जनजाति किन इमानदार हुन्छन् ?


११ बैशाख २०७७, बिहीबार
gopal kirati scaled

सार्वभौम रूपमा मानव समाजको विकास क्रमलाई आदिम साम्यवाद, दास-मालिक युग, सामन्तवाद र पुँजीवादको युग भएर गुज्रँदै आएको मानिन्छ। तर, नेपाली समाजको विशिष्टता भिन्न छ। नेवारी समाज, जसले वर्णव्यवस्था अख्तियार गर्‍यो, बाहेक जनजातिहरूले इतिहासमा दास युग बेहोरेनन्, आदिम साम्यवादी समाजबाट यी सिधै सामन्ती युगमा प्रवेश गरे। दास-मालिक युगको अभ्यास नगरेको हुँदा जनजाति समुदायमा वर्ग अन्तर्विरोधले सांस्कृतिक परम्पराको घनिभूत रूप लिन पाएन। अर्थात् यस समुदायमा आदिम साम्यवादी चरित्र, जसमा वर्ग हुँदैन, अद्यावधि छ। यही कारण हो, जसका आधारमा तुलनात्मक रूपमा जनजातिहरू इमानदार देखिन पुगेका छन्।

दार्शनिक रूपमा मानव जातिको दृष्टिकोणको विकास क्रम आदिम भौतिकवाद, अधिभूतवाद हुँदै द्वन्दात्मक भौतिकवादको चरणमा विकसित भएको छ। आदिम भौतिकवादी दृष्टिकोणमा वर्ग अन्तर्विरोधको स्थान हुँदैन। अतः वर्ग समाजमा यो बालक जस्तो हुन्छ। जस्तो कि भन्ने गरिन्छ, बालकले ढाँट्दैन। बालकले नढाँट्नु पर्ने वैज्ञानिक कारण त्यही हो कि बालकको मस्तिष्कमा आदिम भौतिकवाद हुन्छ, वर्ग चालबाजी घुसिसकेको हुँदैन। दार्शनिक रूपमा यसरी आदिम भौतिकवादी चेतका कारण बालकले ढाँट-छल गर्दैन। अतः आदिम भौतिकवादी प्रभाव यथावत् रहनुको नतिजा आदिवासी जनजातिको मस्तिष्क स्तर बालकको सरह हुन्छ।

आदिम भौतिकवादको अधिभूतवादमा विकास भयो। अधिभूतवादी दृष्टिकोण पूर्णतया यान्त्रिक हुने गर्छ। त्यसले ´हो` भनेपछि ´हो` मात्र र ´होइन` भनेपछि ´होइन` मा मात्रमा जोड गर्छ। उदाहरणका लागि ´जङ्गल देख्छ रुख देख्दैन, फेरि रुख देख्छ जङ्गल देख्दैन।` अतः आदिम भौतिकवादबाट एक स्तर विकसित भए पनि अधिभूतवादी दृष्टिकोणले वस्तुको सही मूल्याङ्कन गर्न सक्दैन र त्यो सङ्कटमा पर्छ।

आदिम भौतिकवाद र अधिभूतवादको निषेधबाट विकसित द्वन्दात्मक भौतिकवाद मात्र वैज्ञानिक दृष्टिकोण हुन्छ। जसले, ´हो` मा ´होइन` र ´होइन` मा ´ हो` को अस्तित्व देख्न सक्छ। रुख र जङ्गल दुवै देख्न सक्छ। अन्तर्विरोध पहिचानको प्रश्न के भने ´हो` र ´होइन` मध्य कुन परिस्थितिमा कुन प्रधान तथा कुन सहायक हो, जङ्गल र रुखमध्ये कुन परिस्थितिमा कुन प्रधान र कुन सहायक हो, सो छुट्ट्याउने सामर्थ्य जरुरी हुन्छ। वस्तुलाई हेर्ने र बुझ्ने द्वन्दात्मक भौतिकवादी दृष्टिकोणले मात्र उक्त सामर्थ्य आर्जन गर्न सकिन्छ।

जसरी भौतिकवादमा यान्त्रिकता अर्थात् अधिभूतवादले समस्या उत्पन्न गर्छ, द्वन्दवादमा पनि आदर्शवादले समस्या उत्पन्न गर्छ। नकारात्मक दृष्टिकोणमा अध्यात्मवाद, जसले वस्तु वा मानिसलाई होइन अस्तित्वरहित परमेश्वरलाई निर्णयकर्ता ठान्छ, अध्यात्मवादकै अर्को रूप हो- आदर्शवाद। त्यसले परमेश्वरको सट्टा चेतनालाई प्रधान मान्छ। पदार्थ र चेतनामध्ये कुन प्राथमिक भन्ने नै भौतिकवादी र आदर्शवादीवीचको विवाद हो।

