हिम्मतले कोरोनालाई जितेर नयाँ जीवन पाएँ : राज विक {अन्तर्वार्ता}


८ बैशाख २०७७, सोमबार
raj bk scaled

लम्की, ८ बैसाख । नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । तिनमध्ये संक्रमण निको भएर चार जना घर फर्किसकेका छन् ।

सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलालीका २१ वर्षीय युवक राज विक पनि नतिजा नेगेटिभ आएपछि घर फर्किएका छन् । सेती अस्पतालमा उपचाररत पांँचमध्ये विक भारतको मुम्बईबाट गत चैत ८ गते घर फर्किएका हुन् । चैत १० गते धनगढीको गौरीफन्टा पुगेका उनी लकडाउनका कारण सीमामा रोकिएपछि प्रदेश सरकारले चैत ११ गते राति उद्धार गरी चैत १२ गते बिहान घर पुगेका थिए ।

घर पुगेलगत्तै लम्कीचुहा नगरपालिकाको क्वारेन्टाइनमा बसेका उनको कोभिड–१९ संक्रमणको नतिजा पोजेटिभ आएपछि चैत २२ गते सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेशनमा राखी उपचार शुरु गरिएको हो । स्वाब परीक्षण नतिजा दुई पटकसम्म नेगेटिभ आएपछि विकलाई अस्पतालले आइतबार घर पठाएको छ । आइतबार सांँझ ६ बजे घर पुगेका कोरोना विजेतासंँगको कुराकानीको अंश :

korona 1

आइसोलेशनमा तपाईको दिनचर्या कसरी बित्यो ?
म १६ दिन आइसोलेशनमा बसेर फर्किएको छु । नयांँ जीवन पाए जस्तै लागेको छ । अस्पतालमा बस्दा फेसबुक चलाए, युट्युबमा विभिन्न भिडियो, चलचित्र हेरेर बस्थें, फोनमा धेरै साथीहरुसंँग कुराकानी गर्थे ।

अस्पतालले ‘भागवत गीता’ दिएको थियो, त्यो पनि पढेंं । अस्पतालमा हामी पांँच जना संक्रमित थियौं । हामीलाई अलगअलग कोठामा राखिएको थियो । हामी आफ्नो कोठाको बाहिर निस्केर एक आपसमा गफ गथ्र्याै । एक अर्काका समस्याबारे जानकारी लिन्थ्यौं । हामी सबैलाई खासै समस्या थिएन ।

डाक्टर र नर्सको व्यवहार कस्तो पाउनु भयो ?
डाक्टर, नर्सहरुले निकै राम्रो व्यवहार गरे । हाम्रो कोठामा भने कोही आएनन् । खानेकुरा र औषधि झ्यालबाटै दिन्थे । फोन गरेर पटक पटक जानकारी लिन्थे । बाहिरबाट हेर्थे, कुरा गर्थे, रमाइलो कुरा गरी हंँसाएर जान्थे । एक दिन भने एक जना डाक्टर मेरो नजीकै आउनु भएको थियो । उहांँले नआत्तिन आग्रह गर्नुभयो । हामी तपाईको साथमा छौंं भन्नुभयो, निकै खुशी लागेको थियो ।

कत्तिको डराउनु भएको थियो, अन्य बिरामी कत्तिको त्रसित थिए ?
कोभिड –१९ लाग्यो भनेपछि त्यसै डरलाग्दो रहेछ । संक्रमण भयो भनेपछि मलाई तनाव भयो । हामी पांँच जना संक्रमित पनि एक आपसमा भेट्नै डर लागेको थियो । रोग लागेको छ भनेपछि बांँच्नु पर्छ भन्ने लाग्दोरहेछ ।

जीवनमा देखेका सपनाहरु सम्झिएँ, जीवन के हो त्यतिखेर बुझेंं । डाक्टरहरुसँंग कुरा गर्दा हिम्मत मिल्ने रहेछ । मलाई कुनै पनि लक्षण भने देखिएको थिएन तर पनि संक्रमण देखियो भनेपछि अलि डराएको थिएँ । कोरोना संक्रमण भएका बिरामी राखिएका छन् भनेपछि हामी बस्ने वार्डमा अन्य कोही मानिस आउंँदैनथे । डाक्टर र नर्स बाहेक अन्य कोही आएनन् ।

तपाईलाई के–के लक्षण देखिएको थियो ?
मलाई केही समस्या नै भएन । मलाई कुनै पनि लक्षण देखिएन । ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या जस्ता कुनै लक्षण थिएनन् । म एकदमै स्वस्थ थिएँ । लक्षण नदेखिएपछि शुरुका केही दिन त मैले डाक्टरहरुलाई म संक्रमित छैन भनेर जिद्दी गरें । मलाई मात्र होइन अन्य चार जनालाई पनि खासै समस्या छैन । धनगढीका विदेशबाट आएका दाइलाई भने खोकी लाग्थ्यो । अरु सबै सामान्य छन् ।

अब कसरी बस्नु हुन्छ ?
म विपन्न परिवारको मानिस हुंँ । म भारतको होटलमा खाना पकाउने काम गर्थे । मैले कमाएर मेरो घर चलेको छ । अहिले त केही दिन छुट्टै बस्छु । घरमा आफै पकाएर खान मिल्ने व्यवस्था छैन तर छुट्टै बस्ने, कसैलाई नछुने, सुरक्षित तवरले बसेको छु । म घर फर्केपछि मेरी आमा धेरै खुशी हुनुभएको छ । घरमा हामी ११ जनाको परिवार छ । मेरो आमाका सपना पूरा गर्नुछ । एक हप्तापछि पुनः परीक्षण गर्ने भनिएको छ । अहिले त डाक्टरहरुले भनेअनुसार बस्छु । पछि त काम गर्नैपर्छ, नत्र जीवन कसरी चलाउनू ?

कोभिड –१९ संक्रमणबाट बच्न अन्यलाई के सुझाव दिनु हुन्छ ?
मैले अस्पताल बस्दा तातोपानी धेरै खाएँ । पटक पटक खाना, फलफूल खाएँ । खानपिनमा ध्यान दिनुस् । लकडाउन पालना गराैं । सकेसम्म एक आपसमा टाढा रहाैं । संक्रमण देखिहाले पनि नआत्तिन अनुरोध गर्छु । हिम्मत भए सञ्चो हुन्छ ।

कोरोना लाग्यो भनेपछि मानिस बढी आत्तिने रहेछन् । नआत्तिए रोग जित्न सकिन्छ । मलाई साथ दिने र सहयोग गर्ने सबैलाई धन्यवाद । मेरो उपचारमा खटिने डाक्टर, नर्स, लम्कीचुहा नगरपालिका, साथीभाइ, मेरो स्वास्थ्य लाभको कामना गर्नेहरुप्रति आभारी छु ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७