लकडाउनका कारण चिन्तित इलामका किसान चिया टिप्न पाएपछि खुशी


८ बैशाख २०७७, सोमबार
tea garden Ilam Nepali pretty girl

 

मङ्गलबारे, ७ वैशाख । देशैभरको बन्दाबन्दी (लकडाउन) का कारण बेला भएको चिया टिप्न नपाउँदा छिप्पिएला भन्ने चिन्तामा रहेका इलामका चिया किसान अहिले भने खुशी भएका छन् । उनीहरूले चिया टिप्न शुरु गरेका छन् र बिक्रीको व्यवस्था पनि भएको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले बन्दाबन्दी गरेपछि बन्द भएका इलामका चिया बगान र कारखाना शुक्रबारदेखि सञ्चालनमा आएसँगै किसानको चिया बिक्री पनि हुन थालेको छ ।

चिया टिप्न नपाएको चिन्ताले पिरोलिएका इलाम नगरपालिका–२ का चिया किसान मात्रिका खतिवडा अहिले खुशी देखिन्छन् । चिया टिप्न पाएपछि र बिक्री पनि शुरु भएपछि चिया खेर जाँदैन भनेर उनी खुशी भएको हो । तर खतिवडालाई चियाको पैसा कहिले आउँछ भन्ने चिन्ताले भने छोडेको छैन । खतिवडाले भने, “उद्योगहरूले किसानको चिया खेर नजाओस् भनेर मात्र उठाउन थालेका छन्, कतै उद्योगहरूले चियाको पैसा एक वर्षपछि दिने शर्तमा त कतै प्रचलित मूल्यभन्दा आधा रकममा खरिद गर्नेगरी चिया उठाउन शुरु गरेका छन् । पैसा कहिले आउने हो त्यो त थाहा छैन तर बेला भएको चिया टिप्न पाइयो, बिक्री पनि शुरु भयो थोरै भए पनि खुशी नै छौँ ।”

त्यस्तै देउमाई नगरपालिका–२ का किसान बालकृष्ण खतिवडाले पनि बगानबाट चिया टिप्दै इलाम नगरपालिका–१ स्थित साखेजुङमा रहेको प्रशोधन केन्द्रलाई दिन थालेको बताउनुभयो । तर भाउको कुरा नभएको उनको भनाइ छ । साखेजुङस्थित कञ्चनजङ्घा चिया प्रशोधन केन्द्रमा चिया बेच्न थालेका उनलाई नजिकै रहेको साङ्ग्रिला चिया प्रशोधन केन्द्रले दिएको दर नघटाउने शर्त राखिएको छ ।

सूर्योदय नगरपालिकाको पहलमा चिया नगरभित्र रहेका चिया उद्योग तथा कारखाना पनि खुलेका छन् । उद्योगी, व्यवसायी र चिया किसानबीच भएको छलफलपछि चिया टिप्ने र कारखानालाई दिने सहमति भएको हो । तर उच्च सुरक्षा अपनाएर मात्र चिया टिप्ने र कारखाना सञ्चालन गर्ने सहमति भएको हो । टिप्ने बेला भएको चिया टिप्न नपाएर छिप्पिने र कतै यसै खेरजाने व्यापक गुनासो किसानको आएपछि बन्दाबन्दीको तीन हप्तापछि यस्तो सहमति भएको बताइएको छ ।

केही दिनअघि सूर्योदय नगरपालिकाले कोरोना भाइरसबाट बचेर काम गर्न १८ बुँदे सुरक्षा रणनीति अपनाएर चिया बगान र उद्योगमा काम गर्नसक्ने अपिल जारी गरेको थियो । नगरको उक्त १८ बुँदे सुरक्षा रणनीतिका विषयमा सूर्योदय टि प्रोड्युसर्स एशोेसिएसनले सहमति जनाउँदै सुरक्षा अपनाएर चिया बगान र कारखाना खोल्न तयार भएसँगै बगान र कारखाना सञ्चालनमा आएको नगरपालिकाका प्रमुख रणबहादुर राईले बताए । कारखानाले अब चिया प्रशोधनको कामसमेत थालेका छन् ।

चिया बगान सञ्चालन गर्ने सहमति भएसँगै चिया क्षेत्रमा संलग्न किसान खुशी भएका छन् । चियाको राजधानीका रूपमा चिनिने सूर्योदय नगरपालिकाका चिया बगानमा किसान र उद्योगले स्वास्थ्यसम्बन्धी उच्च सुरक्षा अपनाएर काम गर्न थालेका छन् ।
सूर्योदय टि प्रोड्युसर्स एशोसिएसनका अध्यक्ष पुनम बान्तवा राईले लामो समय फस्ट फलस (पहिलो टिपाई) को चिया खेरजाँदा किसान र उद्योगलाई अरबौँ रुपैयाँ घाटा हुने भन्दै चिया बगान र कारखाना सञ्चालनमा ल्याइएको बताए ।

