सामुदायिक रेडियोमार्फत एसइई विद्यार्थीलाई ट्युसन कक्षा सञ्चालन


७ बैशाख २०७७, आईतवार
see
फाइल तस्बिर ।

बलेवा, ७ वैशाख ।  कोरोना भाइरसका कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगन भएपछि त्यसको तयारीमा रहेका विद्यार्थी मर्कामा परेको भन्दै जिल्लाको बरेङ गाउँपालिकाले स्थानीय सामुदायिक रेडियोबाट कक्षा सञ्चालनको तयारी थालेको छ ।

लकडाउन खुल्ने बित्तिकै परीक्षा तालिका सार्वजनिक गर्ने शिक्षा मन्त्रालयको तयारीलाई मध्यनजर गर्दै गाउँपालिकाले रेडियोमार्फत विद्यार्थीलाई ट्युसन कक्षा सञ्चालन गर्न थालेको हो । तयारीमा रहेका विद्यार्थीले लामो समय बिदामा बस्दा सिकेका कुरासमेत बिर्सिने र परीक्षामा समस्या आउने भएकाले रेडियोमार्फत पुनर्ताजगी कक्षा सञ्चालन गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताए ।

आइतबारदेखि बरेङमा रहेको सामुदायिक रेडियो बिहानीबाट बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म चार विषयको कक्षा सञ्चालन हुनेछन् । कक्षा सञ्चालनका लागि विषय शिक्षकले स्टुडियोबाट विद्यार्थीलाई जानकारीहरू प्रदान गर्ने र विद्यार्थीले सामाजिक सञ्जाल वा टेलिफोनमार्फत जिज्ञासा राख्न सक्ने व्यवस्था मिलाइएको थापाले बताए ।

“एसइईलाई लक्षित कक्षा सञ्चालन हुनेछ, परीक्षाको तयारी गराउँदा जसरी विद्यालयमा शिक्षकले पढाउँथे उसैगरी रेडियोबाट पढाइ हुन्छ”, थापाले भने, “यसले विद्यार्थीलाई धेरै सहज बनाउने छ, नसिकेका कुरा सिक्ने र बिर्सेका कुरा सम्झने अवसर हुनेछ ।” अङ्ग्रेजी, गणित, विज्ञान र सामाजिक शिक्षा विषयको कक्षा रेडियोबाट सञ्चालन हुनेछ । “हामीले गाउँपालिकाभित्र रहनुभएका विषय शिक्षकलाई अनुरोध गरेका छौँ”, गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले भने “उहाँहरूलाई गाउँपालिकाले पारिश्रमिक उपलब्ध गराउने छ ।” रेडियोमार्फत कक्षा सञ्चालन गर्ने शिक्षकका लागि गाउँपालिकाले प्रतिकक्षा रु ५०० पारिश्रमिक दिने विधि तयार गरेको छ ।

विद्यालय खोल्न वा ट्युसन, कोचिङ कक्षा सञ्चालन गर्न सम्भव नरहेकाले रेडियोको विकल्प खोजिएको शर्माले बताउनुभयो । रेडियोले प्रसारण गर्ने कार्यक्रमबाट जिल्लाको जैमिनी नगरपालिका, गल्कोट नगरपालिका र गुल्मीको शान्तिपुर क्षेत्रका अधिकांश विद्यार्थीले लाभ लिन सक्छन् ।

परीक्षा तयारी कक्षा नै सञ्चालन हुने भएकाले विद्यार्थीका लागि उपयोगी हुने गाउँपालिकाको दाबी छ । गाउँपालिकाले विद्यार्थीलाई लकडाउनको पूर्ण पालना गर्दै प्रविधिको प्रयोगमार्फत एसइईको तयारीलाई जारी राख्न अनुरोधसमेत गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७