भारतीयहरु रातको समयमा नेपाल छिर्न थालेपछि आठ जिल्लाका सीमा नाकामा पाँच करोडको ‘सिसीटिभी’


७ बैशाख २०७७, आईतवार
sima naka 2 1

जनकपुरधाम, ७ बैसाख । प्रदेश नं २ सरकारले नेपाल–भारत सीमानाकामा सिसीटिभी क्यामेरा जडान गर्ने भएको छ ।

लकडाउन तथा सीमानाका शिल गरिएको अवस्थामा पनि आवागमन नरोकिएपछि प्रदेश सरकारले आठै जिल्लाका विभिन्न नाकामा सिसीटिभी जडान गर्न लागेको हो ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजसिंह कुशवाहाले सो जानकारी गराउँदै भने, ‘नेपाल–भारत सीमा नाकामा सिसीटिभी क्यामेरा जडानका लागि करिब रु पाँच करोड खर्च हुनेछ । सीमामा कडा निगरानीका लागि यो कदम उठाउन लागिएको हो ।’

भारतसँग जोडिएको खुल्ला सीमाका कारण भारतबाट रातिराति लुकीछिपी मानिस नेपाल छिर्ने गरेको र त्यसले गर्दा कोरोना सङ्क्रमण रोकथाममा झन कठिनाइ भएको भन्दै सिसीटिभी क्यामेरा अर्को विकल्पका रुपमा अघि सारिएको बताए । यस्तै, सीमा नाकामा निगरानी बढाउनका लागि सुरक्षाकर्मीलाई १०० साइकल दिने तयारीमा समेत प्रदेश सरकार जुटेको मन्त्री कुशवाहाले जानकारी दिए ।
एक हजार २६५ क्वारेन्टाइनमा
प्रदेश नं २ मा शनिबार दिउँसोसम्म कोरोना भाइरस शङ्कास्पद ५५१ जनामा गरिएको स्वाब परीक्षणमा ५१२ जनाको रिपोर्ट निगेटिभ आएको छ । प्रादेशिक अस्पताल जनकपुरस्थित प्रयोगशालामा परीक्षण गरिएकामध्ये ३५ जनाको रिपोर्ट आउन बाँकी छ । चार जनाको रिपोर्ट यसअघि नै पोजेटिभ आइसकेको छ । शनिबार मात्रै दिउँसोसम्म छ जनाको स्वाब सङ्कलन गरिएको छ ।

त्यसैगरी आरडिटी किटबाट परीक्षणका लागि शनिबारसम्म एक हजार ८२२ जनाको स्याम्पल सङ्कलनमा एक हजार ८१९ जनाको रिपोर्ट निगेटिभ आएको छ भने तीन जनाको रिपोर्ट पोजेटिभ यसअघि नै देखाइसकेको छ । प्रदेश नं २ का स्वास्थ्य निर्देशनालयका अनुसार शनिबार मात्रै दिउँसोसम्म प्रदेशका आठ वटै जिल्लाबाट ९४० जनाको आरडिटी सङ्कलन गरिएको हो ।

हालसम्म पर्सा जिल्लाबाट सबभन्दा बढी ९२३ जनाको आरडिटी परीक्षण गरिएको छ जसमध्ये पोजेटिभ अहिलेसम्म नदेखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । त्यसैगरी सप्तरी जिल्लाबाट २८७ जनामा गरिएको परीक्षणमा दुई जनामा पोजेटिभ, सर्लाहीबाट ५४ जनामध्ये एक जनाको पोजेटिभ रिपोर्ट आरडिटीमा देखाएको छ ।

सिरहाबाट ११०, धनुषा र महोत्तरीबाट ५४–५४, रौतहटबाट २७८ र बाराबाट ६२ जनाको आरडिटी परीक्षण गरिएकामा सबैको रिपोर्ट निगेटिभ आएको छ । आरडिटी परीक्षणमा पोजेटिभ देखाइएकाको पुनः स्वाब परीक्षण गरिनेछ, त्यसमा पोजेटिभ देखिएपछि मात्रै आधिकारिक पुष्टि हुने प्रादेशिक अस्पताल जनकपुर प्रयोगशालाले जनाएको छ ।

त्यसैगरी प्रदेश नं २ भरिका १७१ वटा क्वारेन्टाइनमा एक हजार २६५ जना क्वारेन्टाइनमा रहेका छन् भने एक हजार ६७७ जना होम क्वारेन्टाइनमा रहेको स्वास्थ्य निर्देशनालयका प्रमुख डा. हरिशचन्द्र यादवले जानकारी दिए ।

डा. यादवका अनुसार सप्तरीमा ५८७ शैंयाको ३२ वटा, सिरहामा २५८ शैंयाको १७, धनुषामा ३६२ शैंयाको १७, महोत्तरीमा ३८८ शैंयाको १९, सर्लाहीमा ४१७ शैंयाको ३७, रौतहटमा ७०५ शैंयाको १६, बारामा ४०४ शैंयाको १७ र पर्सामा ४८८ शैंयाको १६ वटा क्वारेन्टाइन हालसम्म निर्माण भइसकेको छ ।

प्रदेशका आठ वटै जिल्लामा २२० शैंयासहितको आइसोलेशन वार्ड निर्माण भइसकेको छ । जसमध्ये सप्तरीमा १३, सिरहामा ४१, धनुषामा १२, महोत्तरीमा २६, सर्लाहीमा १५, रौतहटमा ३५, बारामा ४८ र पर्सामा ३० शैंयासहित आइसोलेशन वार्ड निर्माण गरिएको छ ।

तीमध्ये सिरहामा चार, धनुषामा चार, बारामा दुई र पर्सामा चारजना गरी प्रदेशभरिमा जम्मा १४ जना आइसोलेशन वार्डमा भर्ना भएको अवस्थामा रहेको निर्देशनालयका वरिष्ठ प्रशासकीय अधिकृत विजय झाले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७