उनका अनुसार हाल काम गर्न आउने कर्मचारीको ज्वरो परीक्षण गरेर मात्र कारखानाभित्र प्रवेश गर्ने गरिएको छ । हाल प्रशोधनको काम मात्र गरिएको र ‘प्याकिङ’ र ‘ग्रेडिङ’को काम भने पछि लकडाउन सकिएपछि मात्र गरिने उनले जानकारी दिए । सूर्योदय टि प्रोड्युसर्स एशोसिएसन नगरभित्र रहेका चिया उद्योगको छाता सङ्गठन हो । यसमा निजीस्तरबाट सञ्चालित ५३ वटा चिया उद्योग आबद्ध छन् ।

लकडाउनका कारण चिया टिप्न नपाएपछि इलामका चिया बगानमा पहिलो टिपाइ गरिसक्नुपर्ने चिया पनि बोटमै हुर्किरहेको अवस्थामा प्रदेश नं १ सरकार र सूर्योदय नगरपालिकाको पहलमा चिया टिप्नका लागि स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड तयार पारिएको छ ।

इलाममा चियाको पहिलो टिपाइ शुरु भइसक्दा पनि कोरोना सङ्क्रमणपछि गरिएको लकडाउनका कारण चिया टिपाइ हुन सकेको थिएन । ‘सिजन’को चिया बगानमै हुर्किएपछि उद्योगी व्यवसायीले समेत चिया क्षेत्रमा जोखिम कम गरेर बगान र कारखाना सञ्चालन गर्न माग गर्दै आएका थिए ।

नगरपालिकाले १८ वटा बुँदामा सचेत भएर मात्र किसान, उद्योगी र व्यापारीलाई चिया टिप्ने र कारखानामा लैजाने काम गर्न मापदण्ड तयार पारेको छ । नगरले चिया टिप्न जाँदा प्रत्येक चार÷चार बुटाबीचको सामाजिक दूरी कायम गरेर मात्र चिया टिप्न पाउने निर्णय गरेको छ । नगरप्रमुख राईले नगरले बनाएका मापदण्ड पालना गरे÷नगरेको वडा कार्यालयको पहलमा अनुगमन गरिएकोे बताए ।

नगरले चिया टिप्ने किसान, मजदुर, उद्योगीले अनिवार्य रूपमा मास्क र पञ्जा लगाउने तथा समय समयमा साबुन पानीले हात धुने र स्यानिटाइजर प्रयोग गर्नुपर्ने निर्णय गरेको छ । चिया टिप्ने र चिया बगान तथा क्षेत्रमा काम गर्ने मजदुरले खाजा पानीसमेत घरबाटै लानुपर्ने नियम नगरपालिकाले बनाएको छ । दिउँसो २ बजेसम्ममा किसानले चिया टिपेर सङ्कलन केन्द्रमा लैजानुपर्ने र सङ्कलन केन्द्रले साँझ ४ बजेसम्ममा उद्योगमा पुर्याइसक्नुपर्ने छ ।

किसान र उद्यागले चिया ढुवानी गर्दा एक बोरामा ३० किलोग्रामसम्म मात्र राख्नुपर्ने, कारखानामा तीनजना र ढुवानी गर्ने सवारी साधनमा दुईजना मात्र मजदुर राख्नुपर्ने, श्रमिक र कामदारको विवरण अनिवार्य वडामा बुझाउनुपर्ने र समय समयमा कामदारको स्वास्थ्य परीक्षण गराइरहनुपर्ने नगरले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ । इलाम बजारमा रहेको चिया बगान, माई नगरपालिका र देउमाई नगरपालिका तथा जिल्लाभर सञ्चालनमा रहेका चिया कारखाना तथा बगानमा लकडाउनकै समयमा पनि काम गर्ने वातावरण निर्माण गरिएको छ ।

सिजनको शुरुको अर्थात् फस्ट फलसको चियाको मूल्य कारखानाले पनि बढी नै दिने गरेका छन् । कारखानाले उत्पादन गरेको फस्ट फलसको चिया विश्व बजारमा समेत राम्रो मूल्यमा बिक्री हुने गरेको छ । इलाममा पाँच हजार ५८२ साना किसान चियामा आश्रित रहेका छन् । इलाममा फस्ट फलसबाट वर्षेनी २५ देखी ३० लाख किलोग्राम हरियो चियापत्ती उत्पादन हुन्छ । जसबाट पाँच लाख किलोग्रामभन्दा बढी तयारी चिया बन्ने गरेको छ । फस्ट फलसको चिया टिप्न नपाउँदा इलामसहित पूर्वी जिल्लाका किसानलाई करोडाैँ रुपैयाँ घाटा भइसकेको छ ।