जनजातिहरू इमानदार देखिनुको वैज्ञानिक कारण त्यस समुदायको अद्यावधि आदिम साम्यवादी चरित्र र आदिम भौतिकवादी दृष्टिकोण जिम्मेवार छ। यद्यपि, त्यस स्तरको वर्ग चरित्र र चेतनाले वर्तमान युगमा उनीहरूको प्रगति सम्भव हुँदैन र उनीहरूले द्वन्दात्मक भौतिकवादी तहमा उठ्नै पर्छ।

भौतिकवादी, मुख्यतः द्वन्दात्मक भौतिकवादीहरू पदार्थलाई प्राथमिक ठान्दछन् र चेतनालाई पदार्थकै उच्च विकसित रूप मान्दछन् र यो नै सत्य पनि हो। जस्तो कि मानिसको चेतना निर्माण हुनु अघि नै पृथ्वी, वायु, प्रकाश, ढुङ्गा, माटो, पानी बनिसकेको थियो। त्यसपछि मात्र मानिस आयो र क्रमशः मानिसको चेतना विकसित भएको हो। अब आदर्शवादीहरूको चेतना प्राथमिकता स्वतः खारेज हुन्छ।

यसरी जनजातिहरू इमानदार देखिनुको वैज्ञानिक कारण त्यस समुदायको अद्यावधि आदिम साम्यवादी चरित्र र आदिम भौतिकवादी दृष्टिकोण जिम्मेवार छ। यद्यपि, त्यस स्तरको वर्ग चरित्र र चेतनाले वर्तमान युगमा उनीहरूको प्रगति सम्भव हुँदैन र उनीहरूले द्वन्दात्मक भौतिकवादी तहमा उठ्नै पर्छ। अन्यथा अमेरिकामा आदिवासी इरोक्क्वाहरुको भूमि कसरी खोसियो र उनीहरू कसरी सखाप पारिए, फ्रेडरिक एङ्गेल्सको ´परिवार, निजी स्वामित्व र राज्यको उत्पत्ति` पुस्तक अध्ययन गरियोस्।

दृष्टिकोणको प्रश्नमा आदिम भौतिकवाद कुखुरा हो भने द्वन्दात्मक भौतिकवाद चील हो। यहीँनिर द्वन्दात्मक तथा ऐतिहासिक भौतिकवादलाई बिश्वदृश्टिकोण मान्ने मार्क्सवाद-लेनिनवाद-माओवादको अपरिहार्यता व्यक्त हुन्छ।

चील र कुखुराको प्रसङ्ग

वर्ग अन्तर्विरोधपूर्ण समाजमा मानिसको चेतनाको महत्त्व स्पष्ट गर्दै लेनिनले भनेका छन्- `चील भुइँमा पनि झर्छ, तर कुखुरा कहिल्यै आकाशमा उड्दैन।´ नेपाली जनजातिको स्थितिमा चील र कुखुराले मात्र पुग्दैन, ´लाटोकोसेरो` अनिवार्य थप्नै पर्छ।

माओवादी कम्युनिस्ट विरोधी- बिशुद्द पहिचानवादीहरू पनि वस्तुतः कुखुरा नै हुन्। त्यस्ताहरू साम्राज्यवादी स्यालको सिकार नै हुनेछन्। मार्क्सवाद र जातीय सवालको भाषण छाँट्ने देव गुरुङ, सुरेश आले, वर्षमानहरू तथा जनजाति ककसको गफ हाँक्दै डाँडा काटेका पृथ्वी सुब्बागुरुङहरु शुद्ध लाटोकोसेरा हुन्। पर्शुराम तामाङ र पासाङ शेर्पाको त कुरै नगरौँ।

जसले कहिल्यै सामुदायिक पहिचान र मुक्तिको आवाज बोलेनन् , तिनीहरू भेडा हुन् । तीबारे भन्नू नै बेकार छ। तर, स्वायत्त जनसरकार तथा मुक्ति मोर्चाको क्रान्तिकारी सिद्धान्त माओवाद र पहिचान मुद्दा त्याग्दै जुम्रै अवसरवादमा लम्पटहरू स्वतः कुखुरा हुन्। कसैले मकैको थाङ्ग्रा देखाइदिए, हुरुरु दौडेर गइहाले। माओवादी कम्युनिस्ट विरोधी- बिशुद्द पहिचानवादीहरू पनि वस्तुतः कुखुरा नै हुन्। त्यस्ताहरू साम्राज्यवादी स्यालको सिकार नै हुनेछन्। मार्क्सवाद र जातीय सवालको भाषण छाँट्ने देव गुरुङ, सुरेश आले, वर्षमानहरू तथा जनजाति ककसको गफ हाँक्दै डाँडा काटेका पृथ्वी सुब्बागुरुङहरु शुद्ध लाटोकोसेरा हुन्। पर्शुराम तामाङ र पासाङ शेर्पाको त कुरै नगरौँ।

