टी–२० श्रृंखला : दक्षिण अफ्रिकाको श्रीलंका भ्रमण स्थगित


९ बैशाख २०७७, मंगलवार
Srilanka2020 04 21 06 42 43

काठमाडौं, ९ बैसाख । डेढ महिनापछिका लागि तय भएको दक्षिण अफ्रिकाको श्रीलंका भ्रमण स्थगित भएको छ ।

कोरोना भाइरस महामारीका कारण भ्रमण स्थगित गरिएको क्रिकेट दक्षिण अफ्रिकाले जनाएको छ । दक्षिण अफ्रिकाले आगामी जुनको पहिलो साताबाट श्रीलंकामा तीन–तीन खेलको एक दिवसीय र टी–२० शृंखला खेल्ने तय भएको थियो । एक दिवसीयतर्फको श्रृंखला अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसिसी) को नयाँ प्रतियोगिता एक दिवसीय लिगअन्तर्गतको प्रतिस्पर्धा हो ।

‘हामी यो भ्रमण रद्द गर्न बाध्य भएका छौँ । यसले हामीलाई दुःखित तुल्याएको छ,’ क्रिकेट दक्षिण अफ्रिकाका प्रमुख कार्यकारी ज्याक फउलले भने, ‘जब अवस्था सामान्य बन्नेछ, त्यसपछि हामी पुनः प्रतियोगिताका लागि नयाँ मिति तय गर्नेछौँ ।’

कोरोना भाइरस महामारीका कारण अहिलेको अवस्थामा अभ्यास समेत गर्न नसकिएकाले पूर्व निर्धारित मितिमा प्रतियोगिता खेल्न असम्भव भएको उनले बताए ।

‘हाम्रै देशमा पनि अहिले लकडाउनका कारण खेलाडीले नियमित अभ्यास गर्न सक्ने अवस्था छैन,’ उनी भन्छन्, ‘यो खेलाडीको स्वास्थ्यको ख्याल गर्नुपर्ने समय पनि हो । त्यसैले प्रतियोगितामा सहभागिता असम्भव बन्यो ।’ क्रिकेट दक्षिण अफ्रिकाका निर्देशक ग्रेम स्मिथले समेत अवस्था सामान्य बनेपछि पनि खेलाडीलाई तयारी गर्न कम्तीमा ६ साता लाग्ने बताएका थिए ।

दक्षिण अफ्रिकाले अब आगामी जुलाई र अगस्टमा वेस्टइन्डिजको भ्रमण गर्दैछ । जसमा दुई टेस्ट र पाँच टी–२० खेलको श्रृंखला खेल्दैछ । यो भ्रमणको मिति भने क्रिकेट दक्षिण अफ्रिकाले परिवर्तन गरेको छैन ।

आइसिसीको नयाँ प्रतियोगिता एक दिवसीय लिग आगामी मेबाट सुरु हुने तय थियो, जुन आगामी २०२२ सम्म चल्नेछ । लिगमा १२ टेस्ट राष्ट्र र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्दैछन् । नेदरल्यान्ड्स विश्व क्रिकेट लिग च्याम्पियनसिपमार्फत यस नयाँ प्रतियोगिताका लागि छनोट भएको हो ।

लिगको समाप्तिपछि शीर्ष आठ टोली सीधै सन् २०२३ मा आयोजना हुने एक दिवसीय विश्वकप क्रिकेटका लागि छनोट हुनेछन् । ‘यो प्रतियोगिता हाम्रा लागि निकै महत्वपूर्ण थियो । एक दिवसीय श्रृंखला आइसिसीको नयाँ प्रतियोगितामा आफ्नो पकड बनाउन महत्वपूर्ण थियो ।

टी–२० खेलले यसै वर्ष अस्ट्रेलियामा आयोजना हुने तय भएको विश्वकपका लागि राम्रो तयारी हुने थियो,’ प्रमुख कार्यकारी फउल भन्छन्, ‘यो निर्णय खेलाडीका लागि समेत सह्य हुने कुरो भएन किनभने खेलाडीहरू पनि मैदानमा खेलेर आफूलाई सशक्त बनाइराख्न चाहन्थे ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७