लकडाउनमा घरमै बसेका मजदुरहरू पनि काममा फर्किएका छन् । शुरुमा चियामा काम गर्न नपाइएला भन्ने चिन्तामा बसेका मजदुर चिया टिप्न पाएकामा खुशी भएका हुन् । मजदुरहरूले सरकारी चिया बगानमा काम गरेको समेत दैनिक ज्यालादारीकै रूपमा पारिश्रमिक पाउने गरेका छन् । दैनिक १८ किलो चिया टिप्ने मजदुरले दैनिक रु ३८५ पाउने प्रावधान छ । यदि १८ किलोभन्दा माथि चिया टिपे प्रतिकिलो रु आठका दरले पारिश्रमिक बढ्छ । तर दैनिक १८ किलो चिया नपिटे दैनिक ज्यालामा उसैगरी दैनिक नै प्रतिकिलो आठ रुपैयाँका दरले घट्दै जान्छ ।

यसवर्ष समयमा नै वर्षा भएका कारण किसानहरू खुशी भएका छन् । समयमा नै वर्षा भएका कारण छिटो चिया पलायो । कारखानाले चिया नलिएको भए हुर्किएको चिया नाश हुने तथा चिया नटिप्दा वर्षभरि नै कम चिया पलाउने हुन्छ । पहिलो टिपाइ समयमै नगरिएमा अन्य टिपाइमा समस्या हुने चिया किसानको भनाइ छ । बेलैमा पानी परेकाले शुरुवाती अवस्थामा नै चियाको मुना पनि बाक्लै पलाएको छ । चिया बगानमै पहिलो टिपाइ पनि हुर्किने र छिप्पिने त्रास अब हटेको छ । दुई पात एक सुइरो चिया सबैभन्दा उत्तम मानिन्छ । तर कतै लामो चियासमेत टिप्नु परेको छ ।

इलाममा धेरै चिया उत्पादन हुने भएकाले जिल्लालाई चियाको जिल्ला समेत भनिन्छ । युरोपेली देशका चिया व्यापारीहरू यहाँ आएर महिनौ दिन बिताउने भएकाले यहाँ सञ्चालित होटलहरूमा समेत असर देखिएको छ । उत्पादित र प्रशोधित चिया विदेश निर्यात हुने गरेको थियो । चिया चाख्न आउने विदेशी व्यापारीहरू समेत आउने अब आउने नआउने थाहा नभएकोले चिया किसानमा पनि चन्ता उत्तिकै रहेको छ । उद्योगीहरूले उत्पादन गरेको चिया खरिद गर्नका लागि विभिन्न देशहरूबाट व्यापारी वर्षेनी आउने गरेका थिए । उनीहरूले चिया चाखेर राम्रो स्वाद भएको चिया खरिद गरेर लैजाने गर्दछन् । यसरी उनीहरूले लगेको चिया आफ्नो दशेमा विक्री भएपछि समय समयमा मगाउने गरेका छन् ।

दाहालबन्दु अर्थोडक्स चिया प्रशोधन उद्योगका सञ्चालक मोतीराम दाहालले चिया प्रशोधन भए पनि समस्या थपिएको बताए । इलाम नगरपालिका–१ मा दाहालले चिया उद्योग सञ्चालन गर्नुभएको छ । विगत वर्षहरूभन्दा उत्पादन र चिया निकासी बढाउने दाउमा रहेका दाहालका सपना कोरोना भाइरसका कारण भएको लकडाउनले समाप्त पारिदिएको महसुस उनलाई भएको छ । उनको जस्तो चिन्ता यहाँका सबै कारखानामा देखिन्छ ।

पहिलो टिपाइको चिया गुणस्तरीय हुने भएकाले मूल्य पनि उच्च नै हुन्छ । तर यतिबेला भने किसानहरू टिप्नमात्र पाए हुन्थ्यो भन्ने चेपुवामा छन् । यसलाई जति छिटो बजारमा लग्यो उति नै बढी फाइदा हुनेथियो तर यसवर्ष वातावरण नै मिलेन । पहिलो टिपाइलाई नेपालमा मात्र नभएर भारत, युरोप अस्ट्रेलियाजस्ता देशमा समेत उच्च गुणस्तरको मानेर लैजाने गरिएको छ । नेपालमा पनि पहिलो टिपाइको हरियो पत्ति प्रतिकिलो रु ६० देखि ७० सम्ममा खरिद गर्ने यहाँका उद्योगहरू अहिले भने आफैँ अप्ठेरोमा परेका छन् । जाडो बढेसँगै गएको कात्तिक अन्तिमबाट चिया टिप्न छोडिएको थियो । चियाकफी विकास बोर्डको तथ्याङ्कअनुसार इलाममा पाँच हजार ५८२ परिवार चियामा आश्रित छन् ।

इलाममा तीन हजार ३९३ हेक्टरमा चियाखेती छ । चियाखेतीबाट वार्षिक १५ हजार ९७१ मेट्रिक टन हरियो चियापत्ती उत्पादन हुने गरेको छ । यतिबेला गुणस्तरीय चियालाई नै खेर फाल्नु नपरोस् भनेर किसान तथा उद्योगीहरू प्रार्थना गरेर बसेका छन् । उत्पादित चिया विदेशी बजारमा जाला या नजाला भन्ने बारेमा भने कोरोना सङ्क्रमण रोकिएपछि मात्र थाहा हुने देखिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७