मानव मुक्तिको सर्वोच्च विज्ञान मार्क्सवाद-लेनिनवाद-माओवादको पथ प्रदर्शनमा समग्र मुक्ति क्रान्ति अन्तर्गत पहिचान खोज्नेहरू मात्र चील हुन सक्दछन्।

सामुदायिक वर्गको प्रश्न

सम्पत्ति सम्बन्धमा जनजातिभित्र तामाङ, थारु, चेपाङ, माझी, कोच, धिमाल, झाँगड, सन्थाल, दरै, पहरी, कुमाल, जिरेल, दुरा आदि निम्न वर्गमा पर्दछन्। मगर, राई, लिम्बुहरू मध्यमवर्ग तथा थकाली, नेवार, गुरुङ र सोलु-दोलखाबिचका शेर्पाहरू उच्च वर्गका देखिन्छन्। दलितभित्र मधेसका दलित सबै निम्न वर्गमा देखिन्छन् भने पहाडका दमाई र सार्कीहरू मध्यम तथा कामीहरू उच्च वर्गमा पर्दछन्। तर, समग्र जनजातिसँग तुलना गर्दा देशका दलितहरू सबै निम्न वर्गका देखिन्छन्। छुत मधेसी र मुस्लिम खस आर्य सरह देखिन्छन्।

प्रस्तुत चर्चाको औचित्य के भने गरिबीको रेखा मुनीको जातिगत समुदायलाई वर्गीय सन्दर्भमा कसरी बुझ्ने? प्रस्ट छ, उनीहरूलाई समुदायगत वर्गका रूपमा बुझ्नु पर्छ र समुदायगत रूपमै निम्नवर्गीय-सर्वहारा स्वीकार गर्न सक्नुपर्छ। समुदायभित्रका एकाध सम्पन्नहरू अपवादमा पर्दछन् ।

अशोक राई र राजेन्द्र महतोको हार जितको अन्तर्वस्तु

सर्लाहीका राजेन्द्र महतो धनुषा गएर चुनाव जिते, तर अशोक राई धरानको सघन जनजाति क्षेत्रमा हारे। कारण यो हो कि मधेसी-थारु समुदायमा साझा भूगोल, साझा भाषा, साझा आर्थिक जीवन प्रणाली र एकल मनोवैज्ञानिक संरचना जस्ता राष्ट्रको आधार सुरक्षित छ भने पहाडका जनजातिहरूमा भूगोल, भाषा र आर्थिक जीवन प्रणाली जर्जर बनिरहेकोमा तथाकथित नेपालीकरण भइसकेको स्थिति छ। त्यसैले केही समय मधेसमा पहिचानको मुद्दाले मात्र पनि जनसमर्थन लिन सकिन्छ भने पहाडको जनजातीय समाजमा राष्ट्रको मौलिक आधार क्षय भइसकेको स्थितिले पहिचानको सवाल मात्रले निर्णायक जनसमर्थन लिन सकिन्न। मण्डले राष्ट्रवादलाई पराजित गर्न वर्ग प्रधान हुनै पर्छ।

अतः अशोक राईले मार्क्सवादी कम्युनिस्ट पार्टी, जसले पहिचानको मुद्दालाई विश्वसनीय कार्यक्रम बनाएको होस्, उमेद्वार हुनु पर्दथ्यो। सैद्धान्तिक कारण यही हो, जसले गर्दा धरानमा अशोक राईको जनमत निर्णायक बन्न सकेन।

इमानदार हुनु असाध्यै राम्रो कुरा हो। तर, आजको युगमा वैज्ञानिकताको अभावमा बिशुद्द इमानदार मानिस हुस्सु, लठुवा र महामुर्ख ठहर्छ। अतः ऐतिहासिक विकास क्रममा समुदाय प्रदत्त इमानदार चरित्रले, समुदायका अतिरिक्त निजी हित प्रगतिका निम्ति समेत विज्ञानलाई मार्गदर्शक मानेको हुनपर्छ। विज्ञान र इमानदारितावीच समायोजनले मात्र सच्चा मानव निर्माण गर्दछ। अन्यथा दलाल पुँजीवादी लुटको दुनियाँमा जातिगत रुवाबासीको मूल्य बुख्याचा-मनोरञ्जन मात्र भइरहने छ।

(लेखक : नेकपा माओवादी केन्द्रका अध्यक्ष हुन्)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७