साढेले कट्टु लगाउँदैन ट्रम्प जी !


८ बैशाख २०७७, सोमबार
donald Trump scaled

ट्रम्प महोदय ,
तपाई कमजोर राज्यको दुखी शासक हैन
तपाईको राज्यमा कसरी बज्न सक्छ
शोकको शंख 
तपाइको राज्यमा कसरी रेटिन सक्छ
भोकको सारङ्गी
तपाईको दुनियाँमा कसरी लेखिन्छन् र
पिडाका दर्दनाक कथा
तपाईको धर्तीमा कसरी खनिन्छन् र
हजारौँ चिहान

तपाई फूलै फूलको सुवासमा
रमाइरहेको शासक
कसरी फैलन सक्छ र गन्ध
लासको
भ्रम बोकेर हिँडिरहेछ यति बेला
तपाइको इतिहासको !
तपाई अझै ढुक्क हुनुहोस् महोदय ,
सारा लोकले भनिरहोस् न कुरी-कुरी
साढेले कट्टु लगाउँदैन ट्रम्प जी !

महोदय,
बलवानहरूलाई के मतलब मृत्युको ?
सयौँ जीवितहरूको रगत चुसेर नै
बाघ बलवान भएको हो
कयौँको हिंसा गरेर नै
सिंह डरलाग्दो भएको हो ।

खस्कनु भएन शक्ति
भत्कनु भएन साम्राज्य
यी बाहेक परोस् न
जस्तोसुकै विपत्ति
तपाई उत्सव मनाइरहन सक्नुहुन्छ ट्रम्प जी
कसले रोक्न सक्छ तपाइलाई ?
यो लोकमा , यो युगमा
साढेलाई वस्त्र लगाइदिने हिम्मत
कसैले गरेका छैनन् ट्रम्प जी ।

महोदय,
दुनियाँ कै तपाइ खतरनाक शासक हो
साधारण आशुले शासक पग्लनु हुँदैन
झिल्को उड्दैमा शासक खरानी हुँदैन
मृत्यु को पर्खाइमा झ्यालबाट चिहाइरहेका
बिरामीहरूको आँखामा
हत्तपत्त शासक देखिनुहुँदैन
जतिसुकै दन्क्योस न आगो
शासक सजिलै डढ्नु हुँदैन
महोदय ,
एउटा खतरनाक शासकले
खरानीमाथि मात्रै पनि शासन गरी रहन सक्छ ।

चरम सङ्कटले विश्व गल्यो भनेपनी
तपाई गल्नु हुँदैन ट्रम्प जी
किनकि
साढेले कट्टु लगाउँदैन ट्रम्प जी ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७