स्वास्थ्य सामग्री खरिद गर्न चिनियाँ कम्पनीसँग सम्झौता


१० बैशाख २०७७, बुधबार
bigyandev pandey

काठमाडौं, १० बैसाख । जंगीअड्डाले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री खरिद गर्न चिनियाँ कम्पनीसँग सम्झौता गरेको छ ।

नेपाली सेनाले १ करोड ८४ लाख ४१ हजार ७ सय ६ दशमलब ३५ अमेरिकी डलर बराबरको (२ अर्ब २० करोड रुपैयाँ बढी) स्वास्थ्य सामग्री खरिद गर्न चिनियाँ कम्पनी ‘चाइना साइनो फर्म इन्टरनेसनल कर्पोरेसन’ सँग सम्झौता गरेको हो ।

सम्झौता पत्रमा चीनको वाणिज्य मन्त्रालयका अधिकारी र नेपाली सेनाको तर्फबाट संभाररथीले हस्ताक्षर गरेका छन् । सम्झौता भए बमोजिम जंगी अड्डाले चिनियाँ सरकारी कम्पनी ‘चाइना साइनो फर्म इन्टरनेसनल कर्पोरेसन’ लाई उक्त रकम अग्रिम भुक्तानी गरिसकेको छ । बढीमा १० दिन भित्रमा अत्यावश्यक सामाग्रीहरु नेपाल आइसक्ने छ ।

विश्वका ८० वटा मुलुकले उक्त कम्पनीबाट स्वास्थ्य सामग्री खरिद गरिसकेका छन् । नेपाल उक्त कम्पनीको ८१ औं नम्बरमा छ । चिनियाँ कम्पनीले रकम प्राप्त गरेको जवाफ समेत जंगी अड्डालाई दिइसेकेका छ ।

जंगी अड्डाले कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि सरकार–सरकार (जीटूजी) प्रक्रियामार्फत चीन र भारतबाट स्वास्थ्य सामाग्री खरिद गर्ने निर्णय गरेको थियो । औषधि खरिदका लागि भारतसँगको प्रक्रिया भने टुंगिने क्रममा छ । नेपाली सेनाले भारतसँग औषधि खरिदबारे छलफल भइरहेको जनाएको छ ।

भारतबाट ५३ प्रकारका औषधिहरु ल्याउने तय भएको छ । यद्यपी भारतसँग औषसधि खरिदबारे सम्झौता भइसकेको छैन । सरकारले अन्य माध्यमबाट ल्याउन ढिलाइ हुने देखेपछि सेनालाई यो कामको जिम्मेवारी दिएको थियो । भारतबाट ल्याइने औषधिका बारेमा समेत केही दिन भित्रै टुंगो लाग्ने नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाले वैशाख ७ गते चिनियाँ कम्पनीलाई रकम भुक्तानी गरे लगत्तै औषधि खरिद सम्झौता गरेको थियो । रकम पाइसकेपछि सातदिन भित्रमा चीनको ग्वान्झाउमा ६७ प्रकारका स्वास्थ्य सामग्री ल्याइदिने सम्बन्धित कम्पनीले नेपाली सेनालाई जानकारी दिएको छ ।

ग्वान्झाउबाट नेपाली सेनाले स्वास्थ्य सामग्री नेपाल ल्याउने छ । नेपाल ल्याउनु पर्ने स्वास्थ्य सामग्रीको वजन ३ सय ४२ टन छ । सोही बमोजिम जंगी अड्डाले हवाइ र स्थलमार्गबाट ती सामग्री नेपाल ल्याउने प्रक्रियाबारे छलफल गरेको छ ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले तत्कालका लागि अत्यावश्यक स्वास्थ्य सामग्री हवाइ माध्यमबाट ल्याउने तयारी भइरहेको बताए । प्रवक्ता पाण्डेले भने, सबै स्वास्थ्य सामग्री हवाइ माध्यमबाट ल्याउँदा ढुवानी खर्च धेरै लाग्छ ।

अत्यावश्यक सामग्री हवाइ माध्यमबाट ल्याउने र बाँकी सामग्री स्थलमार्गबाट ल्याउने तयारी भइरहेको छ ।’ हवाइ माध्यमबाट पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट(पीपीइ), एन ९५ मास्क, पीसीआर टेस्टका लागि आवश्यक सामाग्री ल्याइने छ ।

स्थलमार्गबाट स्वास्थ्य सामग्री ल्याउन चीन र नेपालमा रहेका ढुवानी एजेन्टसँग नेपाली सेनाले छलफल गरिरहेको छ । सैनिक प्रवक्ता पाण्डेले भने, ‘यथासक्य चाँडो स्वास्थ्य सामग्री ल्याउँछौं ।’ औषधि र स्वास्थ्य सामग्रीलाई आवश्यकताको आधारमा क्रिटिकल, प्रायोरिटी १, २ र ३ गरी चार तहमा बाँडिएको छ । सोहीअनुसार ढुवानी गरिने नेपाली सेनाले जनाएको छ ।

स्थलमार्गबाट स्वास्थ्य सामग्री ल्याउँदा चीनको ग्वान्झाउबाट तिब्बत हुँदै एक सातामा तातोपानी नाका आइपुग्ने छ । जंगी अड्डाले पठाएको पत्रमा भारत र चीनले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि आवश्यक औषधि र स्वास्थ्य सामग्री उपलब्ध गराउन सकिने जवाफ दिएको थियो ।

सोही जवाफको आधारमा जंगी अड्डाले स्वास्थ्य तथा जनसंख्या र रक्षा मन्त्रालयसँग समन्वय गरी चीन र भारतबाट स्वास्थ्य सामग्री खरिद गर्ने प्रक्रिया अघि बढाएको थियो । जंगी अड्डाले स्वास्थ्य सामग्री खरिद गर्न चीन, भारत, सिंगापुर, इजरायल र दक्षिण कोरियालाई पत्राचार गरेको थियो ।

दक्षिण कोरियाले केही कम्पनीको नाम पठाएको थियो भने सिंगापुर र इजरायलले कुनै जवाफ पठाएन । जंगी अड्डाले बनाएको खरिद इकाइले तत्काल आवश्यक पर्ने औधषि र स्वास्थ्य सामग्रीको सूची बनाएको थियो ।

उक्त खरिद इकाइमा स्वास्थ्य विभाग र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिलगायत अन्य विज्ञसमेत सम्मिलित छन् । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सामग्री ल्याउँदा ओम्नी समूहले चरम भ्रष्टाचार गरेको भन्दै सरकारले उसँगको सम्झौता ताडेको थियो ।

त्यसपछि चैत्र १६ गतेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । सरकारको निर्णयसँगै जंगी अड्डाले सरकार–सरकार (जीटुजी) प्रक्रियाबाट औषधि तथा स्वास्थ्य सामाग्री खरिद गर्न चीन, भारत, दक्षिण कोरिया, इजरायल र सिंगापुर सरकारलाई लिखित पत्राचार गरेको थियो ।  

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७