तपाईंको जीमेलमा कोरोनासम्बन्धी सूचना आइरहेको छ ? ‘फिसिङ’ मेलले फसाउँला


८ बैशाख २०७७, सोमबार
facebook in girls with laptop

काठमाडौं, ८ बैसाख । के तपाईको जीमेलमा कोरोनासम्बन्धी सूचनाहरु आइरहेको छ ? यदि यसो हो भने तपाई यसबाट सावधान हुनुहोला ।

अहिले विश्वभर कोरोना संक्रमणको महामारी फैलिरहेका बेला सहयोगी हात मात्र होइन, अपराधी गिरोह पनि मौका छोपेर बसिरहेका छन् । आफ्ना कुत्सित उद्देश्य प्राप्तिका लागि अहिले त्यस्ता गिरोह अनेक रूपमा प्रकट भइरहेका छन् ।

यसै क्रममा अहिले इन्टरनेटमा एउटा गिरोहले जीमेल प्रयोगकर्तालाई सिकार बनाउने खोजिरहेको पाइएको छ । गुगलका अनुसार कोरोना महामारीको जानकारी दिने नाममा यो गिरोहले जीमेल प्रयोकर्तालाई अहिले हरेक दिन १ करोड ८० लाख इमेल पठाइरहेको छ । अहिले विश्वभर नै ‘फिसिङ अट्याक’ बढिरहेको गुगलले जनाएको छ ।

यसअन्तर्गत अपराधीले इमेल प्रयोगकर्तालाई विभिन्न प्रलोभन देखाएर पासवर्ड, क्रेडिट कार्ड डिटेलजस्ता व्यक्तिगत जानकारी लिने गर्छ । गुगलका अनुसार त्यस्ता अपराधीले जीमेल प्रयोगकर्तालाई विभिन्न प्रकारका इमेल पठाइरहेका छन् ।

केही इमेल विश्व स्वास्थ्य संगठनजस्ता संस्थाका नामबाट समेत पठाइरहेको पाइएको छ । जसमा जीमेल प्रयोगकर्तालाई कुनै सफ्टवेयर डाउनलोड गर्न उक्साइन्छ वा बहाना बनाएर चन्दा मागिन्छ ।

ठग्ने उद्देश्यले पठाइएका त्यस्ता ९९ दशमलव ९ प्रतिशत इमेल आफूले आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिमार्फत ब्लक गरिरहेको गुगलले दाबी गरेको छ । साइबर सुरक्षासँग सम्बन्धित कम्पनीले पनि कोरोना भाइरसका नाममा पठाइएका ‘फिसिङ इमेल’ मा निगरानी गरिरहेको जनाएका छन् ।

साइबर सुरक्षासम्बन्धी एक जना सोधकर्ता स्कट हेल्मका अनुसार अहिले कोरोना महामारीका कारण मानिस चिन्तित भइरहेको बुझेर साइबर अपराधी आफूले पठाएको इमेल प्रयोगकर्ताले पक्कै खोल्छन् भन्ने विश्वासले यस्तो ठगी अभियान चलाएका हुन् ।

बीबीसीका अनुसार अनुसन्धानकर्ताले कोरोनाबारे जानकारी दिने नाममा नक्कली वेबसाइट र मोबाइल एप्स बनाइएको पनि पत्ता लगाएका छन् । कोरोना भाइरस रोक्न मद्दत पुग्ने दाबी गर्दै त्यस्ता नक्कली एप पनि उनीहरूले बनाएका छन् ।

तर त्यस्ता एप डाउनलोड गर्दा मोबाइल रेन समवेयर अर्थात् सूचना चोर्ने उद्देश्यले बनाइएको प्रोग्रामको सिकार हुने र त्यसपछि मोबाइल पहिलेकै स्थितिमा ल्याउन चाहने भए सम्बन्धित व्यक्तिसँग पैसा मागिने अनुसन्धानकर्ताले जानकारी दिएका छन् । यसबाट सजग रहन अनुसन्धाकर्ताले सम्बन्धित सबैमा अनुरोध गरेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७