् । तर निर्माणको जिम्मा लिएको नागार्जुङ कन्सट्रकसन प्रालिले भने विभिन्न समस्याले काममा ढिलाइ भएको स्विकार्दै तत्काल सडक स्तरीय बनाउने बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७