समय कि शासक अपराधी ?


९ बैशाख २०७७, मंगलवार
bhimjuwala rai poem scaled

काठमाण्डौंबाट
पैदलै घर हिँडेका
मजदुरहरूको पैतालाबाट
बगेको रगत हेरेर
तिम्रो मन बदलिएनछ


भाइरस भन्दा
भोकसँग पराजित
गरिबहरूको कहर सुनेर
तिम्रो ढुङ्गे मन गलेनछ
सवालको जवाफ होइन
आहतमा परेकालाई
राहत चाहिएको थियो
बदलामा
तिम्रो शासन झेलिरहे छु
शक्तिको दुरुपयोग हेरिरहेछु
सत्ताको जुवा खालमा
देशलाई च्याँखे थापेर
बेमौसमी राग सुनिरहे छु


सम्झना ताजै छ
तिमीले देखाएको
सपनाको जलपलाई
समृद्ध देशको मानचित्रमा
लिपपोत गरेर
खुसीले रमाएको थिए
तिम्रा रसिलो कुरा सुनेर
धेरै पटक हाँसेको थिए


वर्तमान
निरोको
बाँसुरी धुन सुनेर
जलिरहेको सहर सङ्गै
जलिरहेछु

९ बैशाख २०७७
ढोलाहिटी, ललितपुर

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७